१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ कार्तिक २२ शुक्रबार ०८:००:००
Read Time : > 2 मिनेट
सप्तरंग

भोजपुरी र हिन्दीकै बोलवाला

प्रदेश २ का सिनेमाघर

Read Time : > 2 मिनेट
२०७६ कार्तिक २२ शुक्रबार ०८:००:००

वीरगन्जको त्रिमूर्ति हल प्रदेश २ को व्यस्त सिनेमाघरमध्येको हो । यस हलमा सबैभन्दा बढी चलेका फिल्ममा पर्छन्, हिन्दी भाषाका ‘बाहुबली’, ‘बाहुबली–२’ र ‘सत्यमेव जयते’ । नेपाली चलचित्रहरू ‘छक्कापञ्जा’, ‘नाइँ नभन्नु ल–३’ र ‘नाइँ नभन्नु ल–४’ पनि दर्शकको रुचिमा परेको देखिए । भोजपुरी चलचित्रका कलाकार पवन सिंहलाई यहाँका दर्शकले मन पराउने भएकाले उनी अभिनीत सोही भाषाको ‘सत्या’ले पनि राम्रै व्यापार गरेको त्रिमूर्ति सिनेमाघरका व्यवस्थापक मेघराज निसाद बताउँछन् ।

‘यस क्षेत्रमा भोजपुरी भाषी जनसंख्या बढी छ, त्यसैले सोही भाषाका चलचित्रमा दर्शकको रुचि बढी देखिन्छ,’ निसाद भन्छन्, ‘भोजपुरी फिल्ममा तराई, मधेसका कला, संस्कृति मात्र होइन, स्थानीय कलाकारले पनि अभिनय गरेका हुन्छन् । त्यसैले भोजपुरी चलचित्र राम्रै चल्छन् ।’प्रदेश–२ का आठ जिल्लामा नेपालको मधेसी र पहाडी मूलका बासिन्दा मात्र छैनन्, कामका सिलसिलामा आएका भारतीय नागरिकहरू पनि छन् ।

यी जिल्लाका सिनेमाघरमा हिन्दी फिल्म लागेपछि सीमापारिका बासिन्दा पनि परिवारसहित हेर्न आउने गरेको त्रिमूर्तिका व्यवस्थापक निसाद बताउँछन् । चारै प्रकारका दर्शकका कारण हिन्दी फिल्म नै आठ जिल्लाका हलमा चल्ने गरेको उनको भनाइ छ । खासगरी, हिन्दी र भोजपुरी चलचित्रका लागि प्रचार प्रसारमा कम खर्च हुने गरेको उनी बताउँछन् । नेपाली चलचित्र हेर्न नेपालकै मधेसी र पहाडी मूलका दर्शक मात्र हुने गर्छन्, सीमापारिका दर्शक आउँदैनन् । भोजपुरी चलचित्र हेर्न भने मजदुर र टिनएजर्सको बढी भीड लाग्ने गरेको छ ।

फिल्म निर्माता/निर्देशक युवराज लामाको भनाइमा प्रदेश–२ मा पर्ने पूर्व–पश्चिम राजमार्गआसपास र वीरगन्जका हलमा मात्र नेपाली चलचित्र बढी चल्छन् । ‘त्यसबाहेकका क्षेत्रमा नेपाली चलचित्रको बजारीकरण नै गर्न सकेका छैनौँ, हामीले,’ लामा भन्छन् । मैथिली र भोजपुरी भाषी जनसंख्याको बाहुल्य रहेका क्षेत्रमा तिनै भाषामा डबिङ गरेर नेपाली चलचित्र चलाउन सकिने उनी बताउँछन् । जस्तो– दक्षिण भारतीय फिल्महरू भारतभर हिन्दीमा डबिङ गरेर चलाइन्छ । हिन्दी चलचित्र चीनलगायत मुलुकमा सबटाइटल दिएर चलाइन्छ । ‘अब त सबटाइटलकै खर्चमा सम्बन्धित भाषामै डबिङ गर्न सकिने भइसकेको छ,’ लामा भन्छन्, ‘त्यही काम नेपाली फिल्म मेकर्सले गर्न सकेका छैनौँ ।’

‘प्रदेश २ मा हामीले नेपाली चलचित्रको बजारीकरण नै गर्न सकेका छैनौँ । अब त सबटाइटलकै खर्चमा सम्बन्धित भाषामै डबिङ गर्न सकिने भइसकेको छ । त्यही काम पनि नेपाली फिल्ममेकर्सले गर्न सकेका छैनौँ ।’

अभिनेता दीपकराज गिरी भने विदेशी चलचित्रलाई कोटा प्रणालीमा लागू नगरेसम्म देशभर नेपाली चलचित्रको बजार विस्तार हुन नसक्ने दाबी गर्छन् । भन्छन्, ‘प्रदेश–२ मा एकातिर मैथिली र अर्कातिर भोजपुरी भाषीको बाहुल्य छ । भारतको बिहारमा दुवै भाषाका चलचित्र बन्छन्, ती चलचित्र यताका सिनेमाघरमा सजिलै भित्रिने गरेका छन् ।’ त्यसबाहेक जुन क्षेत्रमा नेपाली चलचित्रको बजार कमजोर छ, त्यहाँ लैजानुपर्छ भन्ने विषयमा सरकार र चलचित्र विकास बोर्डले ध्यान पु-याउन नसकेको उनको भनाइ छ । ‘राज्यले पनि संस्कृतिलाई प्राथमिकतामा राखेको छैन,’ उनी भन्छन् ।

प्रदेश–२ का आठवटा जिल्लामा २४ वटा सिनेमाघर सञ्चालनमा छन् । तीमध्ये सबैभन्दा बढी धनुषामा पाँचवटा छन् । महोत्तरी र सप्तरीमा एक–एकवटा हल छन् । सिरहामा तीनवटा फिल्म हल छन् । पर्साको वीरगन्जमा मात्र चारवटा हल छन् । बारामा चार, रौतहटमा दुई र सर्लाहीमा चारवटा हल छन् ।

स्वर्णिम चलचित्र महोत्सव
वीरगन्जमा बिहीबारदेखि ‘तराई पहाड हिमालको उत्सव’ भन्ने नाराका साथ ‘स्वर्णिम चलचित्र महोत्सव २०७६’ सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय आदर्श रंगशालामा महोत्सवको उद्घाटन गरिन् । महोत्सवको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय दायित्वमा चलचित्र क्षेत्र अग्रसर हुने विश्वास व्यक्त गरिन् ।

शनिबारसम्म चल्ने महोत्सवमा भाग लिन बलिउड सिनेमा उद्योगका चर्चित अभिनेता गोविन्दा पनि वीरगन्ज आएका छन् । आयोजक चलचित्र निर्माता संघका अनुसार तराई मधेसका कथा र कलाकारलाई पनि नेपाली चलचित्रमा समेट्नुपर्ने मान्यताका साथ महोत्सवको आयोजना गरिएको हो ।

महोत्सव मूल तयारी समितिका संयोजक विमल पौडेलका अनुसार नेपाली चलचित्रका कलाकारहरू शिव श्रेष्ठ, भुवन केसी, राजेश हमाल, नीर शाह, करिश्मा मानन्धर, गौरी मल्ल, निरुता सिंह, अनमोल केसी, प्रदीप खड्का, पल शाह, केकी अधिकारी, साम्राज्ञीराज्यलक्ष्मी शाहलगायतको पनि महोत्सवमा सहभागिता रहनेछ ।