मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ कार्तिक २२ शुक्रबार ११:०४:००
Read Time : < 1 मिनेट
प्रदेश

प्रदेश प्रमुख पन्तद्वारा पदभार ग्रहण

Read Time : < 1 मिनेट
२०७६ कार्तिक २२ शुक्रबार ११:०४:००

सुदूरपश्चिम प्रदेश प्रमुखमा नियुक्त शर्मिलाकुमारी पन्तले बिहीबार पदभार ग्रहण गरेकी छिन् । काठमाडौंमा शपथग्रहणपछि बुधबार बेलुका प्रदेशको अस्थायी राजधानी धनगढी आइपुगेकी पन्तले बिहीबार बिहान ११ बजे कार्यालय पुगेर पदभार ग्रहण गरेकी हुन् ।

पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रदेशप्रमुख पन्तले संविधान र कानुनको मातहतमा रहेर काम गर्ने बताइन् । ‘संविधानको अधिनमा रहेर कर्तव्य निर्वाह गर्नेछु,’ उनले भनिन्, ‘काम गर्ने क्रममा प्रदेशवासीको साथ र सहयोगको अपेक्षा गरेकी छु ।’ 

सबैको सहयोग र सल्लाहअनुसारअघि बढ्ने उनले प्रतिबद्धता व्यक्त गरिन् । प्रदेश प्रमुखका रूपमा सुदूरपश्चिम आउँदा खुसी र गर्व महसुस भएको उनको भनाइ थियो । प्रदेशप्रमुखको कार्यालयमा पदभार ग्रहणअघि प्रदेशप्रमुख पन्तलाई नेपाली सेनाको टोलीले सलामी दिएको थियो । कार्यभार सम्हालेपछि उनले प्रदेशका मन्त्री, सांसद, कर्मचारीसँग परिचयात्मक कार्यक्रम गरिन् ।

पदभार ग्रहण कार्यक्रममा मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाह, आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहरा, भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरा, उपसभामुख निर्मला बडाल, नेकपा संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङलगायत, सांसद, मुख्यसचिव नारायणप्रसाद बिडारीलगायत उपस्थित थिए ।