Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ कार्तिक २३ शनिबार ०६:२१:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

उपनिर्वाचनमा कांग्रेसका चार एजेन्डा

निर्वाचन अभियानका क्रममा भ्रष्टाचार, कुशासन, महँगी र सरकारी अधिनायकवादविरुद्ध कांग्रेसले प्रचार गर्ने

Read Time : > 1 मिनेट
२०७६ कार्तिक २३ शनिबार ०६:२१:००

प्रमुख प्रतिपक्षी दल कांग्रेसले १४ मंसिरमा हुने उपनिर्वाचनलाई सरकारविरोधी अभियानमा केन्द्रित गर्ने भएको छ । सरकार गठनको दुई वर्षमा सत्ताको गडबढी धेरै बढेकाले कांग्रेसले उपनिर्वाचनलाई सरकारविरुद्ध भण्डाफोरमा प्रयोग गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । 

‘सत्ताको दुईवर्षे गडबडीलाई रोक्न चारतारे पार्टी चार विषयमा प्रहार गर्दै उपनिर्वाचनमा जाँदै छ,’ शर्माले नयाँ पत्रिकासित भने, ‘भ्रष्टाचार, कुशासन, महँगी र अधिनायकवादको आकांक्षाजस्ता मुख्य विषयमा टेकेर हामी निर्वाचनमा केन्द्रित हुन्छौँ ।’

वाइडबडी, बालुवाटार जग्गा प्रकरण, जलविद्युत् आयोजनामा भएका भ्रष्टाचारजस्ता विषयलाई प्राथमिकतामा राखेर प्रचारमा जाने प्रवक्ता शर्माले जानकारी दिए । अधिकार केन्द्रीकरण गरेर तथा ठूला आयोजनालाई प्रधानमन्त्रीमातहत ल्याएर सरकार अधिनायकवादतर्फ उन्मुख भएको प्रतिपक्षको आरोप छ । समृद्ध नेपालको नारा अघि सारे पनि सरकारको काम गराइमा कुशासनले जरो गाडेको आरोप कांग्रेसले लगाएको छ । 

 सरकारले भरोसा जित्न नसकेको निष्कर्ष
दुई वर्षमा सरकारले जनतालाई भरोसायोग्य नतिजा दिलाउन नसकेको भन्दै कांग्रेसले उपनिर्वाचनलाई सरकारको मूल्यांकन गर्ने जनमतसंग्रहको रूपमा लिएको छ । सरकारको दुईवर्षे कार्यसम्पादनले राम्रो भइरहेको छैन भन्ने कांग्रेसको बुझाइ रहेको भन्दै शर्माले उपनिर्वाचनलाई सरकारबारेको जनताको मूल्यांकनका रूपमा प्रयोग गरिने बताए । ‘अहिले लोकतान्त्रिक व्यवस्थालाई खतरामा पार्ने प्रयत्न भएको छ । तर, कांग्रेस लोकतन्त्रमा कहिल्यै पनि विचलित नहुने दल हो,’ शर्माले भने, ‘त्यसैले यो दल बलियो भएर आउनुपर्छ । लोकतन्त्रलाई बलियो बनाउन चाहने जनताले प्रतिपक्षीलाई बलियो बनाउनुपर्छ ।’ 

 कांग्रेसको पक्षमा लहर आउने दाबी
कांग्रेसले उपनिर्वाचनबाट सरकारको विपक्षमा र कांग्रेसको पक्षमा मत प्रकट हुने दाबी गरेको छ । ‘निर्वाचनमा सरकारविरुद्ध नागरिकको मत प्रकट होस् भन्ने हामी चाहन्छौँ,’ शर्माले भने, ‘सिट र भोट बढेर कांग्रेसको पक्षमा र सरकारको विपक्षमा मत प्रकट हुनेछ ।’ ०७० मा पहिलो दल बनेको कांग्रेस ०७४ मा भएको निर्वाचनमा भने कमजोर बनेको थियो ।

प्रतिनिधिसभातर्फ प्रत्यक्षमा जम्मा २३ सिट जित्दा धेरै प्रभावशाली नेता पराजित हुन पुगेका थिए । पहिलोपटक अभ्यास भएको संघीय संरचनामा कांग्रेस पछाडि परेको छ । सातवटै प्रदेशमा कांग्रेस विपक्षी दलमा सीमित छ । तर, सरकारको आधा कार्यकाल सकिन लागेकाले उपनिर्वाचनबाट पार्टीको पक्षमा माहोल बनाएर अर्को निर्वाचनसम्म पुरानो बिरासत फर्काउने गरी अघि बढ्ने रणनीतिमा कांग्रेस रहेको शर्माको भनाइ छ । 

 उपनिर्वाचनको तयारी गर्न बैठक बस्दै
१४ मंसिरमा हुने उपनिर्वाचनको तयारीसहितका विषयमा छलफल गर्न कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । सभापति शेरबहादुर देउवाको निवासमा शनिबार बिहान बैठक बोलाइएको प्रवक्ता शर्माले जानकारी दिए । ‘उपनिर्वाचनमा कांग्रेसले उम्मेदवारी दिइसकेपछि अब चुनावी तयारीका रणनीति बनाउन पदाधिकारी बैठक बस्दै छ,’ शर्माले भने, ‘बैठकले शीर्ष नेताहरू जिल्ला–जिल्ला पुग्ने, प्रचार–प्रसारको शैली निर्धारण गर्ने र चुनावी एजेन्डाको तय गर्नेछ ।’ उम्मेदवारी मनोनयनदेखि नै केन्द्रीय नेताहरू जिल्ला खटिएको भन्दै शर्माले फेरि पनि कास्की–२, बाग्लुङ, दाङ र भक्तपुर प्रदेश सभा क्षेत्रमा फेरि पनि केन्द्रीय नेताको उपस्थितिमा ठाउँठाउँमा चुनावीसभा हुने जानकारी उनले दिए ।