मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ कार्तिक २२ शुक्रबार ०७:२०:००
Read Time : > 4 मिनेट
राजनीति

प्रतिनिधिसभाको एउटै पदमा २२ र प्रदेश सभाका तीन पदमा ४३ उम्मेदवार

Read Time : > 4 मिनेट
२०७६ कार्तिक २२ शुक्रबार ०७:२०:००

१४ मंसिरमा ४ पदका लागि हुने निर्वाचनमा ६५ उम्मेदवारले प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतिनिधिसभाको एक र प्रदेश सभाका तीन सिटका लागि निर्वाचन हुन लागेको हो । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभाको कास्की–२ मा २२, प्रदेश सभातर्फ भक्तपुर–१ (क)मा १९, बाग्लुङ–२(ख)मा १० र दाङ–३(ख)मा १४ जनाले उम्मेदवारी दर्ता गरे । 

दलको प्रतिनिधित्व गर्दै ४० र स्वतन्त्र २५ जनाले उम्मेदवारी दर्ता गरेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । प्रतिनिधिसभाको कास्की–२ तथा प्रदेश सभातर्फ रिक्त भक्तपुर–१(क), बाग्लुङ–२(ख) र दाङ–३(ख)मा बिहीबार बिहान १० बजेदेखि १ बजेसम्म मनोनयन दर्ता भएको हो । 

कास्की–२ मा विभिन्न दलका तर्फबाट ११ जना र स्वतन्त्र ११ गरी २२ जनाले उम्मेदवारी दर्ता गरेका छन् । श्रेष्ठका अनुसार कास्कीमा नेकपाकी विद्या भट्टराई, कांग्रेसबाट खेमराज पौडेल, समाजवादी पार्टीबाट धर्मराज गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोमबहादुर भण्डारी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)बाट श्रीमती गंगा मल्लले उम्मेदवारी दर्ता गरेका छन् । त्यस्तै, देशभक्त समाजबाट वीरबहादुर विश्वकर्मा, नेपाली कांग्रेस (बी.पी.)बाट चन्द्रबहादुर रानाभाट, साझा पार्टीबाट रजनी केसी, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, नेकपा (माले) बाट टेकनाथ भण्डारी, मंगोल नेसनल अर्गनाइजेसनबाट रियाज गुरुङले उम्मेदवारी दर्ता गराएका छन् । 

स्वतन्त्र रूपमा लक्ष्मीकुमारी भुजेल, सुनील भुसाल, सुनीलबहादुर कोइराला, उमनाथ गौतम, दीपक रेग्मी, रनबहादुर दमै, नवराज बाँस्तोला, यज्ञप्रसाद पंगेनी, कमलजंग कुँवर, जमुना शर्मा, र पुरुषोत्तम खनालले उम्मेदवारी दिएका छन् । कुँवर नेकपा कार्यकर्ता हुन् ।

 प्रदेश सभातर्फ भक्तपुर–१(क) मा १९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । दलका तर्फबाट नौ जना र स्वतन्त्र रूपमा १० जना गरी १९ जनाले उम्मेदवारी दर्ता गरेका हुन् । सत्तारुढ नेकपाबाट देवीप्रसाद ढकाल, कांग्रेसबाट कृष्ण भडेलले उम्मेदवारी दिए । साझा पार्टीबाट सुरज प्रधान, समाजवादी पार्टीबाट सुदर्शन मुनकर्मी, नेपाल मजदुर किसान पार्टीबाट निरज लवजू, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट श्यामप्रसाद नेपाल, नेकपा मालेबाट सुदर्शन लामिछाने, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट मिङमार लामा र नेपाली कांग्रेस (विपी) बाट मधुसुदन न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन् । 

स्वतन्त्र रूपमा कृष्णप्रसाद ह्योगो, जीवन नेपाली, कृष्णराम पोतामाहा, अर्जुन कोजू, उत्तम साखकर्मी, सुमना कार्की, संगीता पौडेल आचार्य, सुजाता देउजा, राकेश सुवाल, जीवनचन्द्र अधिकारी  गरी १० जनाले उम्मेदवारी दर्ता गरेका छन् । 

बाग्लुङ–२(ख)मा १० जनाले उम्मेदवारी दर्ता गराएका छन् । ८ जना दलबाट र दुई जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । सत्तारुढ नेकपा र राष्ट्रिय जनमोर्चाको तालमेलमा जनमोर्चाबाट खिमविक्रम शाही उम्मेदवार छन् । कांग्रेसबाट जितबहादुर शेरचनले उम्मेदवारी दिएका छन् । नेकपा कार्यकर्ता शेरमान घर्तीमगरले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

