निखिल ठकुरी मार्सल, पल्सर डेयर भेन्चर सगुन शेर्पा (पासाङ)मार्सल, पल्सर डेयर भेन्चर
२०७६ कार्तिक २४ आइतबार ११:०३:००

पल्सर डेयर भेन्चर : सबै राइडरलाई सकुशल लदाख पुर्‍याउँदा आनन्द लाग्यो

बजाजले ‘पल्सर डेयर भेन्चर’ गर्ने भनेपछि च्यालेन्जिङ ठाउँ खोजियो । नामअनुसार एडभेन्चर बनाउनु थियो । रियालिटी सोलाई कसरी च्यालेन्जिङ बनाउन सकिन्छ भनेर त्यहीअनुसार नेपालका ठाउँहरू छनोट गरियो । पहिलो सिजन मुस्ताङमा गर्‍यौँ । दोस्रो सिजनमा सोलुखुम्बु छान्यौँ । तेस्रो सिजनमा मनाङ छान्यौँ । चौथो सिजनमा लदाख छान्यौँ । नेपाली पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले लदाख छानेका हौँ ।

पहिलो सिजनमा हामी पनि सिकारु थियौँ । दोस्रो सिजनमा कस्ता राइडर चाहिन्छन्, कस्तो ठाउँ उपयुक्त हुन्छ भन्ने कुरा थाहा भयो । तेस्रो सिजन मनाङमा गर्‍यौँ । ठाउँ छनोट गर्दा हामी पल्सर डेयर भेन्चरको टाइटल मिट गर्ने गरी छनोट गर्छौँ ।

चौथो सिजन नेपालमा गरेभन्दा भिन्न थियो । हाइवे ट्राभलिङ धेरै गर्नु थियो । यात्रा गर्दा धेरै नयाँ कुरा देखिन्थे । त्यहाँको प्राकृतिक सुन्दरताले लोभ्याउँथ्यो । तैपनि, धेरै थकित हुन्थ्यौँ । किनकि बाइकमा लामो यात्रा गर्नुपथ्र्यो । कतिपय ठाउँमा हामीले बीचबाटोमै सुत्नुपरेको थियो । चण्डीगढबाट मनाली जाँदा राइडरहरू थकित भएपछि बाटोमै सुतियो । रातभरि यात्रा गरिएको थियो । मनाली जाँदा १७ घन्टा लगातार बाइक चलाएका छौँ । चण्डीगढदेखि मनालीको दूरी ३ सय किमिभन्दा बढी थियो । हामीले राइडरलाई सुरक्षित रूपमा गन्तव्यमा पु-याउनुपर्ने चुनौती थियो ।

हामी दुवैजना मार्सलले काठमाडौंदेखि पाङओङ लेकसम्मै बाइक कुदाएर पुग्यौँ । प्रतियोगी राइडरले बोर्डरबाट बाइक कुदाउन थालेका हुन् । हामी बाटोमा टास्कहरू गर्दै महेन्द्रनगर पुग्यौँ । महेन्द्रनगरमा बोर्डर पास गर्ने राइडरहरू छनोट भएपछि बल्ल हाम्रो एडभेन्चर राइड सुरु हुन्छ । अब हामीसँग प्रतियोगी राइडरहरू सँगै हुन्छन् । 

महेन्द्रनगरबाट रातभरि बाइक कुदाएर ऋषिकेश पुग्यौँ । ऋषिकेश पुग्दा बिहान हुन थालेको थियो । ऋषिकेशमा तीन दिन टास्क गर्‍यौँ । अनि चण्डीगढ पुग्यौँ । त्यहाँ पनि टास्क भयो । चण्डीगढबाट रातभरि बाइक कुदाएर मनाली पुग्यौँ । मनालीमा सबैभन्दा बढी टास्क भएको थियो । मनालीमा चार दिन बस्यौँ । मनालीबाट रोताङ पास पुग्दा निकै चिसो थियो । नागबेली बाटो हुँदै ३९ सय मिटर उचाइको रोताङ पास पार गरेर जिस्पा पुग्यौँ । जिस्पाबाट वास बस्न लातो पुग्नुपर्ने थियो । तर, बीचमै एकजनालाई लेक लागेपछि पूरै राइडरको टिम बीचबाटोमा वास बस्नुपरेको थियो । 

हामी विश्वकै दोस्रो अग्लो मोटरेबल पास ताङलाङ्ला (५,३६० मि) कटेर ‘लदाख ले’ पुगियो । ‘ले’बाट विश्वकै अग्लो मोटरेबल पास खारदुङ्ला (५,४८० मि) पास गरेर नुब्रा भ्यालीस्थित हुन्डरको डेजर्ट पुगियो । त्यहाँको डेजर्टमा टास्क भयो । नुब्राबाट पाङओङ लेक पुग्यौँ । त्यहाँ दुई रात बसेर पुनः ‘ले’ फर्कियौँ । 

यो यात्रामा हामीले हपहपी गर्मीदेखि निकै चिसो ठाउँसम्म बाइकमा यात्रा गर्‍यौँ । भैरहवा, महेन्द्रनगर, ऋषिकेश र चण्डीगढमा हपहपी गर्मी थियो । चण्डीगढबाट उकालो लागेपछि माइनस १० डिग्रीको चिसोसम्म पुगियो । जुन यात्रा निकै चुनौतीपूर्ण थियो । 

यो संस्करणमा निकै रमाइला टास्कहरू पनि भएका छन् । बाइकको यात्रा निकै एक्साइटिङ छ । कति ठाउँमा सामाजिक भावना जगाउने खालका टास्कहरू पनि भए । कति ठाउँमा पर्यटन प्रवद्र्धन गर्नुपथ्र्यो । यात्रा रमाइलो थियो । 

