सुनील गिरी, गायक
२०७६ कार्तिक २२ शुक्रबार ०८:००:००
नयाँ पत्रिका

सदाबहार ५ गीत मन पर्छ

एउटा मान्छेको मायाले 
नारायण गोपालले गाउनुभएको यो गीत धेरैलाई मनपर्छ । मेरो जीवनमा पनि यो गीत मेल खान्छ । जुन मान्छेलाई माया गरिएको हुन्छ, ऊ जतिसुकै टाढा भए पनि उसका कारण जीवनमा उतारचढाव आउँछ । एउटा माया गर्ने मान्छेले जीवनमा कति प्रभाव राख्छ भन्ने यो गीतमा देखाइएको छ ।
तिमीले हेर्दा कसैलाई 
यो गीत पनि मलाई मनपर्छ । नवीन के भट्टराई दाइले गाउनुभएको सस्तो प्रशंसाभन्दा प्रेमी–प्रेमीकाका यथार्थ कुरा बाहिर ल्याएको छ । नवीन दाइकै कम्पोजमा तयार भएको यो गीत मनोज आचार्यले लेख्नुभएको हो । आफूले मन पराएको मान्छेले अरू कसैलाई हेरिदिँदा आफूमा हुने पीडालाई गीतले उजागर गरेको छ । 
तिमीलाई देखेर हिमाल हाँसेको 
राजु लामाले गाउनुभएको यो गीतमा प्रकृतिको सौन्दर्यलाई आफ्नी मायालुसँग तुलना गरिएको छ । मन पर्ने मान्छेलाई प्रकृतिसँग जोडेर हेर्दा कस्तो देखिन्छ, यो गीतले बताउँछ । प्रकृतिप्रेमी भएकाले यो गीत मन पर्छ । 
गाउँमा सायद पहिरो गयो कि 
दीप श्रेष्ठ दाइले गाउनुभएको तथा विप्लव प्रतीकले लेख्नुभएको यो गीतले गाउँको सामाजिक–परिवारिक कथा बोल्छ । म आफू पनि गाउँबाटै आएको हुनाले गीतसँग मेरो सेन्टिमेन्ट जोडिएको छ । 
फूलको थुंगा बहेर गयो 
नातिकाजीको संगीत, तारादेवीको स्वर तथा माधवप्रसाद घिमिरेको रचना हो, फूलको थुंगा । यो गीतको संगीत संयोजन निकै मन पर्छ । संगीत साधनाको सुरुवाती चरणमा यस गीतमा रियाज गर्थेंं ।