मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
फाइल तस्बिर
२०७६ कार्तिक २३ शनिबार ०७:४२:००
Read Time : > 2 मिनेट
खेलकुद

अफगानिस्तान सागमा नआउने 

मार्सल आर्टस्मा भाग लिन नपाएपछि अफगानिस्तान १३औँ सागमा सहभागिताबाट पछि हट्यो

Read Time : > 2 मिनेट
२०७६ कार्तिक २३ शनिबार ०७:४२:००

अफगानिस्तान १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा अन्ततः नआउने भएको छ । यसै साता अफगानिस्तानले आफू पुनः साग खेलमा सहभागी हुन इच्छुक रहेको भनी ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) र नेपाल ओलम्पिक कमिटी (एनओसी)सँग छलफल गरेको थियो । दक्षिण एसियाली ओलम्पिक महासंघ र एनओसीका समेत अध्यक्ष जीवनराम श्रेष्ठले आफगानिस्तान सागमा सहभागी नहुने जानकारी दिएका छन् । आफूले भनेको खेलमा सहभागी हुन नपाउने भएपछि अफगानिस्तान सागबाट पछि हटेको श्रेष्ठले बताए । 

सार्क क्षेत्रबाट बाहिर
सन् २०१२ को सागपछि अफगानिस्तानले मध्यपूर्वी एसियन जोनमा आबद्धता लियो । मध्यपूर्वी जोनमा रहँदा खेलको स्तर उकासिने जनाउँदै अफगानिस्तानले भारतको गुवाहाटी र सिलोङमा भएको सागपछि यो क्षेत्र परित्याग गरेको घोषणा गर्‍यो । तर, त्यस क्षेत्रमा सोचेजस्तो खेलकुद प्रतियोगिता नभएपछि अफगानिस्तानले पुनः पुरानै क्षेत्रमा फर्कने मनसाय बनाएको हो । यद्यपि, अफगानिस्तान अहिले पनि त्यही क्षेत्रमा आबद्ध छ । अफगानिस्तानले मध्यपूर्वी क्षेत्र परित्याग गरेको छैन । उसले केवल मौखिक रूपमा मात्र छाडेको जनाएको एनओसी अध्यक्ष श्रेष्ठले बताए । श्रेष्ठका अनुसार अफगानिस्तानले पुनः सागमा फर्कनका लागि ओसिएमा निवेदन प्रस्तुत गर्नुपर्छ । अहिलेसम्म अफगानिस्तानले ओसिएमा पत्र नपठाएको जानकारी श्रेष्ठले दिए । ‘केवल मौखिक र छलफलका क्रममै मात्र सागमा आउने भनिएको हो, अफगानिस्तानले ओसिएमा सागमा समावेश हुने र मध्यपूर्वी क्षेत्र छाडेको आधिकारिक रूपमा निवेदन राखेको छैन,’ श्रेष्ठले नयाँ पत्रिकासँग भने ।

मुख्य खेल नै मार्सल आर्टस् 
एनओसी र ओसिएसँगको छलफलमा अफगानिस्तानले सागमा निश्चित खेलमा मात्र सहभागी हुने बताएको थियो । त्यसमा पनि मार्सल आर्टस्लाई मुख्य खेलका रूपमा प्रस्ताव राखेको थियो । आयोजक नेपाल र अन्य सहभागी राष्ट्रका एनओसी पदाधिकारीले मार्सल आर्टस्मा अफगानिस्तानलाई सहभागी गराउन नसक्ने निर्णय गरेका छन् । मार्सल आर्टस्मा भाग लिन नपाउने भएपछि अफगानिस्तानले १३औँ सागमा सहभागी नहुने निर्णय लियो । ‘हामीले अफगानिस्तानलाई मार्सल आर्टस्बाहेक अन्य खेलमा सहभागी हुन आग्रह गरेका थियौँ, तर उनीहरूको मुख्य उद्देश्य नै मार्सल आर्टस्मा सहभागी हुँदै बढीभन्दा बढी स्वर्णपदक जित्ने देखियो,’ श्रेष्ठले भने, ‘मार्सल आर्टस्मा भाग लिन नपाएपछि अफगानिस्तान सागबाट पछि हटेको हो ।’ 

नेपाललाई फाइदा
अफगानिस्तान सहभागी नहुने भएपछि मार्सल आर्टस्मा आयोजक नेपाललाई फाइदा पुगेको छ । पछिल्लो समय मार्सल विधाका खेलमा अफगानिस्तान, भारत र पाकिस्तान नेपालका बलिया प्रतिद्वन्द्वीका रूपमा रहेका थिए । यसपटक भारतले कराते र तेक्वान्दोमा भाग लिनेछैन । अब नेपालको मुख्य प्रतिद्वन्द्वी नै पाकिस्तान हुन सक्छ । नेपालले तेक्वान्दो र करातेका खेलाडीलाई वैदेशिक प्रशिक्षणमा पठाएको छ । ‘अफगानिस्तान र भारत नहुँदा मार्सल आर्टस्मा नेपालले फाइदा लिन सक्छ,’ श्रेष्ठले भने । 

 नेपाल मात्र सबै खेलमा
आयोजक राष्ट्र नेपालले १३औँ सागका सबै इभेन्टमा प्रतिस्पर्धा गर्ने भएको छ । नेपालले २७ खेलमै भाग लिनेछ । प्याराग्लाइडिङमा नेपाल एक्लो सहभागी राष्ट्र भए पनि अझै टिम दर्ताको समय बाँकी नै छ । नेपालपछि श्रीलंका र बंगलादेशले समान २५ खेलमा भाग लिनेछन् । एनओसीमा एक्रिडेसन कार्ड बनाउन पठाइएको लिस्टअनुसार माल्दिभ्सले केवल ११ खेलमा मात्र सहभागिता जनाउनेछ । सागको १२ संस्करणसम्म शीर्ष स्थानमा रहेको भारतले १७ खेलमा सहभागिता जनाउने निश्चित भएको छ । भुटानले १४ र पाकिस्तानले १८ खेलमा भाग लिनेछन् । 

सहभागी राष्ट्रले भाग नलिएका खेल

  • बंगलादेशः ट्रायथलन, प्याराग्लाइडिङ 
  • भुटानः साइक्लिङ, फेन्सिङ, ह्यान्डबल, कबड्डी, खोखो, प्याराग्लाइडिङ, स्विमिङ, स्क्वास, टेबलटेनिस, ट्रायथलन, कुस्ती, उसु
  • भारतः आर्चरी, क्रिकेट, गल्फ, कराते, कबड्डी, प्याराग्लाइडिङ, टेबलटेनिस, टेनिस, तेक्वान्दो, ट्रायथलन, कुस्ती
  • माल्दिभ्सः आर्चरी, बक्सिङ, साइक्लिङ, फेन्सिङ, गल्फ, जुडो, कराते, कबड्डी, खोखो, प्याराग्लाइडिङ, स्क्वास, तेक्वान्दो, ट्रायथलन, भारोत्तोलन, कुस्ती, उसु
  • पाकिस्तान : आर्चरी, साइक्लिङ, क्रिकेट, फेन्सिङ, फुटबल, जुडो, खोखो, प्याराग्लाइडिङ, ट्रायथलन
  • श्रीलंका : बक्सिङ, प्याराग्लाइडिङ