पृथ्वीनारायण निर्विकल्प युगपुरुष

पृथ्वीनारायण सांस्कृतिक थिचोमिचो गर्ने प्रवृत्तिका शासक थिएनन्, वास्तवमा उनी साझा संस्कृतिका कुशल र सफल संरक्षक थिए ।

२०७५ पौष २७ शुक्रबार ०८:२५:००

पृथ्वीनारायण शाह वंशगत कुलीन राजाभन्दा राष्ट्रनिर्माता तथा साम्राज्यवादविरोधी क्षेत्रीय नायक थिए भन्ने इतिहासले स्पष्ट पारेको छ । एकीकरणका निम्ति सामरिक शक्ति सञ्चय तथा युद्ध तथा सम्बन्धित सम्बन्ध विस्तार र व्यवस्थापनका चापले राज्य व्यवस्थापनका निम्ति फुर्सद निकाल्न सक्ने स्थिति पटक्कै नभए पनि पृथ्वीनारायणको राज्य व्यवस्थापकीय सीप, ज्ञान र विवेक पनि असाधारण थियो भन्ने ऐतिहासिक स्रोतले राम्रैसँग देखाएको छ । 

५० दशकको युवा उमेरमै अकस्मात परेको रोगका चापले थलिएर उठ्न नसक्ने महसुस गरेपछि पनि उनी एक कुशल शासक र युगपुरुषले गर्ने काम पूरा गर्न पछि परेनन् ।

त्यसवेलाका योद्धा, भारदार र नीति–निर्माणमा तथा शासन व्यवस्थापनमा सहयोगी तथा प्रभावशालीहरूको भेला दरबारमा गराई देश निर्माण तथा निर्मित राष्ट्रको रक्षालगायत राज्य सञ्चालन निर्देशिका रूपको व्याख्यान प्रस्तुत गरी एक जिम्मेवार देश निर्माताको रूपमा आफूलाई देखाएका थिए ।

त्यस्तो व्याख्यानलाई लिखित रूपमा टिपोट गर्न लगाएर उनले बनाएका योजना, उपयोग गरेका बुद्धि–विवेक तथा चलाखी, भोगेका घनघोर दुःखकष्ट आदि समेटिएको र सम्भावना र भविष्य दृष्टि बोकेको देश सञ्चालनको मूल र व्यावहारिक नीतिको स्रोत आफैँद्वारा निर्मित देश नेपाल हामी सारा नेपालीका निम्ति दिएर बिदा भएका थिए राष्ट्र निर्माता ।

त्यो अनुभवका अभिलेखसहितको नीतिगत राज्य सञ्चालन र स्वतन्त्रता बचाउको निर्देशिका (जसलाई केही भ्रमवश पछि दिव्योपदेश नाम दिइयो) लाई पनि कम र कलुषित बुद्धि भएका तथा विवेकहीन मानिसका निम्ति एउटा विरुदावाली (हेगियोग्राफी) समेत भएको देख्दा त्यस्ता स्वराष्ट्रको सच्चा इतिहास बुझ्न नचाहनेप्रति दुःख र रोष व्यक्त गर्नेबाहेक अहिलेको युगमा के नै गर्न सकिन्छ र ?

एक किसिमले देशको राष्ट्रिय चिनारी हराएर पाताल भासिने अवस्थाका नेपालीलाई त्यस यथार्थको पीडाको अभिव्यक्ति गर्नुको साटो राष्ट्र निर्माण र त्यसको बचाउ र स्वतन्त्रताको निरन्तरताको निर्देशलाई विरुदावली रचना, छवि निर्माण योजना, प्रचारबाजी र यथास्थितिवादी दृष्टिकोणको पृष्ठपोषण भन्नु सिर्फ जातीय समुदायगत रिस, राष्ट्र रचनाको सच्चा इतिहासको कोरा विरोधबाहेक केही हुन सक्दैन । 

पृथ्वीनारायण आधुनिक नेपालका निर्माता मात्र नभई दक्षिण एसियामा इसाई धर्म र त्यसले संरक्षण दिएको युरोप व्यापारीहरू र तिनका कम्पनी–कोठीको तथा तिनका साँठगाँठका साम्राज्यवादी शक्तिका घनघोर विरोधी थिए र तिनको नेपालमा पैठ हुन नदिन पूर्ण रूपमा कटिबद्ध थिए ।

