मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ कार्तिक २४ आइतबार ०९:२२:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

कम्प्युटर भिजन सिन्ड्रोम रोकथामका उपाय

Read Time : > 1 मिनेट
२०७६ कार्तिक २४ आइतबार ०९:२२:००
 डा. शेषकान्त अर्याल
आँखारोग विशेषज्ञ
दृष्टि आँखा अस्पताल

लामो समयसम्म कम्प्युटर, मोबाइल, डिजिटल स्क्रिनलगायत प्रविधिको प्रयोग गर्दा आँखामा आउने समस्या नै कम्प्युटर भिजन सिन्ड्रोम हो । कम्प्युटर, मोबाइलको उच्च प्रयोगका कारण अधिकांशमा यस्तो समस्या देखिने गरेको छ । नियमित स्क्रिनको काम गर्दा सुरुमा सामान्य समस्या देखिए पनि पछि गएर दृष्टिमा जटिल खालका समस्या निम्तिन सक्छ । 

लक्षण

  •  आँखा र टाउको दुख्ने गर्छ । बिस्तारै दृष्टिमा धमिलोपन आउन थाल्छ । 
  •  आँखा पोल्ने, सुक्खा हुने र बटारिने हुन्छ । आँखा चिलाउने गर्छ । 
  •  लामो समयपछि घाँटी वा कुम दुख्ने समस्या हुन्छ । त्यस्तै, गर्दन र वरपरको मासंपेशीमा समस्या देखिन थाल्छ । 
  •  धेरैबेर कम्प्युटरमा काम गरिसकेपछि आँखाबाट आँसु आउने हुन्छ । बिस्तारै गएर विद्युतीय उपकरणबाट निस्कने उज्यालो प्रकाश सहन नसकिने हुन्छ ।
  •  कामको समयमा थकान महसुस हुन थाल्छ । पछि गएर कामप्रति झर्को लाग्ने र तनाव बढ्ने समस्या देखिन्छन् ।

कारण

  •  कम्प्युटर वा मोबाइल चलाउने कोठामा प्रकाश नमिल्नु कम्प्युटर भिजन सिन्ड्रोमको मुख्य कारण हो । बाहिरी स्रोतबाट आउने प्रकाश सीधै स्क्रिनमा परेमा उक्त प्रकाश परावर्तन भई आँखामा पर्ने हुन्छ । त्यस्तै, कम्प्युटर स्क्रिनमा कुनै वस्तु टल्किएमा वा चम्किएमा दृष्टिमा असर पर्छ ।
  •  कम्प्युटर र आँखाको दूरी नमिलेमा पनि भिजन सिन्ड्रोम हुन्छ । त्यस्तै, बसाइ व्यवस्थापन नहुनुले पनि दृष्टिमा असर गरिरहेको हुन्छ । 
  •  पहिलेदेखि दूरदृष्टि र अदूरदृष्टि भएका व्यक्तिमा अन्य व्यक्तिभन्दा बढी असर पर्ने हुन्छ । 
  •  स्क्रिनमा लगातार लामो समयसम्म पढिरहनु र डिस्प्ले, रिजुलोसन, अक्षर, फन्टको आकार, कलरको कन्ट्रास्ट अस्वाभाविक रूपले चर्को वा मधुरो हुँदा पनि समस्या देखिन्छ । 
  •  घन्टौँसम्म सामाजिक सञ्जाल चलाउने तथा भर्चअुल गेम खेल्ने व्यक्तिमा यस्तो समस्या देखिन्छ । 

समाधान

  •  कम्प्युटरको स्क्रिन आँखाको लेभलभन्दा १५ देखि २५ डिग्री तल र कम्तीमा २५ इन्च पर हुनुपर्छ । कम्प्युटरको माथिल्लो भाग तल्लो भागभन्दा ३० डिग्री झुकेको हुनुपर्छ । 
  •  प्रकाशको व्यवस्थापन गर्नुपर्छ । अन्य स्रोतबाट आउने प्रकाश सीधै स्क्रिनमा पर्न दिनुहुँदैन । बाहिरको प्रकाश भित्र आउन नदिन झ्यालमा पर्दा लगाउनुपर्छ । 
  •  सकभर कम्प्युटरमा काम गर्दा एन्टिग्लेयर चस्माको प्रयोग गर्नुपर्छ ।
  •  काम गर्दा नियमित आराम लिनुपर्छ । लगातार काम गर्नुपर्दा प्रत्येक २० मिनेटको अन्तरमा २० सेकेन्ड आराम लिई २० फिट टाढाको वस्तु हेर्ने गर्नुपर्छ । 
  •  आँखामा थकावटलाई कम गर्न पानीले भिजेको दुवै हातले आँखिभौँ र ढकनीवरपर मालिस गर्न सकिन्छ । 
  •  लामो समयसम्म स्क्रिनमा एकोहोरो हेरिरहँदा आँखा झिम्कने दरमा एकाएक कमी आउँछ । जसले गर्दा सुक्खापन आउने आउँछ । त्यसैले, कम्प्युटरबाट ध्यान हटाई आँखा वेला–वेलामा झिम्क्याउनुपर्छ ।
  •  नियमित आँखा जाँच, सही हेराइको बानी, चस्माको प्रयोग र विशेषज्ञसँगको परीक्षण र परामर्शबाट कम्प्युटर भिजन सिन्ड्रोम कम वा निवारण गर्न सकिन्छ ।