मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका राैतहट
२०७६ कार्तिक २२ शुक्रबार ०७:२१:००
Read Time : > 2 मिनेट
मुख्य समाचार

यस्ताे छ जिल्ला न्यायाधीश दीपक ढकालको इजलासमा आलमले दिएकाे बयान 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका राैतहट
२०७६ कार्तिक २२ शुक्रबार ०७:२१:००


प्रश्न : नेपालको संविधानले तपाईं आफ्नोविरुद्ध बोल्न कर नलाग्ने र चुप लागेर बस्न पाउने मौलिक हक प्रदान गरेको छ । यदि तपाईंले आफ्नोविरुद्ध बोल्नुभयो भने त्यो तपाईंको विरुद्धमा प्रमाण लाग्ने कुराको जानकारी गराइएको छ । यसको मतलब बुझ्नुभयो नि ? 

उत्तर : नेपालको संविधानले आफ्नोविरुद्ध बोल्न कर नलाग्ने र चुप लागेर बस्न पाउने मौलिक हक प्रदान गरेको कुरा मलाई थाहा छ । मैले आफ्नो विरुद्ध बोल्यो भने मेरो विरुद्धमा प्रमाणमा लाग्ने कुरा मलाई बुझाउँदा बुझेँ । जानकारी पाएँ ।

प्रश्न : सो मुद्दाबाहेक तपाईंउपर फौजदारी मुद्दा परेको छ–छैन, परेको भए फैसला भई सजाय पाएको तथा हाल कारबाही अवस्थामा चलिरहेको छ–छैन ? 

उत्तर : प्रस्तुत मुद्दाबाहेक मउपर कुनै फौजदारी मुद्दा परेको छैन । कारबाही अवस्थामा नरहेको हुँदा सजाय पाउने कुरा भएन । कुनै सजाय पाएको छैन । 

प्रश्न : प्रतिवेदकहरू प्रहरी निरीक्षक पपु नायक, प्रनानि दीपककुमार गुप्ता तथा जाहेरवालाहरू श्रीनारायण सिंह राजपुत, रोक्साना खातुन, सफी अमम्द, शंकर भनिने गौरीशंकर राम चमारसँग चिजान, लेनदेन, कारोबार, रिसइबी छ–छैन ? 

उत्तर : प्रतिवेदकहरू प्रहरी निरीक्षक पपु नायक, प्रनानि दीपककुमार गुप्ता र जाहेरवालाहरू श्रीनारायणसिंह राजपुत, रोक्साना खातुन, सफी अमम्द, शंकर भनिने गौरी शंकर राम चमारलाई मैले चिनेको छैन । नचिनेको हुँदा नाता, लेनदेन, रिसइबी, कारोबार केही पनि छैन । 

प्रश्न : तपाईंउपर वादी नेपाल सरकारले दायर गरेको प्रस्तुत मुद्दाको अभियोगपत्रको प्रतिलिपि तपाईंले प्राप्त गर्नुभयो, पढ्नुभयो, अभियोगका सम्बन्धमा सोधिएको प्रश्नको जवाफ दिन तयार हुनुहुन्छ ? 

उत्तर : मउपर वादी नेपाल सरकारले दायर गरेको प्रस्तुत मुद्दाको अभियोगपत्रको प्रतिलिपि मैले प्राप्त गरेँ । अभियोगको सम्बन्धमा सोधिएको प्रश्नको जवाफ दिन म तयार छु । दिन सक्छु । 

प्रश्न :  तपाईं वारदात भएको भनिएको २७ चैत ०६४ बिहानदेखि बेलुकासम्म कुन कुन ठाउँमा के गर्दै हुनुहुन्थ्यो ? तपाईंको को–कोसँग भेटघाट भएको थियो ? 