हामी महेन्द्रनगरबाट बोर्डर पास गरेपछि अरूको मुलुक छिरिसकेका थियौँ, अरूको देशमा रातभरि बाइक कुदाउनु छ । एउटा देशबाट अर्को देशमा जाँदा नियम फरक हुन्छ । बाइक यात्राको नयाँ अनुभव पनि भयो । पूरै ऋषिकेश सहर नै भेजिट्रेन थियो । नेपालको भन्दा इन्डियाको बाटोमा ट्राफिक बढी रहेछ । सबै राइडरलाई सँगै लगेर जान अप्ठ्यारो परेको थियो । ट्राफिक नियम फलो गर्न पनि गाह्रो भयो । सडक नेपालकै जस्तो लाग्यो । हामीलाई मनालीसम्म पुग्न अलि गाह्रो भएको थियो ।

बाटोमा बाइक चलाउँदा–चलाउँदै निदाएर एकजना राइडर ढलेको थियो । हामीले ठाउँ–ठाउँमा बाइक रोक्दै राइडरलाई फ्रेस बनाउँदै लग्यौँ । मनाली बिहान ७ बजे पुग्यौँ । हामीले सबै राइडरलाई सेफ्ली यात्रा गराउन सक्यौँ ।

हामीले यात्रामा सबै राइडरलाई ध्यान दिनुपथ्र्यो । उनीहरूले ग्याप मेन्टेन गरेका छन् कि छैनन् हेर्नुपथ्र्यो । मनालीमा अल्टिच्युड सहने बानी बसाउन पनि चार दिन बसियो । हाम्रो मनालीबाट सरचु पुगेर वास बस्ने योजना थियो । तर, एकैचोटि २ हजार मिटरको उचाइबाट ४२ सय मिटरभन्दा माथिको उचाइमा पुगेर वास बस्दा लेक लाग्ने सम्भवना देखियो । र, हामी ३२ सय ९२ मिटर उचाइमा रहेको जिस्पामा वास बस्यौँ ।

मनाली कटेपछि बाटो साँघुरो थियो । धेरै घुमाउरो थियो । यस्तो सडकमा बाइक कुदाउन मज्जा पनि आउँछ । राम्रा–राम्रा दृश्य देख्न पाउँथ्यौँ । मनालीबाट उकालो लागेपछि आर्मीका ट्रकहरू धेरै कुदेको देखियो । बाइक चलाउन पनि अप्ठ्यारो हुन्थ्यो । ताङ्लाङ्ला पासमा एउटा राइडर बिरामी परेपछि बाटोमै वास बस्यौँ । अगाडि बढ्ने सम्भावना पनि थिएन । चिलिङपछि लेसम्मको बाटो खुबै रमाइलो थियो । भ्यू पनि राम्रो देखिन्थ्यो । बाइक कुदाउन पनि रमाइलो भयो । गाडी पनि कम थिए । ‘ले’मा एकरात बसेर सीधै नुब्रा भ्याली पुग्यौँ । नुब्रा जाँदा पनि ‘डेजर्ट भ्यू’ एकदमै राम्रो थियो । नुब्रा भ्याली नेपालको अपर मुस्ताङजस्तो रहेछ । 

अब राइडरले अल्टिच्युड पचाउन थालिसकेका थिए । त्यो सडकमा बढीभन्दा बढी रोयल इन्फिल्ड देखिन्थे । हामीले पल्सर बाइक कुदाउँदा धेरैले हेर्थे । मानौँ कि पल्सर बाइक पहिलोपटक लदाखको अल्टिच्युडमा कुदिरहेको छ । बाटोमा हाम्रो पल्सर देखेपछि सबैले फोटो खिच्थे । सायद उनीहरूले लदाखमा बुलेट बाइकभन्दा अरू बाइक पुग्न सक्छ भन्ने सोचेकै रहेनछन् । तर, पल्सर बाइकले पाँचवटा अग्ला पासहरू पार गरी पाङओङ लेक पुगेर आफूलाई अब्बल प्रमाणित गर्‍यो । पल्सरले अल्टिच्युडमा पनि राम्रो पर्फमेन्स देखायो । हामीले पल्सर बाइकलाई एक्स्ट्रिम लेबलसम्म कुदाइसकेका छौँ । 

नुब्रा भ्यालीबाट पाङओङ लेक पुग्दा पनि बाटो साँघुरो थियो । तर, भ्यू असाध्यै राम्रो थियो । बाटो पनि खाली थियो । पाङओङ लेक निकै सुन्दर थियो । ४ हजारभन्दा बढी उचाइमा त्यति सुन्दर ताल देख्दा मनै आनन्दित भयो । हाम्रो च्यालेन्ज नै पाङओङ लेक पुग्नु थियो । त्यहाँ सबै राइडरलाई सेफ्ली पुर्‍याउँदा निकै आनन्द लाग्यो । 

पाङओङ लेकको मौसम माइनस १० डिग्रीसम्म पुगेको थियो । पाङओङबाट चाङ्ला पास हुँदै पुनः ले फर्कियौँ । अरू पासहरू बाइक कुदाएर सजिलै पार गरियो । तर, चाङ्ला पासमा बाइक कुदाउनै सकिएन । हाम्रो यात्रामा सबैभन्दा गाह्रो पास यही रह्यो । त्यहाँ बाइक धकेल्नुपरेको थियो । चाङ्ला पास कटेर ले फर्किँदा निकै रोमाञ्चक यात्रा भयो । सडक पनि नयाँ बनेको रहेछ । भ्यू पनि निकै रमाइलो थियो ।

 

प्रस्तुति ः