मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
उज्ज्वल काफ्ले
२०७६ कार्तिक २४ आइतबार ०७:१९:००
Read Time : > 1 मिनेट
नयाँCity

सहर जोड्न साइक्लिङ

Read Time : > 1 मिनेट
उज्ज्वल काफ्ले
२०७६ कार्तिक २४ आइतबार ०७:१९:००

विश्व साइकलयात्री पुष्कर शाहलगायत अभियन्ता यतिखेर अलग्गै दौडधुपमा छन् । उनीहरूलाई यसपटक करिब दुई सय साइकलयात्रीसहित काठमाडौंबाट जनकपुर पुग्नु छ । ६ मंसिरमा उनीहरूले काठमाडौंको भीडभाड, धुलो, धुवाँ र प्रदूषणलाई ‘बाई बाई’ गर्नेछन् । तीन दिनपछि उनीहरू मिथिला सभ्यताको केन्द्र जनकपुरधाममा हुनेछन् । साइकलमैत्री सहरका लागि चेतना जगाउनु उनीहरूको मुख्य उद्देश्य हो ।

काभ्रे र सिन्धुली हुँदै बिपी राजमार्गमार्फत उनीहरूको यात्रा जनकपुर पुग्नेछ । यस यात्राको आयोजक हुन्, स्टोरी साइकल, सानो पाइला र सिन्धुली श्रेष्ठ समाज । काठमाडौंबाट तराईसम्म साइकल यात्रा आयोजना हुन थालेको यो चौथो वर्ष हो । पहिलो वर्ष सिन्धुलीगढी, दोस्रो वर्ष सिन्धुलीमाडीसम्म पुगेर यात्रा समापन भएको थियो । गत वर्ष साइकलयात्री जनकपुरसम्मै पुगे । यसपटक पनि काठमाडौं र जनकपुरबीचको करिब दुई सय ५० किलोमिटर यात्रा तय गर्ने तयारीमा छन्, साइक्लिङका सौखिनहरू ।

साइकलमैत्री सहरका अभियन्ता सौरभ ढकालका अनुसार पहिलो दिनको वास सिन्धुलीको मुलकोटमा हुनेछ । दोस्रो दिन सिन्धुलीगढी पुग्नेछन् भने तेस्रो दिन जनकपुर । चौथो दिन जनकपुरमा करिब सात सय साइकलयात्रीले नगर परिक्रममा गर्ने योजना छ । सोही दिन काठमाडौंबाट गएका साइकलयात्री बसमा फर्किनेछन् ।

दुई सय ५० किमि छिचोलेर काठमाडौंबाट जनकपुर पुग्ने दुई सय साइकलयात्रीले स्थानीयलाई पनि समेटेर नगर परिक्रमा गर्नेछन् । साइकलमैत्री सहरका लागि चेतना जगाउनु उनीहरूको मुख्य उद्देश्य हो ।
 

‘यसपटक फरक–फरक पेसाका मानिसलाई सहभागी गराउँदै छौँ,’ विश्व साइकलयात्री शाह भन्छन्, ‘यो यात्रामा पहाडी र तराई दुवै भेगको परिवेश र प्रकृतिसँग रमाउन पाइनेछ ।’
नेपाल साइक्लिङ एसोसिएसनका सचिव देवेन्द्र बस्न्यातका अनुसार काठमाडौं उपत्यकामा माउन्टेन बाइक चढ्नेहरू बढी भेटिन्छन् ।

यसपटकको यात्रामा बस्न्यात भने ‘सिटी बाइक’मा हुइँकिने तयारीमा छन् । सिटी बाइक कालोपत्रे सडकका लागि उपयुक्त मानिन्छ । अधिकांश साइकलयात्रीको रोजाइ ‘हार्ड टेल’ र ‘फुल सस्पेन्सन’ माउन्टेन बाइक हुने गर्छन् । हार्ड टेलमा साइकलको अगाडि मात्र सस्पेन्सन हुन्छ भने फुल सस्पेन्सनमा अगाडि/पछाडि दुवैतिर ।

लामो दूरीको साइकल यात्रामा साहस आवश्यक पर्ने बस्न्यातको भनाइ छ । उनी भन्छन्, ‘लामो यात्रामा जाँदा ‘साइक्लिङ’ गरिरहने मानिसलाई सहज हुन्छ । कहिलेकाहीँ मात्र साइकल चलाउनेका लागि भने गाह्रो हुन सक्छ ।’ सबै प्रकारका मानिस यसपटक साइक्लिङमा जाने भएकाले खाजा, खाना र विश्रामका लागि समय  छुट्याइने उनको भनाइ छ ।