उनले त्यस्ता विदेशी व्यापारीलाई तराईबाट उकालो पस्नै नदिने अठोट लिएका थिए । इसाई धर्म र तिनका पृष्ठपोषक इसाई व्यापारी र कम्पनीको आडमा भारतको स्वतन्त्रता गुम्दै गरेको र हिन्दुस्तानी जनताको शिर बेलायती साम्राज्यको बुटको धुलोमुनि लत्रिएको उनले देखेका थिए ।

उनी भन्थे, ‘दक्षिण समुद्रको बादशाह महाचतुर छ, हिन्दुस्तान दबाइरहेको छ, तिनको शिर जमिनमा परिरहेको छ । त्यो शक्ति एक दिन अवश्य नेपालतर्फ पस्नेछ, देश अर्थात् आत्मरक्षाका निम्ति तयार रहनु तर आफैँ निहुँ खोजेर आक्रमण गर्न नजानू ।

बाँझो झोडा जंगललाई आवाद गरी ठाउँ–ठाउँमा तोपसहित हतियारयुक्त सामरिक गढी–किल्ला बनाई सुरक्षाको बन्दोबस्त गरेर बस्नू । उनी भारतमा अंग्रेजको कम्पनी सरकार गठन भएपछि त्यहाँको स्थानीय संस्कृति र सभ्यतामा इसाई फिरंगीको थिचोमिचो भएर वैदिक–सनातनीलगायत स्थानीय धर्म–संस्कृतिको संरक्षणमा कठिनाइ भएको देख्थेँ ।

आ–आफ्नो कुशल नीति र नेतृत्वमा निर्मित आधुनिक नेपाललाई त्यस्ता परम्परा र धर्मसंस्कृतिको वास्तविक सुरक्षित (असली हिन्दुस्तान को रूपमा देख्दथे) यस अर्थमा उनको शब्दमा नेपाल देश भनेको असली हिन्दुस्तान अर्थात् इसाई घुमन्तेको प्रभाव र चंगुलमा नफसेको देश वा भूखण्ड ।

त्यसैले त भेदभावरहित युगपुरुषको रूपमा नेपाललाई चार वर्ण छात्तीसै जातको साझा फुलबारीको रूपमा हेर्दै आ–आफ्ना कुलका धर्म, परम्परा नछाड्नका निम्ति आह्वान गर्थे ।

यसको अर्थ उनी हिन्दूधर्म, परम्परा अर्थात् उनले अपनाएको धर्मका मात्र संरक्षक नभएर हिन्दुस्तान र यस हिमाली भूखण्डका प्राचीनकालदेखिका वैदिक सनातनलगायत धामी, झाँक्री, वोन, बौद्ध, मुन्धुम, फेदाङ्वा, विजुवा, मष्टा आदि सारा परम्पराका संरक्षक थिए ।

उनी देशको स्वार्थका निम्ति ब्राह्मणलाई पनि सैनिक काममा लगाउन, वंशियार अर्थात् आफ्नै गोत्रका बान्धवको हत्या गर्न, आफ्नै गोत्र परिवर्तन गरेर सर्वसाधारणको गोत्र धारण गर्न, लामा, तान्त्रिक, धामी–झाँक्री आदिलाई ब्राह्मणलाई झैँ कुशवृत्ति (कुश बिर्ता) दिन पनि पछि हट्दैनथे । वनारस गएर खसइतरकाको समेत हुने जनसमुदायको गोत्र कश्यप लिएको घटना यहाँ स्मरणीय छ । 

त्यसैगरी नेपाल एकीकरणको थालनीभन्दा अघि उनी आफूलाई ‘मगरातको राजा’को रूपमा चिनाउँथे भने एकीकरणपछि चारै वर्ण छात्तीसै थरी जनताका साझा संस्कृतिका संरक्षकको रूपमा ।

