सफल मोडल बन्न अभिनेता प्रशान्त ताम्राकारदे दिए ५ टिप्स
भनिन्छ, जीवनशैलीलाई प्रस्तुत गर्ने कला मोडलिङ हो । मोडलिङ नयाँँ पुस्तालाई बदलिँदो संसारसँग अपडेट गराइराख्ने विधा हो । विश्वव्यापीकरणसँगै नेपालमा पनि मोडलिङ एउटा छुट्टै विधाका रूपमा विकसित भएको छ । विशेषगरी, युवापुस्ता यसप्रति आकर्षित भएका छन् । नेपालका तर्फबाट मोडलिङमा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता (म्यान हन्ट)मा दशकौँअघि भाग लिएका थिए, प्रशान्त ताम्राकारले । उनै प्रशान्तलाई ‘सफल मोडल बन्न के–के कुरा आवश्यक छ’ भनेर हामीले जिज्ञासा राख्यौँ । उनले बताए :
१ आकर्षक व्यक्तित्व
मोडलिङमा शारीरिक बनावट (फिगर)लाई विशेष महत्व दिइन्छ । हाइट, सौन्दर्यजस्ता कुराले समेत मोडलको दक्षता जाँचिन्छ । यसर्थ, सफल मोडल बन्न आकर्षक व्यक्तित्व हुन आवश्यक छ । यसका लागि फिटनेसमा ध्यान दिनुपर्छ । सधैँ फिट रहन खाना, व्यायाम र जिमदेखि जीवनशैलीसम्ममा विशेष ध्यान दिनुपर्छ । साथै, छाला र कपालको सौन्दर्य पनि कायम राख्नुपर्छ ।
२ मिहिनेत
सफल हुनुको पछाडि मिहिनेतको ठूलो भूमिका रहन्छ । नेपालको परिपे्रक्षमा मोडल बन्न झनै अप्ठ्यारो छ । तसर्थ, काममा कडा परिश्रम र मिहिनेत गर्न एकदमै जरुरी छ । मोडलिङले हजारौँ विषय समेट्ने भएकाले यसमा भएका प्रत्येक विषवस्तुप्रति जानकार रहनुपर्छ । यद्यपि, आफ्नो इच्छाशक्तिलाई मिहिनेतमा बदल्ने हो भने सफल मोडल बन्न सकिन्छ ।
३बौद्धिकता
मोडलिङमा ‘ब्रेन विथ ब्युटी’ सूत्र धेरै हदसम्म लागू हुने गर्छ । एउटा मोडल शारीरिक सौन्दर्यमा मात्र सीमित नभई उसमा आवश्यक ज्ञान पनि हुन आवश्यक छ । समाजमा भइरहेका देशको इतिहास, समाजको गति र परिवेशको ज्ञान हुनुपर्छ । यसबाहेक आफ्नो पेसाप्रतिको ज्ञान अत्यावश्यक छ ।
४कडा अभ्यास
सफल मोडल बन्न दैनिक अभ्यास गर्न जरुरी छ । आफ्नो पेसामा अभ्यस्त हुनुपर्छ । यसर्थ, सकेसम्म बढीभन्दा बढी अभ्यास गर्नुपर्छ । यसले काममा दक्षता ल्याउनुका साथै आत्मविश्वाससमेत बढाउँछ ।
५मिलनसार
एउटा मोडलले कोरियोग्राफर, फोटोग्राफर, फेसन डिजाइनरदेखि कलारिता विधाका मानिससँग मिलेर काम गर्नुपर्ने हुन्छ । यसर्थ, सफल हुनलाई यी सबै व्यक्तित्वसँग मिल्न सक्नुपर्छ । त्यस्तै, मोडललाई समाजमा सेलेब्रिटीको नजरले पनि हेरिने भएकाले उसको स्वभाव मिलनसार हुन आवश्यक छ । सुरुवाती समयमा अझ आवश्यक छ ।