मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ कार्तिक २३ शनिबार ०६:२९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

भारतबाट कुखुराको मासु तस्करी

कुखुराको दश हजार केजी मासु बरामद, गाईको मासुसमेत भएको आशंका

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ कार्तिक २३ शनिबार ०६:२९:००

काठमाडौंका ठूला होटेल तथा रेस्टुरेन्टमा भारतबाट मासु तस्करी हुँदै आएको खुलेको छ । राजस्व अनुसन्धान विभागले १० हजार केजी कुखुराको मासु बरामद गरेको छ । बरामदमध्ये केही गाईको मासुसमेत भएको आशंकामा विभागले छानबिन थालेको छ ।

विभागले मासु तस्करीको सूचनाका आधारमा मंगलबार भारतबाट आउँदै गरेका दुई ट्रकलाई नागढुंगाबाट नियन्त्रणमा लिएको  थियो । युपी बी ३ एटी ९६४७ र एआर ५५ आर ४८५० नम्बरका ट्रकचालकसहित विभागले नियन्त्रणमा लिएर छानबिन गर्दा कुखुराको मासु तस्करी हुने गरेको पाइएको हो । 

 अन्य खाद्यान्नभित्र लुकाएर तस्करी
भारतबाट ल्याइएको मासु अन्य खाद्यान्नभित्र लुकाएर ल्याइएको थियो । ‘अन्य खाद्यान्नभित्र लुकाएर मासु तस्करी गरेको पाइयो,’ विभागका महानिर्देशक दीर्घराज मैनालीले नयाँ पत्रिकासँग भने । सो गाडीबाट १० हजार केजी कुखुराको मासु बरामद गरेको छ । साथै, दुई सय ४० केजी मासु गाईको भएको आशंका गरिएको छ । बरामद मासुमा बफ लेखिएको र गाईको भएको हुन सक्ने महानिर्देशक मैनालीले बताए । त्यसको परीक्षण हुने उनले जानकारी दिए । 

 भन्सार कर्मचारीको मिलेमतोको आशंका
बरामद मासु काठमाडौंका पाँचतारे होटेलमा बिक्री हुने गरेको राजस्वको सूचना छ । परीक्षणसमेत नहुने भएकाले यस्तो मासु निकै अस्वस्थ हुन सक्ने विभागका कर्मचारीहरू बताउँछन् । सर्लाहीस्थित भन्सार कार्यालयबाट ती ट्रकको भन्सार पास भएका थिए । ठूलो मात्रामा यसरी मासु तस्करी हुनेमा भन्सार कार्यालयकै कर्मचारीको मिलेमतो देखिएको विभागले जनाएको छ । 

रिंकुकुमारी सञ्चालक रहेको सिआर ट्रेडिङ कम्पनीका नाममा ती सामान आयात गरिएको थियो । कम्पनीका सञ्चालकहरू भने फरार छन् । चालकसहित तीनजनालाई भने विभागले थुनामा राखेर छानबिन थालेको छ । यसमा ठूलै गिरोह संलग्न रहेको आशंका गरिएको छ ।