मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ कार्तिक २१ बिहीबार ०८:५८:००
Read Time : > 1 मिनेट
विश्व

लरी-कन्टेनरमा ३९ शव फेला प्रकरण : किन हुँदै छ अनुसन्धानमा ढिलाइ ?

Read Time : > 1 मिनेट
२०७६ कार्तिक २१ बिहीबार ०८:५८:००

लरीमा भेटिएका शवमध्ये ३१ पुरुष र आठ महिलाको रहेको अधिकारीले जनाएका छन् । मृत्युको कारण पत्ता लगाउन शव परीक्षण भइरहेको उनीहरूको दाबी छ ।

दुई साताअघि बेल्जियमबाट बेलायत पुगेको भनिएको एउटा लरीको कन्टेनरमा ३९ जनाको शव भेटिएको विषय अझै रहस्यमय बनेको छ । सुरुमा लरीभित्र भेटिएका सबै शव चिनियाँको भएको बताइए पनि यसै साता प्रहरीले सार्वजनिक गरेको अर्को विवरणमा ती शव भियतनामीको हुन सक्ने अनुमान गरिएको छ । प्रहरीले भेटिएका शव कुन देशका नागरिकको हो भन्नेबारे अझै पुष्टि गर्न सकेको छैन ।

अझै हुन सकेन सनाखत
हराएका भनिएका ८ भियतनामीका आफन्तले लरीभित्रका शव आफ्ना प्रियजनको हुन सक्ने यसअघि नै बताए पनि ती शवको सनाखत तथा हस्तान्तरण प्रक्रिया सुरु हुन सकेको छैन । मर्नुअघि बेल्जियमबाट आफूहरूलाई एसएमएस गरेको हुन सक्ने हराइरहेका दुईजना भियतनामीका आफन्तले बताएका छन् । उनीहरूले बाबुआमालाई सन्देश पठाउँदै सास फेर्न कठिनाइ भएको बताएको मेसेज यसैसाता सार्वजनिक भएको थियो । तर, सो सन्देशको अनुसन्धानबारे प्रहरीले केही जानकारी दिएको छैन । बेलायतस्थित भियतनामको दूतावासले लरी घटनाबारे नजिकबाट नियालिरहेको बताएको छ । तर, भियतनाम सरकारबाट कुनै औपचारिक प्रतिक्रिया आएको छैन । चीनले पनि त्यसबारे खासै चासो नदिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

जारी छ अनुसन्धान
मानव तस्कर गर्न खोजेको आशंकामा लरी चालक आयरल्यान्डका नागरिकलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरेको जनाएको छ । उनी पक्राउ परेको दुई साता बित्दा पनि प्रहरी कुनै निष्कर्षमा पुग्न सकेको छैन । सो विषयमा अनुसन्धान गर्न भियतनामी प्रहरीले आठजनालाई पक्राउ गरेको छ । लरीमा मारिएका सबै व्यक्ति भियतनामी भएको बेलायती प्रहरीले अनुमान गरिरहेका वेला भियतनामी प्रहरीले घटनासँग सम्बन्धित भएको आशंकामा आठजनालाई पक्राउ गरेको छ । बेलायतको राजधानी लन्डनदेखि पूर्वतिर पर्ने ग्रेज एसेक्सको औद्योगिक क्षेत्रमा फ्रिजयुक्त कन्टेनरभित्र ती ३९ शव फेला परेका थिए ।

अक्टोबर २३ मा भेटिएका शवमध्ये ३१ पुरुष र आठ महिलाको रहेको अधिकारीले जनाएका छन् । मृत्युको कारण पत्ता लगाउन शव परीक्षण भइरहेको जनाइएको छ । तर, उनीहरूको अनुसन्धान समाप्त नभएकाले घटनाको यथार्थ विवरण र मृतकको सनाखत हुन नसकेको प्रहरीको दाबी छ । भियतनाम राज्यद्वारा सञ्चालित टेलिभिजनसँगको कुराकानीका क्रममा भियतनामी एक प्रहरी अधिकारीले घटना निकै पीडादायक भएको बताएका छन् । उत्तरी आयरल्यान्डका ट्रक चालक मोरिस रबिन्सनलाई बेलायती प्रहरीले सोही दिन पक्राउ गरेको थियो ।

तस्करीको आशंका
लरी बेल्जियमको पुरफिल्ट टर्मिनलमा पुग्नुभन्दा दुई घन्टाअघि बाबुआमालाई एउटा मार्मिक मेसेज आएको थियो । भियतनामी भाषामा लेखिएको सो मेसेजमा भनिएको थियो, ‘बुबाआमा ! म निकै नै दुःखी छु, विदेश जाने मेरो यात्रा विफल भयो ।’

ती व्यक्ति तस्करमार्फत गैरकानुनी ढंगले तेस्रो मुलुक जाँदै गरेको मेसेजले संकेत गर्छ, तथापि यसको स्वतन्त्र पुष्टि हुन बाँकी नै छ । सन्देशमा अगाडि भनिएको छ, ‘म मर्र्दै छु किनकि मैले सास फेर्न सकिरहेको छैन । म हजुरहरूलाई धेरै माया गर्छु । म निकै दुःखी छु आमा ।’ गैरकानुनी ढंगले विदेश लगिएको र मारिएको आशंकासँगै पीडितका आफन्तलाई तस्करले रकम फिर्ता गरेको बिबिसीले जनाएको छ । तर, तस्करले उनीहरूलाई कहाँ पुर्‍याउन चाहन्थे ? कति रकम फिर्ता गरे ? सो विषयमा पीडितका आफन्तसमेत मौन छन् । कानुनी झमेलामा पर्ने आशंकामा अन्य पीडितसमेत मौन रहेको हुन सक्ने अनुमान गरिएको छ ।