मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ कार्तिक २२ शुक्रबार ०८:००:००
Read Time : > 1 मिनेट
अर्थ

नेपाल पुनर्बिमा कम्पनीले २९ मुलुकबाट ८४ करोड बिमाशुल्क भित्र्यायो

आव ०७५/७६ मा कम्पनीद्वारा १ अर्ब १७ करोड मुनाफा 

Read Time : > 1 मिनेट
२०७६ कार्तिक २२ शुक्रबार ०८:००:००

नेपाल पुनर्बिमाले २९ मुलुकबाट ८४ करोड २ लाख रुपैयाँ बिमाशुल्क ल्याउन सफल भएको छ । गत आर्थिक वर्ष ०७५/७६ सम्ममा कम्पनीले ती मुलुकमा व्यवसाय विस्तार गरी बिमाशुल्क नेपाल भित्र्याएको हो । कम्पनीले भारत, बंगलादेश, भेनेजुएला, युएई, फिलिपिन्स, भियतनाम, यमन, माल्दिभ्स, बहराइन, भुटान, कतार, कुवेत, टर्की, पाकिस्तान, ओमान, म्यानमारलगायतका मुलुकमा व्यवसाय विस्तार गरेको निमित्त प्रमुख कार्यकारी अधिकृत दामोदर भण्डारीले बताए । उक्त मुलुकका बिमा कम्पनी तथा पुनर्बिमा कम्पनीसँग नेपाल पुनर्बिमा कम्पनीले सम्झौता गरेको छ । 

१७ प्रतिशत बढ्यो नाफा
गत आर्थिक वर्ष ०७५/७६ मा नेपाल पुनर्बिमा कम्पनीको नाफा १७ प्रतिशत बढेको छ । सो अवधिमा कम्पनीले १ अर्ब १७ करोड रुपैयाँ नाफा गरेको तथ्यांक छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले १ अर्ब ७६ लाख रुपैयाँ नाफा गरेको थियो । त्यस्तै, आव ०७३/७४ मा ६६ करोड ८६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । त्यस्तै, गत आवमा कम्पनीको बिमाशुल्क आर्जन ६३ प्रतिशतले बढेको छ । कम्पनीको तथ्यांकअनुसार गत आवको अन्त्यसम्ममा कम्पनीले ६ अर्ब ८८ लाख रुपैयाँ आर्जन गरेको थियो । 

अघिल्लो आवको सोही अवधिमा भने कम्पनीले ४ अर्ब ४४ लाख रुपैयाँ बिमाशुल्क आर्जन गर्न सफल भएको थियो । कम्पनीको नेटवर्थ १२ अर्ब ५६ करोड रुपैयाँ रहेको छ भने कुल सम्पत्ति १७ अर्ब ९० करोड रुपैयाँ रहेको छ । 

६ वटा जीवन बिमा कम्पनीको शतप्रतिशत पुनर्बिमा गर्दै कम्पनी
नेपाल पुनर्बिमा कम्पनीले ६ वटा जीवन बिमा कम्पनीको शतप्रतिशत पुनर्बिमा गरेको छ । अन्य कम्पनीहरूले भने न्यूनतम २० प्रतिशत प्रत्यक्ष पुनर्बिमा गरेका छन् । सरकारले गत आवको बजेटमार्फत सबै कम्पनीलाई पुनर्बिमाको २० प्रतिशत हिस्सा नेपाल पुनर्बिमा कम्पनीमा गर्नुपर्ने व्यवस्था गरेको हो । कम्पनीले अन्तर्राष्ट्रिय पुनर्बिमा कम्पनी ह्यानओभर रि, क्यानोपिअस, एभरेस्ट री, जिआइसी री लगायतका कम्पनीसँग रेट्रोसेसन गर्दै आएको छ ।  

८० लाख कित्ता आइपिओ जारी गर्ने तयारीमा 
नेपाल पुनर्बिमा कम्पनीले सर्वसाधारणका लागि प्राथमिक सेयर जारी गर्ने तयारी गरेको छ । कम्पनीले १ सय अंकित दरको ८० करोड रुपैयाँबराबरको ८० लाख कित्ता सेयर जारी गर्ने भएको छ । कम्पनीको सेयर बिक्री प्रबन्धकका लागि आरबिबीलाई नियुक्त गरेको छ । कम्पनीमा नेपाल सरकारको ४४.०४ प्रतिशत लगानी रहेको छ । अन्य जीवन, निर्जीवन तथा अन्य पब्लिक कम्पनीको ३९.९६ प्रतिशत लगानी रहेको छ । सर्वसाधारण तथा कर्मचारीका लागि १६ प्रतिशत छुट्याइएको छ । 

आतंकवादले जन्मायो पुनर्बिमा कम्पनी 
०५८ साल भदौ २६ गते अमेरिकामा भएको आतंककारी आक्रमणबाट अर्बौँ रकमको क्षति भयो । परिणामस्वरूप विश्व बिमा क्षेत्रमा नै ठूलो उथलपुथल आयो । त्यसपछि बिमा क्षेत्रमा नयाँ जोखिमका रूपमा आतंकवादको सुरुवात भयो । अन्तर्राष्ट्रिय पुनर्बिमा कम्पनीले आतंकवादको जोखिमका लागि छुट्टै बिमाशुल्क निर्धारण गरियो । सोही अवधिमा नेपालमा पनि द्वन्द्व चर्किएको थियो । विदेशी पुनर्बिमा कम्पनीले उक्त द्वन्द्वलाई आतंकवादको संज्ञा दिए । उक्त जोखिमको सुरक्षाका लागि थप शुल्क माग गर्न थालियो ।

अधिकांश विदेशी पुनर्बिमा कम्पनीले नेपाली बिमा कम्पनीको पुनर्बिमा गर्न आनाकानी गरे । जसका कारण नेपाली पुनर्बिमा कम्पनी अप्ठ्यरोमा परे । उक्त समस्यालाई समाधान गर्न सरकारको नेतृत्वमा बिमा कम्पनीहरूको संलग्नतामा ०६१ सालमा आकस्मिक बिमा कोषको स्थापना भयो । जसमा सरकारले ५ करोड र बिमा कम्पनीहरूले ६ करोड गरी जम्मा ११ करोड रुपैयाँको कोष खडा गरियो । ०७१ कात्तिक २१ गते सोही कोषलाई पुनर्बिमा कम्पनीमा परिणत गरियो । जसमा नेपाल सरकारको ४३ दशमलव ५५ प्रतिशत, निर्जीवन बिमा कम्पनीको ३८ दशमलव ३९ प्रतिशत र जीवन बिमा कम्पनी तथा अन्य पब्लिक कम्पनीको १८ दशमलव शून्य ६ प्रतिशत लगानी रहेको छ ।