उनले के ब्राह्मण–पण्डित, बज्राचार्य, के लामा, के ग्याब्री, के झाँक्री, के धामी, के बिजुवा, के सन्त–महन्त, के फेदाङवा, के तान्त्रिक, के मष्टा मण्डलीका डांग्रे, के योगी–तपस्वी सारा स्थानीय परम्पराका धार्मिक पुजारी तथा नेतृत्ववर्गसँग विशेष सम्बन्ध राखेका ऐतिहासिक प्रमाण पाइएका छन् ।

पृथ्वीनारायणपूर्वका दशहाङ लिम्बूलाई तुतु तुम्याङ याक्थुङ हाङ्का वडा सन्तान भएकाले तिनको हताहत नगर्नू, सम्झाई–बुझाई मिलाउनू र नसकेमा धनदौलत दिएर खुसी तुल्याएर भए पनि आफ्नूतर्फ मिलाउनू भन्थे ।

त्यसैगरी गुरुङलाई उमराव अर्थात् किल्लानायक, मगरलाई अदालतका विचारी, ठूला तान्त्रिक लामाहरूलाई दरबारमा उपस्थित भई तथा स्थानीय गोम्पा–विहारमा रहेर देश, राजवंश तथा जनता, समाज र खेतिपातीको विस्तार, शान्ति अमनचयनका निम्ति प्रार्थना गर्न लगाउँथे । सन्तमहन्तको सम्मान गर्दै पालकी चढाएर सिन्धुर यात्रा गरी नगर घुमाउनेसमेत गर्थे ।

सन्त भगवन्तनाथलाई, सिद्ध अगस्तीलाई, भुटानका डुग्पा लामा आदिलाई पृथ्वीनारायणले गरेका सम्मान र व्यवस्थाका ऐतिहासिक उदाहरण यहाँ उल्लेखनीय छन् । पूर्वका २० बौद्ध गोंपालाई उनले राजकीय सम्मान र बिर्तासहित विशेष व्यवस्था गरेको र स्वयम्भू किम्दोलसहित सारा डाँडो दुग्पा–लामालाई दान दिएको घटना पनि यस प्रसंगमा उल्लेखनीय छ । 

पृथ्वीनारायण सांस्कृतिक थिचोमिचो गर्ने प्रवृत्तिका शासक थिएनन् । वास्तवमा उनी साझा संस्कृतिका कुशल र सफल संरक्षक थिए । नवनिर्मित नेपालभित्रका र विशेषगरी उपत्यकाको नेवार संस्कृति र सभ्यताका उनी प्रशंसक थिए ।

खासमा उनी राजनीतिक र सैनिक रूपले विजेता भए पनि सांस्कृतिक रूपले आत्मसमर्पणको शैलीका थिए । उनले मल्ल राजाका समयका कुनै पनि धार्मिक–सांस्कृतिक परम्परा हटाउने चेष्टासम्म पनि गरेको देखिँदैन ।

उल्टै कुमारीलाई ढोग्ने, मल्ल राजाका सालिकलाई पनि राष्ट्रिय सांस्कृतिक धरोहरको रूपमा स्वीकार गर्दै दरबारको प्रवेशद्वारजस्ता महत्वपूर्ण   ठाउँमा आदरसाथ राख्ने, उनले तीन सहर नेपालका झाँकी, नृत्य आदि दरबारका डबलीमा देखाउन लगाउने, त्यसै आधारमा मनोरञ्जन लिने र बाहिरका मुजरा आदिमा प्रतिबन्ध लगाउनेजस्ता महत्वपूर्ण  साझा सांस्कृतिक राष्ट्रिय नीति अपनाएका थिए ।

उग्र इसाईकरणको स्वार्थको साथमा उठेको स्थानीयताविरोधी क्रमभंगवादमा लालायित नभई पृथ्वीनारायणको स्थानीय परम्परागत साझा संस्कृतिको राष्ट्ररक्षाको नीतिमा फर्कने तथा नेपाल र नेपालीको स्थानीय संस्कृति समेटिएको राष्ट्रियताको संवद्र्धनमा लाग्नु अहिलेको देश र जनता परिलक्षित एक मात्र उपयोगी नीति हुने कुरामा विश्वस्त हुन सकिन्छ ।

