मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ कार्तिक २१ बिहीबार ०६:५१:००
Read Time : > 1 मिनेट
प्रदेश

बनेपाको फोहोर व्यवस्थापन विवाद चर्कंदै

Read Time : > 1 मिनेट
२०७६ कार्तिक २१ बिहीबार ०६:५१:००

बनेपा नगरपालिकाको फोहोर व्यवस्थापन विवाद चर्कंदै गएको छ । सहमति खोज्न बुधबार बोलाइएको बैठक सबैभन्दा ठूलो दल नेकपाले बहिष्कार गरेको छ । 
बनेपा नगरपालिका–९ को ठकुरीमा फोहोर जलाउने मेसिन राख्ने नगरपालिकाको प्रयासमा स्थानीयले अवरोध गर्दै आएका छन् । समाधान खोज्न बुधबार राजनीतिक दलको संयुक्त बैठक बसेको थियो ।

बैठकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेपा नगरका प्रतिनिधि भने उपस्थित भएनन् । अन्य दलका प्रतिनिधिले फोहोर व्यवस्थापनका लागि अर्को स्थानमा पहल गर्नुपर्ने धारणा राखे । कांग्रेस बनेपा सभापति राम जोशी, राप्रपा संयुक्तका नगर अध्यक्ष राहित बादे, समाजवादीका रोहितपवन कारञ्जित, नेकपा माओवादी क्रान्तिकारीका रौरभराज कायस्थ सहभागी थिए ।

यस्तै, नेमकिपाका नगर अध्यक्ष त्रिरत्न मानन्धर, राजपाका नगर अध्यक्ष श्यामप्रसाद सेवाचार्य, विवेकशील पार्टीका विजय लामा र राप्रपा नेपालका नगर अध्यक्ष अनन्तप्रसाद दाहाल बैठकमा सहभागी थिए । उनीहरूले संयुक्त विज्ञप्ति जारी गरी फोहोर व्यवस्थापनका लागि अर्को उपयुक्त स्थानको खोजी गर्न अपिल गरेका छन् । 

 दुईतिहाइको दम्भ  देखाएको आरोप
संयुक्त विज्ञप्तिमा वातावरण र सामाजिक परीक्षण नगरी जापानिज प्रविधिको उक्त मेसिन नराख्न स्थानीयले लगातार अनुरोध गर्दा दुईतिहाइको दम्भ र प्रहरी प्रशासनको बलमा नेकपाले जबर्जस्ती गर्न खोजेको आरोप लगाइएको छ । स्थानीयमाथि केही दिनअघि भएको प्रहरी दमनको पनि उनीहरूले भत्र्सना गरेका छन् ।

अपिलमा सो स्थान फोहोर व्यवस्थापन गर्न उचित हो–होइन भन्ने प्राविधिक रिपोर्टविना फोहोर जलाउने मेसिन नराख्न भनिएको छ । उक्त स्थान पानीको मुहान र बस्तीनजिक रहेको तथा नजिकै अन्तर्राष्ट्रिय सांस्कृतिक भवन निर्माणस्थल रहेकाले पनि अनुपयुक्त रहेको ठहर गरिएको छ । 

 घाइतेको उपचार खर्च माग
सोमबार भएको प्रहरी दमनमा परी घाइते भएकाहरूको सम्पूर्ण उपचार खर्चको माग पनि गरिएको छ । उक्त अपिल बिहीबार जिल्ला प्रशासन कार्यालय काभ्रेमा पेस गरिने कांग्रेसका नगरसचिव महेश कर्माचार्यले बताए । बनेपा नगरपालिकाले वडा नम्बर ९ को ठकुरीगाउँमा रहेको आफ्नै जग्गामा फोहोर जलाउने मेसिन राख्ने तयारी गरेपछि स्थानीयले विरोध गर्दै आएका छन् । गत मंगलबार मेसिन राख्ने स्थान सम्याउन गएको डोजरमाथि स्थानीयले ढुंगामुढा गरेका थिए । त्यसक्रममा प्रहरीसँग झडप हुँदा थुप्रै स्थानीय घाइते भएका थिए । 

 सर्वदलीय बैठकले निकास दिएन
यसअघि विवाद समाधान गर्न जिल्ला प्रशासन कार्यालय काभ्रेले सर्वदलीय बैठक राखेको थियो । बैठकमा कांग्रेस नेता कञ्चनचन्द्र बादेले नोट अफ डिसेन्ट लेखेका थिए भने राप्रपा केन्द्रीय सदस्य सवर प्रजापति र समाजवादी पार्टीका काभ्रे अध्यक्ष शिशिर भण्डारी निर्णयपुस्तिकामा हस्ताक्षर नै नगरी बाहिरिएका थिए । ठकुरीगाउँमा नगरपालिकाले केही वर्षअगाडि जर्मन सरकारको सहयोगमा कृषि प्रयोजनका लागि ६३ रोपनी जग्गा खरिद गरेको थियो । सोमध्ये २५ रोपनीमा कला सांस्कृतिक भवन निर्माणको तयारी भइरहेको छ । 

 वडाध्यक्षसहित पाँचजनालाई पक्राउ पुर्जी
फोहोर जलाउने मेसिन राख्ने ठाउँ सम्याउन गएको डोजरमाथि आक्रमण गरी क्षति पु-याएको भनी बनेपा नगरपालिकाले वडाध्यक्ष शेरबहादुर सुवालसहित पाँचजनाविरुद्ध कानुनी कारबाहीको बाटो अवलम्बन गरेको छ । नगरपालिकाको उजुरीपछि प्रहरीले उनीहरूलाई पक्राउ गर्न पुर्जी काटिसकेको स्रोतले बतायो । यसअघि संघर्ष समितिका उपाध्यक्ष डम्बर लामालाई प्रहरीले पक्राउ गरी सोधपुछ गरेको थियो । लामा पक्राउपछि स्थानीय महिलाले जिल्ला प्रहरी कार्यालय घेराउ गरेका थिए ।