त्यस्तै, राप्रपा (संयुक्त) बाट निमबहादुर भण्डारी, समाजवादी पार्टीबाट अशोककुमार विक, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गणेशबहादुर कुँवर, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अनिलकुमार राई, राष्ट्रिय जनमुक्ति पार्टीबाट यामबहादुर आले र मंगोल नेसनल अर्गनाइजेसनबाट मित्रबहादुर मगर पनि उम्मेदवार छन् । स्वतन्त्र रूपमा सन्तोष भण्डारी र  शेरमान घर्तीमगरले मनोनयनपत्र दर्ता गराएका छन् । 

दाङ–३(ख)मा दलबाट १२ र स्वतन्त्र रूपमा दुई गरी १४ जनाको उम्मेदवारी परेको छ । नेकपाबाट विमलाकुमारी खत्री, कांग्रेसबाट केशवराज शर्मा, राष्ट्रिय जनमुक्ति पार्टीबाट धनराज विश्वकर्मा, नेपाल मजदुर किसान पार्टीबाट सुरेश परियार, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)बाट छोटीलाल थारू, नेपाल कम्युनिस्ट पार्टीबाट हरिप्रसाद डाँगी, समाजवादी पार्टीबाट डिल्लीबहादुर डाँगी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भूपाल रावत, मंगोल नेसनलबाट घनश्याम चौधरी, साझा पार्टीबाट शिवकुमार चौधरी, नेपाल लोकतान्त्रिक पार्टीबाट झरेन्द्रबहादुर खत्री र नेपाली कांग्रेस (विपी) बाट दीपककुमार धितालले उम्मेदवारी दिएका छन् । स्वतन्त्र रूपमा टीकाराम आचार्य र गोविन्द केसी पनि दाङमा उम्मेदवार छन् ।

उम्मेदवारीसँगै दलहरूको प्रदर्शन
गोविन्द सुवेदी/पोखरा

कास्कीमा दलहरूले उम्मेदवारी दिनुअघि र पछि पोखरा सहरका विभिन्न स्थानमा प्रर्दशन गरे । सत्तारुढ नेकपाले रत्नचोकभन्दा तल सडक डिभिजन कार्यालयअगाडि, कांग्रेसले मुस्ताङचोक र राप्रपाले पृथ्वीचोकमा चुनावी सभा गरे । स्वतन्त्र उम्मेदवारहरूले पनि -यालीसहित मनोनयन दर्ता गरेका थिए । 

७१ हजार आठ सय ७१ मतदाता
१४ मंसिरमा हुने उपनिर्वाचनमा कास्की–२ मा ७१ हजार आठ सय ७१ मतदाता छन् । कुल मतदातामध्ये ३३ हजार एक सय ६ जना पुरुष, ३८ हजार सात सय ६४ जना महिला र तेस्रो लिंगी एकजना रहेको निर्वाचन कार्यालय कास्कीका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए । यसअघि २१ मंसिर ०७४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा ७० हजार ६ सय ५१ जनाले मतदान गरेकामा आउँदो उपनिर्वाचनका लागि एक हजार दुई सय २० जना मतदाता बढेका हुन् ।

महानगरका ११ वडामा निर्वाचन
कास्की–२ निर्वाचन क्षेत्रका सबै भाग पोखरा महानगर क्षेत्रभित्र पर्दछन् । पोखराका ३३ मध्ये ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३ नम्बर वडाहरू निर्वाचन क्षेत्रका भाग पर्दछन् । निर्वाचनका लागि ३२ वटा मतदान स्थल र ८२ वटा मतदान केन्द्र रहनेछन् । ३२ मतदान स्थलमध्ये सबैभन्दा धेरै पोखरा १७ स्थित पार्दी मावि, पार्दीमा ५ हजार २८ र सबैभन्दा कम दीपज्योति आधारभूत विद्यालय पोखरा १६ मा ७ सय ६ जना मतदाता रहेका छन् । यसअघि ०७४ सालको निर्वाचनमा रवीन्द्र अधिकारीले २७ हजार २ सय ७ मत ल्याई विजयी हुँदा अधिकारीका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका देवराज चालिसेले १८ हजार ६ सय ६१ मत ल्याएका थिए ।

 ठूला दलको जित्ने होड, सानाको मत बढाउन जोड
कास्कीमा रोहितराज पराजुली/काठमाडौंमा रमेश दवाडी

कास्की–२ मा प्रतिनिधिसभा सदस्यका लागि हुने उपनिर्वाचनमा सत्तारूढ नेकपा र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । ठूला दलको प्रतिस्पर्धाबीच समाजवादी, साझा, विवेकशील र राप्रपाले मत बढाउने रणनीति लिएका छन् । उपनिर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि एक मात्रै क्षेत्र भएकाले कास्की–२ ले सबै दलको ध्यानाकर्षण गरेको छ । 

