मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ कार्तिक २२ शुक्रबार २०:१८:००
Read Time : > 1 मिनेट
समाचार

भारतबाट तस्करी भएको १० हजार केजी कुखुराको मासु बरामद, गाईको मासुसमेत भएको आशंका 

Read Time : > 1 मिनेट
२०७६ कार्तिक २२ शुक्रबार २०:१८:००

काठमाडौंका ठूला होटल तथा रेस्टुरेन्टहरुमा भारतबाट मासु तस्करी हुँदै आएको खुलेको छ । राजश्व अनुसन्धान विभागले १० हजार केजी कुखुराको मासु बरामद गरेको छ । बरामदमध्ये केही गाईको मासुसमेत भएको आशंकामा विभागले छानबिन थालेको छ ।

विभागले मासु तस्करीको सूचनाको आधारमा मंगलबार भारतबाट आउँदै गरेका दुई ट्रकलाई नागढुंगाबाट नियन्त्रणमा लिएको थियो । यूपी बि ३ एटी ९६४७ र एआर ५५ आर ४८५० नम्बरका ट्रक चालकसहित विभागले नियन्त्रणमा लिएर छानबिन गर्दा कुखुराको मासु तस्करी हुने गरेको पाइएको छ । अन्य खाद्यान्नभित्र लुकाएर मासु तस्करी भएको विभागका महानिर्देशक दीर्घराज मैनालीले बताए ।

सो गाडीबाट १० हजार केजी कुखुराको मासु बरामद गरेको छ । साथै दुई सय ४० केजी मासु गाईको मासु भएको आशंका गरिएको छ । बरामद मासुमा बफ लेखिएको र गाईको भएको हुनसक्ने महानिर्देशक मैनाली बताउँछ । त्यसको परीक्षण गरिने उनको भनाइ छ । बरामद मासु काठमाडौंका पाँच तारे होटलमा बिक्री हुने गरेको रावश्वको सूचना छ । परीक्षणसमेत नहुने भएकाले यस्तो मासु निकै अस्वस्थ हुनसक्ने विभागका कर्मचारीहरु बताउँछन् । 

सर्लाहीस्थित भन्सार कार्यालयबाट ती ट्रकको भन्सार पास भएका थिए । ठूलो मात्रामा यसरी मासु तस्करी हुनेमा भन्सार कार्यालयकै कर्मचारीको मिलेमतो देखिएको विभागले जनाएको छ । रिन्कु कुमारी सञ्चालक रहेको सिआर ट्रेडिङ कम्पनीका नाममा ती सामान आयात गरिएको थियो । कम्पनीका सञ्चालकहरु भने फरार छन् । चालकसहित तीन जनालाई भने विभागले थुनामा राखेर छानबिन थालेको छ । यसमै ठूलै गिरोह संलग्न रहेको आशंका गरिएको छ ।

फाेटाे : विनाेद विष्ट