Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७६ कार्तिक २२ शुक्रबार ०६:५८:००
Read Time : > 2 मिनेट
मुख्य समाचार

बहालवाला  मन्त्री नै फरार 

सुदूरपश्चिमका राज्यमन्त्री प्रकाश रावलको कार्यालयमा सम्पत्ति शुद्धीकरणको छापा 

Read Time : > 2 मिनेट
२०७६ कार्तिक २२ शुक्रबार ०६:५८:००

ठगी र किर्ते मुद्दामा फरार रहेका सुदूरपश्चिम प्रदेशका एक मन्त्रीमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन अघि बढाएको छ । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले आपराधिक गतिविधिबाट समेत सम्पत्ति आर्जन गरेको सूचनाका आधारमा विभागले विस्तृत छानबिन अघि बढाएको हो । 

रावलमाथि छानबिनका लागि विभागले नेपाल प्रहरीका एसपीको नेतृत्वमा विशेष छानबिन टोली गठन गरेको छ । टोलीले बुधबार र बिहीबार मन्त्रीको कारोबारसम्बन्धी विभिन्न कागजपत्र जफत गरेको छ । एसपी कमल थापा नेतृत्वको टोली केही दिनयता सुदूरपश्चिममै बसेर उनीमाथि छानबिन थालेको हो । बहालवाला मन्त्रीमाथि विभागले यसरी विस्तृत छानबिन गरेको यो पहिलोपटक हो । 

मन्त्री रावलविरुद्ध गत ७ साउनमै जिल्ला अदालत कञ्चनपुरमा ठगी तथा किर्ते मुद्दा दायर भइसकेको छ । सोही मुद्दाको ‘सम्बद्ध मुद्दा’ का रूपमा सम्पत्ति शुद्धीकरणले उनको सम्पत्ति छानबिन थालेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले फरार अभियुक्तका रूपमा उनीविरुद्ध मुद्दा दायर गरेको थियो । अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरे पनि प्रहरीले पक्राउ गर्न चासो दिएको छैन । कञ्चनपुरका प्रहरी प्रमुख एसपी दिनेश आचार्यले मन्त्री रावलविरुद्ध मुद्दा दायर भएको स्विकारे । ‘पहिले नै हाजिरी जमानीमा छाडिएको रहेछ,’ उनले भने, ‘त्यही भएर पछि हामीले पक्राउ गर्न नमिलेको हो ।’ 

साढे १५ करोड बिगोदाबीसहित मुद्दा दायर
जनज्योति एजुकेसन फाउन्डेसनका नामको सेयर बिक्रीमा किर्ते र ठगी गरेको भन्दै उनीसहित ३६ जनाविरुद्ध मुद्दा दायर भएको हो । सेयर ट्रान्सफर गरेको नक्कली कागजपत्रका आधारमा उनले पैसा लिएका थिए । १५ करोड ६७ लाख रुपैयाँ बिगोदाबी गरी उनीविरुद्ध मुद्दा दायर भएको थियो । जसमा कम्पनी रजिस्ट्रारको कार्यालयका कर्मचारीको समेत मिलेमतो खुलेपछि उनीहरूलाई समेत प्रहरीले प्रतिवादी बनाएको छ । मुद्दा दायर गरिएकाहरूमा धेरै कम्पनीकै सञ्चालकहरू छन् । 

रावलको समेत लगानीमा २०६१ सालमा जनज्योति प्रालि नामक कम्पनी दर्ता भएको थियो । १३ पुस २०७४ मा त्यसलाई जनज्योति एजुकेसन फाउन्डेसन बनाइएको थियो । सोही कम्पनीमार्फत महेन्द्रनगरमा जनज्योति बहुमुखी क्याम्पस सञ्चालन गरिएको छ । कम्पनीको सेयर बिक्रीका नाममा पैसा लिएर सेयर नदिएपछि मुद्दा परेको हो । तर, फौजदारी मुद्दा दायर हुँदासमेत उनी सुरक्षाकर्मीकै सुरक्षामा रहँदै आएका छन् । विभागले पनि अनुसन्धानमा तीव्रता दिएको छ । 

तीन दिन लगाएर कागजपत्र संकलन 
विभागको टोलीले तीन दिन लगाएर राज्यमन्त्रीको सम्पत्तिसम्बन्धी कागजपत्र संकलन गरेको छ । मालपोत कार्यालय, यातायात कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, कर कार्यालयबाट सबै कागजपत्रहरू संकलन गरिएको हो । प्रमाण लोप गर्न सक्ने भएकाले राज्यमन्त्रीकै कार्यालयमा समेत छापा हानेर केही कागजपत्र लिइएको स्रोत बताउँछ । उनको टिप्पर तथा इँटाभट्टामा समेत लगानी रहेको खुलेको छ । उनको सबै चल–अचल सम्पत्ति विभागले रोक्का राखेको छ । बैंक खाता तथा सम्पत्ति रोक्का राखेर राज्यमन्त्री रावलमाथि छानबिन थालिएको विभागका महानिर्देशक रूपनारायण भट्टराईले बताए ।


प्रहरीले थाहै नदिई मुद्दा चलायो, राजीनामा दिन्नँ : मन्त्री रावल 

जनज्योति प्रालिका २९ सेयरधनीमध्ये म पनि एक साधारण सदस्य हुँ । म कम्पनीको बोर्डमा छैन । मैले कुनै सेयर बेचेको पनि छैन । बोर्डमा नभएको मान्छेले कसरी ठगी र किर्ते गर्न सक्छ ? त्यस्तो गर्न त म कार्यकारी पदमा हुनुपर्‍यो, लेनदेन भएको हुनुपर्‍यो, मेराविरुद्ध कुनै प्रमाण छैन । सुरुमा प्रहरीमा चारजनाविरुद्ध जाहेरी परेको रहेछ, त्यसमा मेरो नाम छैन । पछि, प्रहरीले सोलोडोलो सबै सेयर सदस्यविरुद्ध मुद्दा चलाएको रहेछ । प्राकृतिक न्यायको सिद्धान्तअनुसार पनि जोविरुद्ध मुद्दा चलाउने हो, उसलाई जानकारी दिनुपर्ने हो, त्यो भएन । तैपनि अदालतको सम्मान गर्छु । अदालतमा उपस्थित भएर सबै कुरा बताउनेछु । तर, मुद्दा पर्दैमा राजीनामा दिने कुरा आउँदैन । किनकि यसमा मेरो कुनै गल्ती छैन । मविरुद्ध कुनै प्रमाण छैन । गल्ती गरेको लागेको भए त पहिले नै मैले राजीनामा दिइसक्थेँ । सम्पत्ति शुद्धीकरणले गरेको छानबिनबारे जानकारी छैन ।