१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७६ कार्तिक २२ शुक्रबार ०९:१२:००
Read Time : > 4 मिनेट
सेयर बजार

एनएमबिले बढायो कारोबार रकम

Read Time : > 4 मिनेट
२०७६ कार्तिक २२ शुक्रबार ०९:१२:००

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक शून्य दशमलव ५३ प्रतिशत घटेर बन्द भएको छ । नेप्से परिसूचक ओरालो लागे पनि यस दिन कारोबार रकम भने बढेको छ । लामो समयदेखि रोक्का रहेको एमएमबि बैंकको सेयर कारोबार खुलेसँगै यस दिन कारोबार रकम बढेको हो । यस दिन एनएमबि बैंकको मात्रै ११ करोडभन्दा बढीको सेयर किनबेच भएको छ । यो यस दिनको कुल कारोबार रकमको ३० प्रतिशत हो । १४ महिनादेखि रोक्का रहेको ओम डेभलपमेन्ट बैंकको सेयर मर्जरपश्चात् एनएमबि बैंकको नाममा कारोबार खुलेपछि सो बैंकका सेयरधनीहरू नाफा बुक गर्नतर्फ लागेका कारण बैंकको सेयर कारोबार बढेको एक ब्रोकरले बताए । कारोबार बढे पनि यस दिन सो बैंकको सेयरमूल्य भने ४ रुपैयाँ ३२ पैसा घटेर ३ सय ४७ रुपैयाँमा अन्तिम कारोबार भएको छ । 

बजार सारांश
नेप्से परिसूचक बिहीबार ६ दशमलव शून्य ५ अंक घटेर १ हजार १ सय ३१ दशमलव ९७ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स यस दिन १ दशमलव ४० अंक घटेर २ सय ४८ दशमलव ३१ बिन्दुमा पुगेको छ । त्यसैगरी, फ्लोट इन्डेक्स यस दिन शून्य दशमलव ४६ अंक घटेर ८३ दशमलव ९४ बिन्दुमा पुगेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ४५ अंक घटेर ७९ दशमलव ७३ बिन्दुमा पुगेको छ । यस दिन १ सय ६३ कम्पनीको ५ हजार ४८ पटकको कारोबारमा ३७ करोड ४१ लाख ५० हजार ५ सय ७१ रुपैयाँबराबरको १२ लाख ९६ हजार ८ सय ७७ कित्ता सेयर खरिद–बिक्री भएको छ । 

प्राविधिक विश्लेषण
आरएसआई : नेप्सेको १४ दिने आरएसआई यस दिन ४० दशमलव २६ स्केलमा पुगेको छ । बजार ओरालो लागे पनि न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिद–बिक्रीको चाप सन्तुलनमा रहेको संकेत गर्छ । 

एडी रेसियो : नेप्सेको एडी रेसियो यस दिन शून्य दशमलव ४५ रहेको छ । यसले बजार बियरिस प्रवृत्तिमा रहेको संकेत गर्छ । यस दिन कारोबारमा आएका १ सय ६३ कम्पनीमध्ये ४० कम्पनीको मात्र सेयरमूल्य बढेको छ भने ८७ कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी ३६ कम्पनीको सेयरमूल्य यस दिन स्थिर रहेको छ ।

यस दिनको पिभट विश्लेषण गर्दा आगामी कारोबार दिन नेप्से ओरालो लागे १ हजार १ सय २८ दशमलव ८६ बिन्दुमा पहिलो टेवा पाउने देखिन्छ भने उकालो लागे १ हजार १ सय ३७ दशमलव २२ बिन्दुमा पहिलो प्रतिरोधको सामना गर्नेछ । त्यसैगरी, नेप्सेले १ हजार १ सय २५ दशमलव ७५ बिन्दुमा दोस्रो टेवा पाउने देखिन्छ । पहिलो प्रतिरोध बिन्दु तोडेर उकालो लागे नेप्सेले १ हजार १ सय ४२ दशमलव ४७ बिन्दुमा दोस्रो प्रतिरोधको सामना गर्नेछ । यस दिन नेप्सेको पिभट बिन्दु १ हजार १ सय ३४ दशमलव ११ रहेको छ ।

साल्ट ट्रेडिङको सेयर मूल्यमा सकारात्मक सर्किट
यस दिन कारोबारमा आएको साल्ट ट्रेडिङ कर्पोरेसनको सेयरमूल्य बढेर सकारात्मक सर्किट लागेको छ । सो कम्पनीको सेयरमूल्य ७२ रुपैयाँ ७ सय ९५ रुपैयाँमा अन्तिम कारोबार भएको छ । यस कम्पनीको सेयरमूल्यमा निरन्तर २ कारोबार दिन सकारात्मक सर्किट लागेको हो । सो कम्पनीको सेयरमूल्य बढेर सर्किट लागे पनि अन्य कम्पनीहरूको सेयरमूल्य वृद्धिदर भने कम रहेको छ । एनआइसी एसिया ग्रोथ फन्डको इकाइमूल्य यस दिन ३ दशमलव ९३ प्रतिशत, सगरमाथा इन्स्योरेन्सको ३ दशमलव ८० प्रतिशत, नेसनल हाइड्रोपावर कम्पनीको ३ दशमलव ७७ प्रतिशत र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयरमूल्य २ दशमलव ९७ प्रतिशत बढेको छ । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयरमूल्य यस दिन ५ दशमलव १९ प्रतिशत अर्थात ४ रुपैयाँ घटेर ७३ रुपैयाँमा अन्तिम कारोबार भएको छ । ओरियन्टल होटेल र सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको सेयरमूल्य यस दिन ४ प्रतिशतभन्दा बढी घटेको छ भने खानीखोला हाइड्रोपावर कम्पनी र नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयरको मूल्य ३ प्रतिशतभन्दा बढी घटेको छ । 

