१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
प्रेम गौतम
२०७५ पौष २७ शुक्रबार ०८:१०:००
Read Time : > 4 मिनेट
फिचर

भौतिकवादी हुँ अध्यात्म अध्ययन गर्छु : मोहनचन्द्र अधिकारी

Read Time : > 4 मिनेट
प्रेम गौतम
२०७५ पौष २७ शुक्रबार ०८:१०:००

अध्यात्म–संवाद :

०२८ सालमा भएको झापा विद्रोहमा सफाया आन्दोलनको ‘फर्स्ट एक्सन’ मोहनचन्द्र अधिकारीले गरेका थिए । उनी ०३० सालमा पक्राउ परे । १६ वर्ष ९ महिना जेल बसे । ०४६ सालमा छुटेपछि तत्कालीन जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहले उनलाई ‘नेपालको नेल्सन मन्डेला’को उपाधि दिए ।

लगत्तै दिल्लीस्थित जवाहरलाल नेहरू विश्वविद्यालयमा भएको कार्यक्रममा तत्कालीन भारतीय प्रधानमन्त्री चन्द्रशेखरले ‘एसियाकै मन्डेला’ भने । जीवनको ऊर्जाशील समय क्रान्तिमा खर्चिएका मोहनचन्द्र अधिकारी पछिल्लो समय अध्यात्मतिर लागे ।

तर, क्रान्तिकारीपन नछाडेको उनको दाबी छ । मोहनचन्द्रले नयाँ पत्रिकाका प्रेम गौतमलाई अध्यात्म अनुभव सुनाएका छन् ।


कुनै समय क्रान्तिका नाममा हामीले हतियार उठाएकै हो । वर्गशत्रु सफाया अन्दोलनमा ‘फस्र्ट एक्सन’का लागि म, बिरेन राजवंशी र रामनाथ दहाल खटियौँ । बिरेन र रामनाथ पछि सुखानीमा मारिए । झापा विद्रोहको दुई वर्षपछि म र केपी ओली रौतहटको गौरबाट पक्राउ प-यौँ ।

जेलमा पटक–पटक आत्मसमर्पण गर्न भने पनि मैले मानिनँ । त्यसरी क्रान्तिमा हिँडेको मान्छे अहिले अध्यात्मको चिन्तनमा लागेको साँचो हो । तर, जसरी म मोडिएर अध्यात्ममा चुर्लम्म डुबेको आरोप छ, त्यो सत्य होइन । 

नयाँ जनवादी क्रान्ति गर्ने भनेर हिँडेका साथीहरूले हतियार उठाएर गृहयुद्ध लडे । फेरि हतियार बुझाए । यो त सबैले छर्लंगैै देखेका छन् । म न हतियार बुझाएको मान्छे, न हतियारसहितको आन्दोलनको विरोधी नै हुँ । आवश्यकताअनुसार हतियारविना आन्दोलन हुन सक्दैन ।

तर, शान्तिपूर्ण तरिकाले आन्दोलन सम्भव भएसम्म हतियार चलाउनुपर्छ भन्ने होइन । शान्तिपूर्ण गतिविधि गर्न सकिँदैन, राजनीतिक रूपमा संगठन गर्ने अधिकार खोसिन्छ भने हतियारबाहेक अर्को विकल्प हुँदैन । त्यसमा म अझै पनि कायम छु ।

गणतन्त्र आयो भन्दैमा समानता आइसकेको छैन । त्यसका लागि फेरि हतियारसहितको आन्दोलन आवश्यक पर्न सक्छ । यो राजनीतिक कुरा हो । अध्यात्मको पाटो फरक छ । अध्यात्म दर्शनको अध्ययन जेलबाटै सुरु गरेको हुँ ।

