मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका  काठमाडौं
२०७६ कार्तिक २३ शनिबार ०७:२०:००
Read Time : > 1 मिनेट
राजनीति

पूर्वमन्त्री ज्योतिमाथि अनुसन्धान गर्न तीन दिनको म्याद थप

Read Time : > 1 मिनेट
नयाँ पत्रिका  काठमाडौं
२०७६ कार्तिक २३ शनिबार ०७:२०:००

हाउजिङ व्यवसायमार्फत ठगी गरेको आरोपमा पक्राउ परेका पूर्वअर्थसहायकमन्त्री तथा व्यापारी रूप ज्योति र उनकी छोरी सुरुचीलाई थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले तीन दिनको म्याद दिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले थुनामा राखेर अनुसन्धान गर्न माग गर्दै दुवैलाई शुक्रबार जिल्ला अदालत लगेको थियो ।

प्रहरीमा जाहेरी परेको एक वर्षपछि बिहीबार राति उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । गत वर्ष मंसिरमै उनीहरूविरुद्ध प्रहरीमा जाहेरी परेको थियो । उनीहरूसहित १० जनाविरुद्ध एक करोड ३६ लाख ७५ हजार रुपैयाँ ठगीको अभियोग छ । सो मुद्दामा जिल्ला अदालत काठमाडौंले १० मंसिर ०७५ मा पक्राउ गर्न आदेश दिएको थियो । आदेशविरुद्ध ज्योति सर्वोच्च अदालत पुगेका थिए ।

गत सोमबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले उनीहरूको रिट खारेज हुने फैसला गरेपछि पक्राउ गरी अनुसन्धान गर्ने प्रहरीलाई बाटो खुलेको थियो । काठमाडौंस्थित बाँसबारीमा रहेको ल्यान्डमार्क डेभलपर्स प्रालिका सञ्चालकका रूपमा उनीहरूले ठगी गरेको प्रहरीले जनाएको छ । 

 यस्तो छ ज्योति पक्षको दाबी 
ज्योतिका कानुन व्यवसायी अधिवक्ता अरुण ज्ञवालीले रूप ज्योति ल्यान्डमार्क डेभलपर्स कम्पनीको सञ्चालक नभई सेयर होल्डर मात्र रहेको बताए । तर, प्रहरीले ज्योतिलाई ल्यान्डमार्क सञ्चालकको रूपमा पक्राउ गरेको उनको भनाइ छ । ‘कम्पनीसँग उहाँको सीधा सम्बन्ध नै छैन,’ ज्ञवालीले भने, ‘यो मुद्दामा उहाँ मुछिनुपर्ने कुनै कारण छैन ।’ 

सत्ता र शक्तिको आडमा प्रतिशोध साँध्न ज्योतिलाई फसाइएको ज्ञवालीको आरोप छ । ठगीमा मुद्दा दायर गरिदिने भन्दै विगत डेढ वर्षदेखि ज्योतिमाथि धम्की दिने काम भएको उनको भनाइ छ । ‘ज्योतिलाई धाकधम्की देखाएर बार्गेनिङ गर्ने काम भएको छ,’ ज्ञवालीले भने । प्रहरीमा उजुरी हाल्ने विज्ञेन्द्रकृष्ण मल्लले आफूमाथि ज्योतिलगायतबाट ज्यानको खतरा भएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दिएका थिए ।