यसअघि तत्कालीन एमाले नेता रवीन्द्र अधिकारी यस क्षेत्रबाट दुईपटक निर्वाचित भएका थिए । नेकपाले रवीन्द्रकै पत्नी विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ भने कांग्रेसले स्थानीय पुराना नेता खेमराज पौडेललाई अघि सारेको छ । 

अघिल्लो चुनावी मतपरिणामअनुसार हालको नेकपाको प्रभाव देखिए पनि पछिल्लोपटक नयाँ पार्टीहरूले बढाएको  प्रभावलाई कम आँक्न मिल्दैन । ०७४ को प्रतिनिधिसभा निर्वाचनमा अधिकारीसँग कांग्रेसका देवराज चालिसे प्रतिस्पर्धामा थिए । अधिकारीले २७ हजार २ सय ७ मत र चालिसेले १८ हजार ६ सय ६१ मत प्राप्त गरेका थिए । 

कास्कीमा को बलियो ?
लोकप्रियता, अघिल्लो मतपरिणाम र भावनात्मक सम्बन्ध हेर्दा नेकपाकी भट्टराईको सम्भावना बलियो देखिन्छ । कांग्रेस उम्मेदवार पौडेल पुराना स्थानीय नेता हुन् । नेकपाको कार्यशैलीले मतदातामा परेको नकारात्मक असर र स्थानीय पाका नेता भएकै कारण पौडेलले जित्न सक्ने कांग्रेसको दाबी छ । 

कांग्रेसले पहिलो र दोस्रो जागरण अभियान टोलटोल र वडावडासम्म लगेको थियो । अभियानमा कांग्रेसले ‘उपनिर्वाचनमा कास्की २ मा कांग्रेस उम्मेदवारलाई विजयी गराऊँ’ भन्दै भोट मागेका थिए । स्थानीय तह गठन भएसँगै कास्की २ मा लेखनाथ–पोखरा महानगरका ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र २३ वडा समावेश छन् ।

 ठूला दललाई सानाको कैँची
नेकपाकी भट्टराई र कांग्रेसका पौडेललाई साना दलले प्रभाव पार्ने देखिन्छ । समाजवादी पार्टी नेपाल, विवेकशील नेपाली दल, साझा पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सीधा प्रभाव नपरे पनि मतान्तरमा भने प्रभाव पर्ने देखिन्छ । नेकपा र कांग्रेसको भोटमा यी दलले कैँची हान्नेछन् । साझा पार्टीका प्रवक्ता सूर्यराज आचार्यले सभामा नदेखिएर भित्रभित्रै समर्थन गर्नेहरू रहेको बताए । उनले नागरिक समाजको साथ रहेका कारण परिणाम आफ्नो पक्षमा आउने दाबी गरे । 

विवेकशीलका सञ्जीव भट्टराईले नेकपा र कांग्रेस मुख्य प्रतिस्पर्धी भएको स्विकारे । उनले पुरानो लेखनाथबाट विवेकशीलको पक्षमा मत आउने दाबी गरे । भने, ‘नेकपा र कांग्रेस हाम्रा प्रतिस्पर्धी हुन् । लेखनाथमा हाम्रो पार्टीको माहोल सकारात्मक देखिएको छ ।’ 

साना दललाई सकस
समाजवादी पार्टीका प्रदेश–४ का उपाध्यक्ष हेमबहादुर थापाले कांग्रेस र कम्युनिस्टको वैकल्पिक शक्ति समाजवादी पार्टी रहेको दाबी गर्दै उपनिर्वाचन चुनौती र अवसर दुवै भएको जानकारी दिए । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन श्रेष्ठले हिन्दूराष्ट्र र राजसंस्थाको एजेन्डामा चुनाव लडिरहेको बताए । श्रेष्ठले विगतका चुनावमा राप्रपाले रवीन्द्रलाई माया गरेर भोट दिए पनि अहिले त्यस्तो अवस्था नरहेको बताए । राप्रपा राम्रो परिणामतर्फ उन्मुख भइरहेको उनको भनाइ छ । 

समाजवादी पार्टीका उपाध्यक्ष थापाले समाजवादी पार्टीले बीचमै उम्मेदवार छाडेर नेकपा र कांग्रेस कुनै पार्टीलाई समर्थन नगर्ने बताए । तपाईंहरूको जित्ने अवस्था निकै कम छ नि भन्ने हाम्रो प्रश्नमा उनले भने, ‘समाजवादी सत्तारूढ पार्टी भए पनि बीचमै उम्मेदवार छाडेर कसैलाई सहयोग गर्दैन । संविधान संशोधनका लागि हामी सरकारमा सहभागी भएका हौँ । हामी सरकार पनि छोड्दै छौँ । कसैलाई सहयोग गर्दैनौँ । जे–जस्तो भए पनि चुनाव लड्छौँ । चुनाव जित्छु नै भनेर लडिन्छ ।’