मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ कार्तिक २५ सोमबार ०६:५०:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

रूपज्योति र न्यायाधीशबीच सवालजवाफ

ज्योति र छोरी सुरुचिलाई थुनामा राख्न पाँच दिन म्याद थप

Read Time : > 1 मिनेट
२०७६ कार्तिक २५ सोमबार ०६:५०:००

हाउजिङ व्यवसायमार्फत ठगी गरेको आरोपमा पक्राउ परेका पूर्वअर्थ सहायकमन्त्री तथा व्यापारी रूपज्योति र उनकी छोरी सुरुचिलाई थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले पुनः पाँच दिनको म्याद दिएको छ । यसअघि अदालतले अनुसन्धानका लागि तीन दिनको म्याद दिएको थियो । 

ज्योतिले इजलासमा न्यायाधीशसँग आफैँ सवालजवाफ गरेका थिए । उनले आफूलाई अपहरण शैलीमा पक्राउ गरिएको भन्दै पक्राउ गर्नुका आधार माग गरे । झुठा मुद्दा लगाएर परिवारको प्रतिष्ठा गिराउने काम भएको भन्दै उनले इजलासमै आपत्ति जनाए । 

‘अपहरण शैलीमा एक्कासि पक्राउ गरियो, मेरो परिवारमाथि साइनो सम्बन्ध नै नभएको मुद्दा लगाइएको छ,’ उनले भने, ‘म भागेर कहीँ जान्नँ । व्यवसाय गर्न स्विट्जरल्यान्डबाट आएको हुँ । अमेरिकामा रहेकी छोरी (सुरुचि)लाई पनि यतै रहने गरी बोलाएपछि आएकी हुन् ।’ उनले साधारण तारेखमा छाड्न माग गरे ।

ज्योतिका वकिल अरुण ज्ञवालीले पनि साधारण तारेखमा छाड्न भने । न्यायाधीश ओमप्रसाद अर्यालले भने, ‘मुद्दा दर्ता भएको छैन । मुद्दा दर्ता भएपछि मात्रै पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटी माग्ने वा साधारण तारेखमा छाड्ने आदेश हुन्छ । कानुनमा अनुसन्धानकै क्रममा छाड्ने व्यवस्था भए भन्नुस् ।’ 

अर्यालले सोधेका थिए, ‘तपाईं स्वस्थ हुनुहुन्छ वा अस्वस्थ भएर अस्पतालमा हुनुहुन्छ ?’ जवाफमा ज्योतिले भने, ‘म तन्दुरुस्त छु, अहिले प्रहरी हिरासतमै छु ।’ त्यसपछि न्यायाधीश अर्यालले भने,‘सरकारी वकिलले कल डिटेल, बैकिङ कारोवारलगायत विषयमा अनुसन्धान गर्न बाँकी रहेको भनेर ७ दिनको म्याद मागेको छ मैले पाँच दिनको म्याद थप गरिदिएको छु ।’  

महानगरीय प्रहरी परिसर काठमाडौंले म्याद थपको माग गर्दै बाबुछोरी दुवैजनालाई जिल्ला अदालत काठमाडौं लगेको थियो । उनीहरू बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । उनीहरूसहित १० जनाविरुद्ध एक करोड २६ लाख ७५ हजार रुपैयाँ ठगीको आरोप छ । 

काठमाडौंस्थित बाँसबारीमा रहेको ल्यान्डमार्क डेभ्लपर्स प्रालिका सञ्चालकका रूपमा उनीहरूले ठगी गरेको प्रहरीले जनाएको छ । सो कम्पनीले जग्गा खरिद गरी घर बनाउन सिई कन्स्ट्रक्सनसँग साझेदारी गरेको थियो । कन्स्ट्रक्सनले कित्ता नम्बर २३८ को २२२.५३ वर्गमिटर जग्गामा भवन निर्माणसमेत गरेको थियो ।