 
यो देश प्राचीन मानव सभ्यता, परम्परा र संस्कृतिका निम्ति अग्रपंक्तिमा हुनाले खास कारण पृथ्वीनारायणकै साझा संस्कृति र परम्परागत धर्म–संस्कृतिका धरोहरको रक्षाको नीति नै हो । यसको निर्माण, स्वतन्त्र अस्तित्व सबै स्थानीय परम्परागत साझा संस्कृतिको नीतिले गर्दा नै हो भन्ने कुरामा दुई मत हुन सक्दैन ।

यस अर्थमा यस देशको जग र रचना नै यहाँका मानव परम्परा र संस्कृति हुन् भन्ने कुरामा पृथ्वीनारायण पूर्ण विश्वस्त थिए । अहिलेका स्वार्थी क्रमभंगवादी नेतृत्ववर्गलाई यस चुरो कुराको राम्रो बोध हुनु आवश्यक छ र त्यसको अभावमा सतही व्यख्या र अपव्याख्याले न नेपालको स्वाधीन अस्तित्वको रक्षा गर्छ, न अहिलेका राजनीतिकर्मीलाई पनि सफल हुन दिन्छ ।

नेपाल देश पूर्ण रूपमा यहाँको स्थानीय धर्म–संस्कृति र मानवसभ्यताका अधारमा सम्भाव्यताको अवस्थामा पनि सम्भव बनाएर निर्माण भएको हो भन्ने कुरा नेपाली जनता तथा राजनीतिका अग्रपंक्तिका सबैले बुझ्न जरुरी छ ।   

पृथ्वीनारायणको शासन पद्धतिको एउटा अचम्मको घटना लन्डनस्थित ब्रिटिस लाइब्रेरीमा सुरक्षित ब्रायन हज्सन संग्रहअन्तर्गतको माथवरसिंह थापाले तयार गराएको नेपाल वृत्तान्तमा उल्लिखित अहिलेसम्म अप्रकाशित प्रसंग पनि स्मरणीय छ ।

त्यस सयौँ फिट लामो वृत्तान्तमा उल्लिखित त्यो घटना त्यसवेलाको एउटा ऐंठाम डुगु नामका पाटनका नामुद चोरसँग सम्बन्धित हो । उक्त नामुद चोरले यतिसम्म बिगबिगी मच्चाएको रहेछ कि उसले पहिले नै घोषणा गरेर आज राति कुनै वेला कुनै निश्चित ठाउँमा चोरी गरिनेछ भनेर सुनाउने गर्थे र जति सावधानी अपनाए भए पनि कुनै न कुनै रूपमा चोरी गरेरै छाड्थे ।

कसैले प्रमाणसहित पक्रन सक्दैनथे । यस्तो घटना एक दिन पाटनकै एक काजीको घरमा पनि भएछ । अन्त्यमा जनता र सम्बन्धितहरू वाक्क भएर दरबारमा राजा पृथ्वीनारायणलाई क्राउन वा उजुर (फिराद) गर्न आएछन् ।

राजाबाट त्यसलाई खोजेर पक्रिएर ल्याउने आदेशसहित सम्बन्धित अधिकारी सुराकी सिपाहीका साथ पठाएपछि निकै प्रयत्नपश्चात उसलाई दरबारमा हाजिर गराइएछ । अनि, राजाले ल त्यस ठाउँमा गएर चोरी गरेर तेरो चोरीको क्षमता देखा भनेछन् ।

उसले सारा सिपाही र सुरक्षाको प्रबन्ध हुँदाहुँदै पनि रातमा बडो सफलताका साथ चोरी गरेछ । राजालाई अब झन् मुस्किल परेछ निर्णय गर्न । उनले उसलाई तँ धेरै चलाख र क्षमतावान् रहेछस्, वास्तवमा यस्तो चतुर र अचम्मको क्षमता भएको मान्छेलाई जोगाउनुपर्ने हो ।

तर, तेरो यस क्षमता कुलतमा लागेको र सारा जनताको धन, दौलत, जिउज्यानको रक्षा गर्नु एक कुशल राजाको जिम्मेवारी भएकाले तँलाई मृत्युदण्ड नदिई बचाउन सक्दिनँ भनेर गहभरि आँसु गरी चिन्तासमेत गर्दै मृत्युदण्ड दिएछन् ।

यस घटनाले पृथ्वीनारायणको देश, जनता र कुशल शासनप्रतिको जिम्मेवारी र शास्त्रीय पद्धति, विवेक र चिन्तनशीलतालाई झल्काएको छ ।  पृथ्वीनाराणको भविष्यदृष्टि र स्थानीय धरोहर र परम्पराको रक्षाको साझा नीतिले गर्दा यस्तो अचम्मको भूराजनीतिक अवस्थितिमा पनि अहिलेसम्म त्यसै आडले स्वाधीनता जोगाएर राष्ट्रियतामा खासै ठसमस नभई बाँचेको हो भन्ने कुरामा कसरी शंका गर्ने ?

