रेखा शाहको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । ‘पछ्यौरी भिजायो सिमसिमे पानीले’ बोलको गीतको भिडियो उनको आफ्नै युटुब च्यानलमार्फत सार्वजनिक भएको हो ।
गीतमा हरि लम्सालको संगीत रहेको छ । भूपेन्द्र खड्काको शब्द रचना रहेको सो गीतमा प्रेमप्रणयका पुरुष मनोभावलाई प्रस्तुत गरिएको छ । आफ्ना अघिल्ला गीतहरूजस्तै यो गीत पनि लोकप्रिय हुने र स्रोता तथा दर्शकको माया पाउनेमा आफू विश्वस्त रहेको गायिका शाह बताउँछिन् ।
गोविन्द राईको कोरियोग्राफी रहेको सो गीतमा नेपाली म्युजिक भिडियोमा मोडेल अन्जली अधिकारी र महेश खड्का फिचर्ड छन् । भिडियोलाई नितिन चन्दले निर्देशन गरेका छन् । सो भिडियोलाई दिप्सन बस्नेतले छायांकन र सम्पादन गरेका हुन् ।
१५ वर्षको उमेरमा ’सिमसिमे पानीमा’ बोलको गीत गाएर रेडियो नेपालले आयोजना गरेको देशव्यापी लोकगीत प्रतियोगितामा प्रथम भएकी थिइन् । त्यसयता उनी निरन्तर संगीत क्षेत्रमा तल्लिन छिन् ।
समाज सेवामा समेत सक्रिय गायिका शाहका आधा दर्जन गीति एल्बम प्रकाशित छन् ।