एनएमबि बैंकको सेयर कारोबार बढी
कारोबार रकम, सेयर संख्या र कारोबार संख्याका आधारमा यस दिन एनएमबि बैंक लिमिटेड अगाडि रहेको छ । सो वाणिज्य बैंकको यस दिन ९ सय ७१ पटकको कारोबारमा ११ करोड २६ लाख ४३ हजार रुपैयाँबराबरको ३ लाख २८ हजार १ सय ५१ कित्ता सेयर खरिद–बिक्री भएको छ । ओम डेभलपमेन्ट बैंकको मर्जर प्रक्रियाका कारण बैंकको सेयर कारोबार पछिल्लो ५ महिनादेखि रोक्का रहेको थियो । मर्जरपश्चात् यसै दिनदेखि बैंकको सेयर कारोबार सुरु भएको हो । कारोबार रकमका आधारमा दोस्रो स्थानमा रहेको प्रभु बैंकको यस दिन २ सय १७ पटकको कारोबारमा ५ करोड ६५ लाख १२ हजार रुपैयाँबराबरको २ लाख १३ हजार ७ सय २४ कित्ता सेयर किनबेच भएको छ । त्यसैगरी, यस दिन नेपाल बैंकको करिब ३ करोडबराबरको सेयर खरिद–बिक्री भएको छ भने नबिल बैंक र प्रभु बैंकको संस्थापक सेयरको कारोबार रकम १ करोड नाघेको छ ।

विकास बैंकको परिसूचक हरायो
यस दिन १२ समूहका कम्पनीहरूको सेयर कारोबार भए पनि नेप्सेको वेबसाइटमा विकास बैंकको परिसूचक हराएको छ । एनएमबि बैंकसँग मर्ज भएको ओम डेभलपमेन्ट बैंकको सो समूहबाट हटाएपछि विकास बैंकको परिसूचक समायोजन गर्न समय लागेका कारण यस दिन सो समूहको परिसूचक नदेखिएको नेप्सेले बताएको छ । बाँकी ११ समूहमध्ये यस दिन व्यापार समूहको परिसूचक सर्वाधिक ६ दशमलव १८ प्रतिशत बढेको छ । म्युचुअल फन्ड समूहको परिसूचक यस दिन शून्य दशमलव ३८ प्रतिशत र निर्जीवन बिमा समूहको शून्य दशमलव २९ प्रतिशत बढेको छ । 

होटेल समूहको परिसूचक यस दिन सर्वाधिक १ दशमलव ४५ प्रतिशत घटेको छ । जीवन बिमा समूहको परिसूचक शून्य दशमलव ७९ प्रतिशत, जलविद्युत् समूहको शून्य दशमलव ७६ प्रतिशत, वाणिज्य बैंक समूहको शून्य दशमलव ६४ प्रतिशत र वित्त समूहको शून्य दशमलव ५८ प्रतिशत घटेको छ । त्यसैगरी, अन्य समूहको परिसूचक यस दिन शून्य दशमलव ५८ प्रतिशत, उत्पादनमूलक समूहको शून्य दशमलव १९ प्रतिशत र लघुवित्त समूहको शून्य दशमलव शून्य ३ प्रतिशत घटेको छ ।

प्रभु बैंकको ऋणपत्र निष्कासन खुला
प्रभु बैंक लिमिटेडले कात्तिक २१ गतेदेखि १० दशमलव २५ प्रतिशत प्रभु डिबेन्चर २०८६ निष्कासन तथा बिक्री खुला गरेको छ । बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँका दरले १० लाख कित्तामध्ये ४ लाख कित्ता सर्वसाधारणका लागि निष्कासन गरेको हो । निष्कासन गरिएको कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् २० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । निष्कासन बन्द छिटोमा कात्तिक २५ गते हुनेछ भने ढिलोमा मंसिर २० गते हुनेछ । 

लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ४ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । ऋणपत्रको अवधि १० वर्षको रहेको छ । ऋणपत्रको वार्षिक ब्याजदर १० दशमलव २५ प्रतिशत हुनेछ । आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र द्वितीय अर्धवार्षिक समाप्त भएपश्चात् भुक्तानी गरिनेछ । सो ऋणपत्रलाई इक्रा रेटिङ नेपालले इक्रा नेपाल एलबिबिबी रेटिङ प्रदान गरेको छ । यसले कर्जा जोखिम मध्यम रहेको संकेत गर्छ । 

बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब २३ करोड ३९ लाख रहेको छ । ऋणपत्र निष्कासनका लागि नेपाल धितोपत्र बोर्डले असोज ७ गते अनुमति दिएको थियो । 

सिर्जना फाइनान्सको हकप्रदको म्याद थप
सिर्जना फाइनान्स लिमिटेडले असोज १७ गतेदेखि १० बराबर ६ अनुपातमा निष्कासन तथा बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन दिने म्याद १५ दिन थप गरेको छ । सो हकप्रद सेयरमा अब मंसिर ६ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका २७ लाख ६४ हजार ६ सय ९२ कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो । सो हकप्रद सेयरमा असोज ५ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई कायम साबिक सेयरधनीले आवेदन दिन सक्नेछन् ।