गौरमा पहिलो जेल अनुभव 

म रौतहटबाट पक्राउ पर्दा त्यहाँ चन्द्रिकानन्द भन्ने सिडिओ थिए । थर बिर्सिएँ । उनलाई मैले भनेको थिएँ, ‘भोलि नै उडाउने भन्ने हल्ला छ, सक्छौ भने उडाऊ ।’ उनको जवाफ थियो, ‘कोर्टको फैसलाले मात्रै तिमीलाई उडाउने हो ।’ म ठाडो मान्छे । ठाडै जवाफ दिन्थेँ । त्यस्तो फैसला गर्ने कोर्ट नेपालमा अहिलेसम्म नबनेको बताएँ । मैले भनेँ, ‘मलाई फाँसी दिने आदेश कोर्टले दिँदैन ।’

त्यसपछि जेल पठाए । जेलमा हामीलाई धेरै यातना दिइयो । टाउको तल, खुट्टामाथि पारेर हिर्काउँथे । कुटेर बेहोसै पार्थे । कतिपयवेला त के–के ग-यो भन्ने पनि थाहा हुँदैनथ्यो । फेरि होसमा आउनेबितिक्कै हिर्काउन थालिहाल्थे । अनि फेरि बेहोस पारेर छाड्थे । प्रशासनले मलाई र केपी ओलीलाई मानसिक सन्तुलन ठीक नभएका मान्छेहरूसँग राखेको थियो ।

घर–गृहस्थी चलाएर बसेको कम्युनिस्ट मान्छे अरू सबै चटक्क छाडेर धर्मतिर लागिसकेको भने छैन । जिज्ञासुजस्तो भएर किताबहरू पढ्छु, बुझ्छु । मन लागेको वेला ध्यान गर्छु ।

मृत्यु हेर्न खोज्दा...

त्रिचन्द्र कलेजमा मैले २०१९ सालमा पूर्वीय दर्शन पढेको थिएँ । त्यही क्रममा अध्यात्मबारे केही बुझेको थिएँ । तर, दार्शनिक रूपमा बुझेर अध्यात्ममा लागेको होइन । म अध्यात्म अध्ययनमा लाग्नुको पछाडि जेलको एउटा घटना जोडिएको छ । 

सेन्ट्रल जेलमा रहँदा नरबहादुर घिमिरे भन्ने अचम्मका मान्छे थिए । रातभरि कराउने, दिउँसो साम्य हुने, फेरि राति कराउने । उनले एक दिन अचानक ४ बजेतिर सोधे, ‘मोहनजी मृत्यु हेर्ने हो ?’ मलाई आश्चार्य लाग्यो । मृत्यु नै देख्न सकिन्छ भने त्यो पनि त एउटा सत्य हो । सत्य देख्नु त कम्युनिस्टको काम नै भयो । अनि ‘हेर्ने’ भनेँ । उनले राति विशुद्ध संस्कृतमा एक श्लोक सुनाए । त्यो रात उनी कराएनन् पनि । 

उनले भने, ‘मैले भनेबमोजिम गर्नुपर्छ ।’ मैले पनि भनेबमोजिम गर्दै गएँ । त्यहीवेला एकजना लक्ष्मण गुरुङ भन्ने व्यक्ति ‘म मृत्यु हुँ’ भन्दै आए । अर्को दिन बिहान केपी ओलीले मलाई फ्याट्ट भने ‘म तेरो मृत्यु हुँ, तैँले मलाई चिनिनस् पूर्वीया बाहुन, मैले तँलाई पक्राएको हुँ ।’ त्यसपछि म अध्यात्म अध्ययनमा लागेँ । तर, मलाई अध्यात्मवादमा लागेर केही गरौँला भन्ने लाग्दैन ।

शान्त हुन विपश्यना गएँ

जेलमा केपी ओली र आरके मैनालीले पनि विष्णु स्त्रोत्रावली पढेका हुन् । हामीसँगै जेलमा कांग्रेसका भीमनारायण श्रेष्ठ पनि थिए । उनी पछि सहिद भए । भीमनारायणले एक दिन मसँग विष्णु स्त्रोत्रावली लेखिदिन भने । त्यो त केपी ओली र आरके मैनालीले माग्न लगाएका रहेछन् ।

