१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ कार्तिक २५ सोमबार ०७:२०:००
Read Time : > 1 मिनेट
अर्थ

भुटानसँग समेत निरन्तर व्यापार घाटा

नेपालको अर्थतन्त्रको आकार भुटानको भन्दा झन्डै १२ गुणाले ठूलो छ । तर, आफूभन्दा निकै सानो अर्थतन्त्र भएको भुटानसँग समेत निरन्तर व्यापार घाटामा छ । यो आवको तीन महिनामा भुटानसँग ५४ करोड व्यापार घाटा ।

Read Time : > 1 मिनेट
२०७६ कार्तिक २५ सोमबार ०७:२०:००

चालू आवको पहिलो तीन महिनामा नेपालले भुटानसँग ५३ करोड ५४ लाख रुपैयाँको व्यापार घाटा व्यहोरेको छ । अघिल्ला दुई आवमा पनि नेपालको भुटानसँगको व्यापार घाटामै थियो । गत आव ०७५/७६ मा नेपालले भुटानसँगको व्यापारमा १ अर्ब ५१ करोड १३ लाख रुपैयाँ नोक्सान व्यहोरेको थियो । आव ०७४/७५ मा नेपालको भुटानसँगको व्यापार १ अर्ब ५६ करोड १९ लाख रुपैयाँले घाटामा थियो ।

 के आउँछ भुटानबाट ?
भन्सार विभागका अनुसार भुटानबाट नेपालले सुकेका फलफूल, जुस, जिप्सन, प्लास्टर, औषधि, मूर्ति, सिमेन्ट क्लिंकर, काठका सामग्री तथा किचेन वेयरलगायत आयात गर्दै आएको छ ।  

 के जान्छ नेपालबाट ? 
नेपालले भुटानमा गार्मेन्ट, कार्पेट, दालमोठ तथा भुजिया, अगरबत्ती, साबुन, काठका सामग्री, पिठोलगायतका वस्तु निर्यात गर्दै आएको छ । दालमोठ तथा भुजिया, साबुन र पिठो नियमितजस्तै निर्यात हुने गरेको भन्सार विभागको तथ्यांक छ । 

 व्यापार सन्तुलन बनाउने रणनीति बनाएका छौँ 
 नवराज ढकाल,सहसचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

नेपालले अहिले रणनीति नै बनाएर उत्पादन तथा निर्यात वृद्धि र आयात प्रतिस्थापनका नीति तथा कार्यक्रमहरू अघि बढाएको छ । सोहीअनुसार हामीले निर्यातमा नगद प्रोत्साहन तथा केही वस्तुको आयातमा कडाइ गरेका छौँ । त्यस्तै, क्षेत्रीय तथा दुईपक्षीय व्यापार वार्तामा समेत हामीले व्यापार सन्तुलनलाई जोड दिँदै आएका छौँ । सार्कमा भारत र बंगलादेशबाहेकका मुलुकसँगको हाम्रो व्यापार स्थिर छैन । 

सार्कका अधिकांश मुलुकसँग व्यापार घाटा, तीन महिनामा सवा २ खर्बको आयात हुँदा १८ अर्ब मात्रैको निर्यात


 सार्कका आठमध्ये पाँच मुलुकसँग व्यापार घाटामा 

दक्षिण एसियाली सहयोग संगठन (सार्क) का अधिकांश सदस्य राष्ट्रसँग नेपालको व्यापार असन्तुलन देखिएको छ । नेपालले बाँकी ७ सदस्य राष्ट्रमध्ये ५ मुलुकसँगको व्यापारमा घाटा व्यहोर्दै आएको छ । भन्सार विभागका अनुसार माल्दिभ्स र अफगानिस्तानबाहेकका सबै मुलुकसँग नेपालको व्यापार घाटामा रहेको छ । 

चालू आवको पहिलो तीन महिनामा नेपालले सार्कमा कुल २ खर्ब २९ अर्बको व्यापार गरेको छ । नेपालले १८ अर्ब ३६ करोडको निर्यात गरेर २ खर्ब १० अर्बको आयात गरेको छ । यो तीन महिनामा नेपालले सार्कमा मात्रै १ खर्ब ९२ अर्ब रुपैयाँबराबरको व्यापार घाटा व्यहोरेको छ । नेपालले सबैभन्दा बढी भारतसँग सार्कमा व्यापार वृद्धि तथा सहजीकरणका लागि ‘एग्रिमेन्ट अन साउथ एसियन फ्री ट्रेड एरिया’ (साफ्टा) समेत गरेको छ ।

सन् २००६ देखि कार्यान्वयनमा आएको साफ्टाले बजार पहुँच, व्यापार सहजीकरण तथा भन्सार र गैरभन्सार अवरोधलाई हटाउने प्रयास गरेको छ । साफ्टापछि पनि सार्कमा नेपालको व्यापार बढ्दो देखिन्छ । तर, बढ्दो व्यापारबाट नेपालले लाभ भने लिन सकेको छैन । पछिल्ला समयमा नेपालले सार्कका अधिकांश मुलुकसँग व्यापार घाटा व्यहोर्दै आएको छ । 

 ९९ प्रतिशत व्यापार हिस्सा भारतको
नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार मुलुक भारत हो । सार्कमा हुने कुल व्यापारको करिब ९९ प्रतिशत हिस्सा भने भारतकै रहेको छ । नेपालले सार्कमा गरेको कुल १८ अर्ब ३६ करोड निर्यातमध्ये भारतमा मात्रै १७ अर्ब ८७ करोड रुपैयाँको निर्यात भएको हो । त्यस्तै, सार्क मुलुकबाट भएको कुल २ खर्ब १० अर्बको आयातमध्ये २ खर्ब ७ अर्बको आयात भारतबाटै भएको हो । 

 पाकिस्तानबाटै आयो ७६ करोडको छोकडा
नेपालले समीक्षा अवधिमा पाकिस्तानबाट ७६ करोड ८२ लाख रुपैयाँको छोकडा आयात गरेको छ । पाकिस्तानबाट नेपालमा विद्युतीय सामग्री, छालावस्तु, स्पोर्टस्का सामग्रीलगायत आयात हुने गरेको छ । पछिल्लो समय भने छोकडाको आयात बढेको देखिन्छ । नेपालले भने पाकिस्तानमा औषधि, लेन्सलगायत सामग्री निर्यात गर्दै आएको छ ।