मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ कार्तिक २२ शुक्रबार ११:५४:००
Read Time : > 1 मिनेट
प्रदेश

१३० प्रतिशतसम्म नाफा लिएर खानेपानी बिक्री

Read Time : > 1 मिनेट
२०७६ कार्तिक २२ शुक्रबार ११:५४:००

पोखरा र आसपासका क्षेत्रमा बिक्री भइरहेको खानेपानीमा खुद्रा बिक्रेताले मनलाग्दी मूल्य लिने गरेको पाइएको छ । गण्डकी प्रदेश अनुगमन समिति गण्डकीले मंगलबार र बुधबार गरेको अनुगमनका क्रममा पिउने पानीमा खुद्रा विक्रेता हावी हुँदा कालोबजारी अत्यधिक रहेको पाइएको होे ।

प्रदेश अनुगमन समितिका सदस्य एवं अनुगमनमा सहभागी उपभोक्ता मञ्च गण्डकी संयोजक कपिलनाथ कोइरालाले पिउने पानीमा बिचौलिया हावी रहेको प्रस्ट देखिएको बताए । उत्पादकबाट पानी लिएपछि बीचमा कारोबार गर्नेले उपभोक्तासँग १३० प्रतिशतसम्म मुनाफा लिने गरेको उनको भनाइ छ । बजारमा प्रतिकार्टुन (१२ बोतल) पानी उत्पादकले एक सय २० देखि एक सय ५० रुपैयाँसम्म बेच्ने गरेको उनले बताए । यसरी १२० रुपैयाँमा किने एक कार्टुन पानी प्रतिबोतल १० र एक सय ५० रुपैयाँ पर्ने कार्टुनको प्रतिबोतल १२ रुपैयाँ ५० पैसा पर्छ । तर, त्यही पानी उपभोक्ताले न्यूनतम २० देखि ३० रुपैयाँ प्रतिबोतलका दरले किन्ने गरेका छन् । 

उपभोक्ता संरक्षण ऐनमा उत्पादक वा व्यापारीले उत्पादन मूल्य वा खरिद मूल्यमा २० प्रतिशतभन्दा बढी मुनाफा राख्न नपाउने उल्लेख छ । तर, पानीमा भने व्यापारीले सयदेखि १५० प्रतिशतसम्म मुनाफा राख्ने गरेको कोइरालाले बताए । यसैगरी, प्रतिजारको उत्पादकले १५ देखि २२ रुपैयाँसम्म लिने गरेकोमा उपभोक्ता ६० रुपैयाँसम्म तिर्न बाध्य छन् । उनले भने, ‘यो कालोबजारी हो, मानव जीवनसँग जोडिएको अत्यावश्यक वस्तुमा समेत कालोबजारी गर्नेलाई तुरुन्त कारबाही गर्नुपर्छ ।’

 अब मूल्य समायोजन गर्छौं : समिति
प्रदेश अनुगमन समिति संयोजक एवं उद्योग वाणिज्य तथा उपभोक्ताहित संरक्षण निर्देशनालयका निर्देशक गोकुल शर्मा पौडेलले अब नियन्त्रण गर्ने बताए । उत्पादकले धेरै नाफा नराखेको तर उपभोक्ताले महँगो तिर्न बाध्य भइरहेको अवस्थामा अब त्यस्तो हुन नदिइने उनको भनाइ छ । उनले भने, ‘पानीको मूल्य घटाइनेछ । कति घट्ने भन्ने अहिले नै निर्कोल नभए पनि उपभोक्तालाई राहत हुने गरी पानीको मूल्य समायोजन गराउँछौँ ।’ सरोकारवालासँग छलफल गरेर मूल्य घटाउने उनको भनाइ छ ।