अहिलेको जस्तो चारैतिरबाट साथै देशभित्रैबाट समेत क्रमभंगवाद र बहकिएको जातीय र क्षेत्रीयताको भेलको अनवरत आक्रमण भएर लेकका झाडीका खरी जुकाले झैँ यस देशको राष्ट्रियतामाथि धाबा बोलिरहेको अवस्थामा पनि एउटा यथार्थ स्पष्ट रूपमा देखिइरहेको छ, त्यही हो यस देशको टिकिरहेको राष्ट्रियताको चुरो नै ।

त्यसको जग पृथ्वीनारायणले बसाएको स्थानीयताको साझा संस्कृतिको संरक्षणको नीति नै हो भनेर बुझेर नचलेमा त्यो जगमा धमिरा लाग्ने कुरामा दुईमत हुन सकिने स्थिति छैन । त्यसैले उग्र इसाईकरणको स्वार्थको साथमा उठेको स्थानीयताविरोधी क्रमभंगवादमा लालायित नभई पृथ्वीनारायणको स्थानीय परम्परागत साझा संस्कृतिको राष्ट्र रक्षाको नीतिमा फर्कने तथा नेपाल र नेपालीको स्वस्थानीय संस्कृति समेटिएको राष्ट्रियताको संवद्र्धनमा लाग्नु अहिलेको देश र जनता परिलक्षित एक मात्र उपयोगी नीति हुने कुरामा विश्वस्त हुन् सकिन्छ ।      

आज आधुनिक नेपालका निर्माता पृथ्वीनाराण शाहलाई र नेपाली साझा संस्कृति र धरोहरको नेपाल निर्माण र नेपालको स्वाधीन र सम्मानपूर्ण निरन्तरताका निम्ति कति महत्व छ भनेर सम्झनुपर्ने हो ।

यस अवसरमा पृथ्वीनारायणको वास्तविक देनलाई सघन सोचका साथ मनन, अनेक किसिमका स्वार्थ र सतहमा नबगी अपव्याख्याको बाटो छाडेर एक क्रूर अधिनायक भनी आरोपित गर्नुभन्दा उनलाई यो मनोरम हिमाली राष्ट्रको निर्माता र यस भेकका साझा संस्कृतिका सफल व्यक्तित्व, युगपुरुषको रूपमा स्विकार्नुबाहेक हाम्रासामु अर्को विकल्प देखिँदैन ।

उनका देनको बेवास्ता गरी अपव्याख्या गर्दै एक क्रूर र आततायी आक्रमणकारी शासक मात्र देख्नु राष्ट्रिय इतिहासप्रति हेलचेक्य्राइँ मात्र नभई एक किसिमले देश र समाजभाँडा उग्र स्वच्छन्दतावादी दृष्टिकोणबाहेक अरू केही हुन सक्दैन ।

वास्तवमा पृथ्वीनारायणको अवहेलना गर्नु उनको संस्मरणमा राष्ट्रिय रूपमा दिवस नमनाउनु नेपाल नाम बोकेका दल वा कुनै पनि संस्था र व्यक्तिको कृतघ्नताको पराकाष्ठाबाहेक अरू केही हुन सक्दैन । यथार्थमा पृथ्वीनारायणलाई सम्मान नगर्नु वा बिर्सन खोज्नु भनेको कुनै पनि नेपालीका निम्ति पिता वा हजुरबुबालाई बिर्सन खोज्नु वा उनीहरूको अस्तित्वविना आफ्नो अस्तित्वको दाबा गर्नुजस्तै हो ।

प्रतिकृया दिनुहोस