उत्तर : वारदात भएको भनिएको मितिमा निर्वाचन प्रचारप्रसार गर्न बन्द थियो । त्यसैले म सो दिन बिहानदेखि बेलुकासम्म म राजपुरअन्तर्गतको आफ्नै निवासमा थिएँ । साथीहरूसँग निर्वाचनको अवस्थाबारे व्यवस्थापन गर्ने विषयमा छलफल गरी बसेको थिएँ । 

प्रश्न : अन्य प्रतिवादीहरू मोहम्मद महताब आलम, मोहम्मद मोबिन आलम, शेख भदई, शेख सेराज भनिने शेख सराज, शेख फजेल हक, सगिर आलम, शेख मलकार, गौरीशंकर साह, बद्री सहनी, मुक्ति साहसँग तपाईंको चिनजान छ छैन ? नाता सम्बन्ध पर्छ–पर्दैन ? चिनजान भए निजहरूको वतन खुलाइदिनुस् । 

उत्तर : प्रतिवादीमध्ये मोहम्मद महताब आलम मेरा सहोदर भाइ हो । अन्यलाई म चिन्दिनँ । 

प्रश्न : हत्या गरिएको भनिएको ओसी अख्तर, त्रिलोकप्रताप सिंह चिन्नुहुन्छ ? निजहरू तपाईंको चुनाव प्रचारमा थिए ? 

उत्तर : उनीहरूलाई मैले चिनेको छैन । त्यसो हुँदा ०६४ को चुनावमा मेरो प्रचारमा सहभागी गराएको छैन । 

प्रश्न : ०६४ को चुनावमा तपाईंको प्रचारमा भारतीय नागरिक पनि समेत थिए–थिएनन् ? 

उत्तर : ०६४ को चुनावमा मेरो प्रचारप्रसारमा भारतीय नागरिक कोही पनि सामेल थिएनन् । 

प्रश्न : १८ वैशाख ०६५ मा ओसी अख्तरकी आमा रोक्साना खातुनले दर्ता गराएको जाहेरी दरखास्तमा उल्लिखित व्यहोराको सम्बन्धमा तपाईंको राय के छ ? 

उत्तर : ओसी अख्तरकी आमा रोक्साना खातुनले दर्ता गराएको जोहरी दरखास्तमा उल्लिखित व्यहोरा सुनेँ । घटना भएको छैन । सबै काल्पनिक र झुटा हुन् । 

प्रश्न : ९ असार ०६५ मा अनुसन्धानका क्रममा गरेको बयान पढी सुनाइन्छ । त्यो बयान के हो ? त्यसमा लगाईको सही छाप तपाईंको हो ? 

उत्तर :  बयान सुनेँ । ठीक छ । बयान म आफैँले गरेको हुँ । बयानमा गरेको सहीछाप मेरै हो । 

प्रश्न : २० वैशाख ०६५ मा सराजुल मियाँको कागजमा उल्लिखित बयानका बारेमा तपाईंको भनाइ के छ ? 

उत्तर : २० वैशाख ०६५ मा सराजुल मियाँको कागजमा उल्लिखित बयान सुनेँ । घटना भएको छैन । सबै काल्पनिक र झुटा हुन् । 

प्रश्न : घटनाको प्रत्यक्षदर्शी सराजुलले झुटा व्यहोरा लेखाउनुपर्ने कारण के छ ? 

उत्तर : पटक–पटक सांसद तथा मन्त्री भएको र अहिले सांसद भएको हुँदा मेरो विरोधीहरूले सो कुरा देख्न सकेनन् । त्यसैले फसाएका हुन् । मेरा राजनीतिक पृष्ठभूमि सक्न यसो गरेका हुन् । 

प्रश्न : विस्फोट हुँदा घाइते सफी अहम्मदको घाउजाँच रिपोर्टमा उल्लिखित व्यहोराको सम्बन्धमा तपाईं के भन्नुहुन्छ ? 

उत्तर : वारदात भएको छैन । उनले कहाँ के गरेर घाइते भई कुन–कुन चोट लागी कहाँबाट उपचार गराई घाउँजाँच फराम भराए, मलाई थाहा छैन । 

प्रश्न :  राजा इँटा उद्योगमा भएको १५ वैशाख ०६५ मा भएको मुचुल्का पढी सुनाइन्छ । यसमा तपाईंको भनाइ के छ ? 

उत्तर : घटना भएको छैन । त्यसो हुँदा राजा इँटा उद्योगबाट प्रहरीले खरानी लगे–नलगेको थाहा भएन ।