‘मोहनचन्द्रले थाहा नपाउने गरी माग्नू’ भनेका रहेछन् । भीमजीले भने, ‘तपाईंलाई आउँछ भने भनिदिनुहोस् ।’ मैले भनेँ, ‘पढ्न त पढेको छैन, लेख्नुस् म लेखाइदिन्छु ।’ मैले लेखेको विष्णु स्त्रोत्रावली नै केपी र आरकेले पनि पढे ।  

०४७ सालमा जेलबाट छुटेँ । लामो समय जेल बसेको शारीरिक र मानसिक असर थियो । एक दिन डा. सुन्दरमणि दीक्षितले जेलको यातनाबाट भएको असर ठीक गर्न विपश्यना जाने सल्लाह दिए । गएँ । 

पहिलोपटक त्यहाँ गएपछि म आकर्षित भएँ । तीनचोटि गरेर ३० दिन विपश्यना बसेको छु । अहिले भने विपश्यना गर्न छोडिदिएको छु । विपश्यना भनेको पछाडि फर्कनु हो । तर, ध्यानचाहिँ गर्छु ।

जिज्ञासु हुँ, धार्मिक होइन

ध्यानमा बस्दा मैले एकचोटि आफूलाई हत्केलामा देखेको छु । त्यो अनुभूति गर्न चिसोमा ध्यान गर्नुपर्छ । यस्तो चिसो, कि मर्नुप-यो, कि सिद्ध हुनुप-यो । त्यस्तो अवस्थामा पुगेँ । म डेरामा दिनमै १६ घन्टा ध्यान गथेँ । मर्न सकिएन । पछि ध्यान गर्ने समय घटाउँदै बन्द गरिदिएँ । चिसो थाम्नै सकिनँ ।  

नयाँ जनवादी क्रान्ति गर्ने भनेर हिँडेका साथीहरूले हतियार उठाएर गृहयुद्ध लडे । फेरि हतियार बुझाए । यो त सबैले छर्लंगैै देखेका छन् । म न हतियार बुझाएको मान्छे, न हतियारसहितको आन्दोलनको विरोधी नै हुँ ।

मान्छेले भौतिकवाद र अत्यात्मवादको अध्ययन गर्नुपर्छ । भौतिकवाद र अत्यात्मवादका कति कुरा समान छन् । त्यो अध्ययनको कुरा हो । मेरो कुरा गर्ने हो भने घरगृहस्थी चलाएर बसेको कम्युनिस्ट मान्छे अरू सबै चटक्क छाडेर धर्मतिर लागिसकेको भने छैन । म त जिज्ञासुजस्तो भएर किताबहरू पढ्छु, बुझ्छु । मन लागेको वेला ध्यान गर्छु । 

क्रान्ति कसैले सिकाएर सिक्ने कुरा होइन । मलाई जुन निगाहाबाट हेर्न चाहनुहुन्छ, हेर्न सक्नुहुन्छ । म अध्यात्म अध्ययन गर्ने भएकाले यसमा लाग्नुपर्छ भन्छु । तर, अध्यात्मले मात्रै सबै चिज पुग्छ पनि भन्दिनँ । त्यस्तै, भौतिकवादले मात्रै उत्तर दिन्छ भन्ने पनि छैन । जीवनमा अध्यात्मवाद र भौतिकवादलाई मिलाएर लान सक्नुपर्छ । थाहा पाउने कुरा थाहा पाएरै जानुपर्छ ।

जिन्दगीमा अधुरो रहनुहुँदैन । भौतिकवाद र अध्यात्मवादले मानिसलाई पूर्ण बनाउँछ । मानवीय दृष्टिकोणले महामानवतिर जान सकिन्छ । अहिलेका राजनीतिज्ञ कोही पनि महामावन देखिएनन् । खान, लगाउन पाइसकेपछि मान्छे भौतिकवादी मात्र रहन्छ कि रहँदैन भन्ने अवस्था हेर्नुपर्ने हुन्छ । मलाई लाग्दैन कि समाजवादी व्यवस्था आएर वैज्ञानिक साम्यवादमा पुगिसक्दा धेरै आध्यात्मिक प्रश्नको जवाफ भौतिकवादीले दिइसकेका हुन्छन् ।