Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
पदम बडाल
२०७५ पौष २७ शुक्रबार ०७:२४:००
Read Time : > 1 मिनेट
प्रदेश

दार्चुलाका स्थानीय निकायको ६ महिनाको खर्च शून्य

Read Time : > 1 मिनेट
पदम बडाल
२०७५ पौष २७ शुक्रबार ०७:२४:००

दार्चुलाका ९ स्थानीय तहमध्ये ८ स्थानीय तहको २४ पुससम्मको पुँजीगत खर्च शून्य देखिएको छ । गाउँका सिंहदरबारका रूपमा चिनिएका स्थानीय सरकारमध्ये नौगाड गाउँपालिकाबाहेक अन्य स्थानीय तहको आर्थिक वर्षको ६ महिना पूरा हुनै लाग्दा पनि पुँजीगत खर्च एक रुपैयाँ पनि हुन सकेको छैन । 

नौगाड गाउँपालिकाले २४ पुससम्म पुँजीगततर्फ २७ लाख ५० हजार रुपैयाँ खर्च गरेको छ ।  अन्य २ नगरपालिका र ६ गाउँपालिकाले एक रुपैयाँ पनि पुँजीगततर्फको रकम खर्च गर्न सकेका छैनन् ।

यहाँका चार गाउँपालिकाबाहेक अन्यले स्थानीय तहले कोष तथा लेखा नियन्त्रक कार्यालय दार्चुलामा प्रथम चौमासिकको फाँटबारीसमेत बुझाएका छैनन् । आर्थिक अनुशासन कायम गर्न प्रत्येक चौमासिकमा कोष तथा लेखा नियन्त्रक कार्यालयलाई फाँटबारी बुझाउनुपर्ने र दोस्रो चौमासिकसम्म ५० प्रतिशत प्रगति भएको हुनुपर्ने भनिएको छ ।

तर, जिल्लाका ८ स्थानीय तहले पुँजीगत रकम खर्च गर्न सकेका छैनन् भने २ नगरपालिका र ३ गाउँपालिकाले २४ पुससम्म चौमासिक फाँटबारी पनि बुझाएका छैनन् । हालसम्म नौगाड, व्यास, मार्मा र दुहुँ गाउँपालिकाले मात्रै कोष तथा लेखा नियन्त्रकको कार्यालयमा फाँटबारी बुझाएको कार्यालयका सूचना अधिकृत इन्द्रसिंह धामीले जानकारी दिए । 

 किन भएन खर्च ?
‘नीति तथा कार्यक्रम समयमै ल्याउन सकिएन, बजेट विनियोजनमा केही समय लाग्यो,’ महाकाली नगरपालिकाका प्रमुख हंसराज भट्टले भने, ‘उपभोक्ता समितिको गठन प्रक्रिया नै ढिलो सुरु भएकाले पुँजीगत खर्च नभएको हो ।’ वडाहरूबाट गरिनुपर्ने कार्यसम्पदान समयमै नभएका कारण र उपभोक्ता समिति गठन प्रक्रिया चलिरहेकाले हाललाई खर्च नदेखिएको उनले बताए । महाकाली नगरपालिकाका प्रशासकीय प्रमुख लोकबहादुर भण्डारीका अनुसार पुस मसान्तसम्म फाँटबारी बुझाउने र पुँजीगत खर्चको काम सुरु हुनेछ । 

पुँजीगत रकम खर्च हुने काम सुरु नै नभएकाले खर्च नदेखिएको शैल्यशिखर नगरपालिकाका लेखापाल शेरसिंह विष्टको भनाइ छ ।  फाँटबारी नपठाएकै कारण खर्च नदेखिएको माकिलार्जुन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिशसिंह साउदले बताए । उनले पुस अन्त्यसम्म खर्च देखिने जिकिर गरे । 

जिल्लामा सबैभन्दा पहिला उपभोक्ता समिति गठन गर्ने काम सुरु गरेको व्यास गाउँपालिकाले पनि हालसम्म पुँजीगत रकम खर्च गर्न सकेको छैन । बैंक स्थापनामा भएको ढिलाइ र कर्मचारीको टुंगो नलाग्दा खर्च गर्न नसकिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामदत्त जोशीले बताए  ।  

तिंकर सडकको खर्च १३ करोड  
८ स्थानीय तह र १३ सरकारी कार्यालयको २४ पुससम्मको पुँजीगत खर्च शून्य देखिए पनि दार्चुला–तिंकर सडक आयोजनाले भने यो अवधिमा १३ करोड ६८ लाख ८५ हजार ६ सय १८ रुपैयाँ ९८ पैसा खर्च गरेको छ ।

निर्माण व्यवसायीले पेस्की र भुक्तानीसमेत लगेकाले कार्यालयको पुँजीगत खर्च बढेको आयोजनाका सूचना अधिकृत इन्जिनियर दिनेश रैखोलाले जानकारी दिए । 

 प्रदेश कार्यलयको अवस्था पनि उस्तै 
सुदूरपश्चि प्रदेश सरकार मातहत रहने ५ कार्यालयमध्ये घरेलु तथा साना उद्योग विकास समिति र जलस्रोत तथ सिँचाइ विकास डिभिजन कार्यालय दार्चुलाबाहेक अन्यले यो अवधिमा पुँजीगत रकम खर्च गर्न सकेका छैनन् । साना उद्योग विकास समितिले यो अवधिमा ५ लाख ४४ हजार ६ सय ६५ र सिँचाइ सब डिभिजन कार्यालयले ४३ लाख ४५ हजार २ सय १९ रुपैयाँ खर्च गरेका छन् ।