मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ कार्तिक २० बुधबार १०:४९:००
Read Time : > 1 मिनेट
प्रदेश

फेवाताललाई बिर्साउने बर्जुतालमा पर्यटक बढ्दै

Read Time : > 1 मिनेट
२०७६ कार्तिक २० बुधबार १०:४९:००

पोखराको फेवाताल बिर्साउने सुनसरीको बर्जु गाउँपालिका– ६ मा रहेको बर्जुताल पर्यटकको रोजाइमा पर्न थालेको छ । प्रदेश नम्बर १ कै सबैभन्दा ठूलो बर्जुताल एक सय ५१ बिगाहा क्षेत्रफलमा रहेको छ भने सय बिगाहा पानीले ढाकेको छ ।

तराईमा गर्मी सकिएर चिसो मौसमको सुरुवात भएसँगै बर्जुताल क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक आउने क्रम बढेको छ । बर्जुताल क्षेत्रमा पिकनिक खान आउने पनि बढ्दै गएका छन् । धार्मिक तथा पौराणिक महत्वको बर्जुताल संरक्षणमा केही वर्षयता स्थानीयले चासो देखाएका छन् । जसका कारण तालको स्वरूप नै फेरिएको छ । पछिल्लोसमय बर्जुताल क्षेत्रमा पिकनिक खानेसँगै अध्ययन, अनुसन्धानका लागि आउने निकै बढेका छन् ।

सरकारी उदासीनताका कारण लामो समयदेखि संरक्षणविहीन बनेको बर्जुताल खुम्चिँदै गएको थियो । तर, बर्जुताल संरक्षणमा स्थानीयले नै चासो दिएपछि ताल क्षेत्रमा धमाधम विकासका कार्य हुन थालेका छन् । जसका कारण तालको संरक्षणसँगै मुहार नै फेरिएको छ । तीन/चार वर्षयता चहलपहल निकै नै बढेर गएको स्थानीय चूडामणि चौधरीले बताए ।

विराट राजाको दरबार, गौशाला अनि चरन क्षेत्रसँगै वनबास गएका पाण्डवले तालको पानी पिउँदा बेहोस भएकोजस्ता धार्मिक कथनसँग तालको सम्बन्ध जोडिएको किंवदन्ती छ । बर्जुताल केही वर्षअगाडिसम्म संरक्षण अभावमा उजाड र घासे मैदानमा परिणत हुँदै गएको थियो । सिमसार क्षेत्रसमेत रहेको बर्जुतालमा बाह्रै महिना जमिनमुनिबाट पानी उम्रिने गर्छ । जसका कारण ताल सुक्दैन । अहिले संरक्षण सुरु गरिएपछि तालको क्षेत्र पनि बढ्ने देखिएको छ ।

सिमसार भएकाले बर्जुताल क्षेत्र जलचर तथा अन्य प्राणीको पनि बासस्थान हो । यहाँ विभिन्न प्रजातिका चरा आउने गरेका छन् । बर्जुताल जैविक विविधताले प्रदेश नम्बर १ मै राम्रो मानिन्छ । वातावरणविज्ञ रामचन्द्र अधिकारीले भने, ‘तालको संरक्षणमा सरकारले पनि चासो दिनुपर्छ ।’ तालको संरक्षण तथा प्रचार–प्रसार गर्न सके पर्यटनसँगै आम्दानीको राम्रो स्रोतसमेत बन्ने उनले बताए ।

चिल्ड्रेनपार्क तथा पोखरीको बीचमा निर्माण गरिएको मन्दिरले बर्जुतालले फेवातालको झल्को दिने गरेको छ । तालको बीचमा निर्माण गरिएको मन्दिरले तालको शोभा बढाएको स्थानीय रामनारायण चौधरीले बताए । ताल क्षेत्रमा चाँडै भ्युटावर निर्माण गरिने बर्जु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताले बताए । पर्यटकलाई थप आकर्षित गर्न भ्युटावर निर्माण गर्न लागिएको उनले बताए । तालमा बोटिङको सुविधासमेत रहेकोमा केही समयदेखि बोटिङ भने बन्द रहेको छ ।