मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ कार्तिक २२ शुक्रबार ०९:१४:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

उसु खेल्नुस् स्वस्थ बन्नुस्

Read Time : > 1 मिनेट
२०७६ कार्तिक २२ शुक्रबार ०९:१४:००
आङबाबु लामा, उसु प्रशिक्षक

मैले उसु खेल्न थालेको २१ वर्ष भयो । अहिले राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत काठमाडौं जिल्लाको उसु प्रशिक्षक छु । मैले एघारौँ दक्षिण एसियाली खेलमा उसुबाटै स्वर्णपदक पाइसकेको छु, यसबाहेक पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पदक जितेको छु । 

चिनियाँ शब्द उ को अर्थ मार्सल र सु को अर्थ आर्टस् मिलेर उसु बनेको हो । यो चाइनिज मार्सल आर्टस् हो । मार्सल आर्टस्का अन्य विधाझैँ उसुले पनि आत्मरक्षा गर्न सिकाउँछ ।

अनुशासन, फिटनेस, फोकस र आत्मविश्वासका लागि उसु आवश्यक छ । बालबालिकाको हकमा शारीरिक विकासमा सहयोग गर्छ । उसुलाई दुई भागमा छुट्याइएको छ, ‘थाउलु’ र ‘सान्सौँ’ । यसअन्तर्गत विभिन्न इभेन्ट हुन्छन् – जुन पाँच वर्षदेखि सय वर्षसम्मका व्यक्तिले समेत खेल्न मिल्छ । तर, सबैले सबै इभेन्ट खेल्न सक्छन् भन्ने होइन ।

सान्सौँ 
यो फाइट इभेन्ट हो । यसमा खेलाडीको तौल समूहअनुसार प्रतिस्पर्धा हुन्छ । लेडिज जेन्स दुवैले आफ्नै तौल समूहका प्रतिस्पर्धीसँग प्रतिस्पर्धा गर्छन् । रेस्लिङमा लडाउने, पछार्ने, घुमाउने भएजस्तो उसुको फाइटमा अलराउन्डर टेक्निक युज हुन्छ । दुर्घटना हुने सम्भावनालाई मध्यनजर गर्दै सुरक्षाकवचका रूपमा चेस्टगार्ड, ग्लोभ्स प्रयोग गरिएको हुन्छ । स्ट्यान्डनबाई रूपमा सुरक्षा व्यवस्था गरेर यो खेल खेलाइन्छ । कसैलाई चोटपटक नलागोस् भनेर चनाखो भइन्छ । 
थाउलु
यसमा तरबार, लठ्ठी, भाला घुमाउने खेल हुन्छ । यस विधाअन्तर्गत प्रतिस्पर्धीबीच प्रत्यक्ष भिडन्त हुँदैन, सहभागीले आ–आफ्नो कला देखाउँछन् । थाउलुमा अन्तर्राष्ट्रिय नियमअनुसार तीन प्रकारका तरबार प्रयोग गरिन्छ । अलि मोटोले खेल्ने र पातलो मान्छेले खेल्ने तरबार भिन्नाभिन्नै हुन्छ । एकदमै मसल्स भएको, बडी भएको, पावरफुल, एकदमै हेभी टाइपका व्यक्तिले खेल्ने तरबार हेभी नै हुन्छ । लठ्ठी पनि इभेन्टअनुसार बनाइएको हुन्छ । थाउलुभित्र विभिन्न इभेन्ट छन् । यसमध्ये ‘छान छ्वान’ एउटा हो । चीनको उत्तरी भेगबाट यसको सुरुवात भएको हो । त्यस्तै, ‘नान छ्वान’ चाइनाको दक्षिणी भागमा सुरु भएको हो । अर्को इभेन्ट ‘थाइची छ्वान’ हो, यसलाई कसैले ‘थाइची’ त कसैले ताइची पनि भन्ने गर्छन् । तर, चाइनिजले यसको उच्चारण गर्दा ‘थाइची छ्वान’ भन्छन् । 

आकर्षण र फाइदा 
उसु खेलाडीले प्रयोग गर्ने ड्रेस निकै आकर्षक र महँगो पनि हुन्छ । यस खेलमा सबै खेलाडीले एउटै ड्रेस लगाउनुपर्छ भन्ने छैन । खेलाडीले निश्चित मापदण्डअन्तर्गत आ–आफ्नो च्वाइसका रंगीचंगी ड्रेस लगाउँछन्, त्यसैले उनीहरू ग्ल्यामरस देखिन्छन् । 

स्वास्थ्यका लागि उसु निकै आवश्यक खेल हो । आत्मरक्षा यसको पहिलो मन्त्र हो । यसले मानिसमा सकारात्मक सोच, शान्ति तथा शारीरिक र मानसिक विकास गराउँछ । उसुमा श्वास–प्रश्वास सन्तुलित राख्ने गरी ध्यानकै शैलीमा विभिन्न टेक्निक प्रयोग गरिएको हुन्छ । उसुअन्तर्गत ‘थाइची छ्वान’ खेल विश्वमा पछिल्लो समय निकै लोकप्रिय छ । यसमा बलको धेरै प्रयोग हुँदैन ।

खेलाडीको मानसिक र शारीरिक फिटनेसमा जोड दिइन्छ, बाहिरबाट निकै हल्काजस्ता देखिने खेलाडी भित्रबाट मजबुत हुन्छन् । पछिल्लो समय केही मुभमेन्ट थपेर उसुका प्रतिस्पर्धालाई रोमाञ्चक बनाउन थालिएको छ । खेलाडीकै रूपमा करिअर बनाउन चाहनेले सानैदेखि उसु सिक्न सुरु गर्दा राम्रो, तर अभ्यास र फिटनेसका लागि जुनसुकै उमेरकाले व्यक्तिले पनि उसु खेल्दा हुन्छ ।