मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
उज्वल काफ्ले काठमाडाैं
२०७६ कार्तिक १९ मंगलबार ०९:१२:००
Read Time : > 1 मिनेट
नयाँCity

सहर जोड्ने लक्जरी बस

Read Time : > 1 मिनेट
उज्वल काफ्ले काठमाडाैं
२०७६ कार्तिक १९ मंगलबार ०९:१२:००

बसमै फ्री वाइफाई, आरामदायी सिट, वातानुकूलित सुविधा, पिउने पानी, टेलिभिजनमा फिल्म, अनलाइन टिकेटिङ । पछिल्लो समय काठमाडौंबाट देशका प्रमुख सहरहरूमा सञ्चालन हुने लामो दुरीका बसले थपिरहेका सुविधा हुन्, यी । मुलुकभरका सहर जोड्ने यी बसले विदेशकै झल्को दिने गरी यात्रुलाई सुविधा उपलब्ध गराउने प्रयास गरिरहेका छन् ।

काठमाडौं–पोखरा रुटमा चल्ने बाबा एड्भेन्चर ट्राभल्स एन्ड टुर्सका बस तिनैमध्येका हुन् । यो कम्पनीसँग १३ वटा बस छन् । तीमध्ये चारवटाले नियमित यात्री ओसार्छन् । बाँकीलाई भने रिजर्भमा मात्र सञ्चालन गर्ने गरिएको छ । ‘हाम्रा बस पूर्ण वातानुकूलित छन्,’ कम्पनीको मार्केटिङ हेरिरहेका नारायण खनाल भन्छन्, ‘निःशुल्क वाइफाई र पिउने पानी उपलब्ध छ ।’ प्याकेजमा टिकट काट्दा खाना, खाजालगायत सुविधा पनि दिइने गरेको छ । लन्चसहितको प्याकेजमा एक हजार दुई सय र विनालन्च आठ सय रुपैयाँ भाडा लिने गरेको छ ।

अनलाइनमार्फत टिकट काट्न सकिन्छ । उक्त कम्पनीका बसमा सेप्टेम्बर, अक्टोबर र नोभेम्बरमा विदेशी पर्यटक बढी हुन्छन् भने अन्य समयमा नेपाली यात्री । यस्तै, जगदम्बा ट्राभल्सले लक्जरी बस सञ्चालनमा ल्याएको पाँच वर्ष भयो । यस कम्पनीले पोखरामा दिवा र रात्रि सेवामा नियमित बस सञ्चालन गर्छ । त्यसबाहेक लुम्बिनी, विराटनगर, धरान, काँकडभिट्टा र बाग्लुङसम्म यस कम्पनीका बस जान्छन् । ३० सिटका बसमा एयर होस्टेसको शैलीमा महिला कर्मचारीहरू राखिएको छ । काठमाडौं–वीरगन्ज रुटमा पनि यस कम्पनीका बस चल्छन् ।

फ्री वाइफाई, आरामदायी सिट, वातानुकूलित सुविधा, पिउने पानी, टेलिभिजनमा फिल्म, अनलाइन टिकेटिङ । पछिल्लो समय काठमाडौंबाट देशका प्रमुख सहरहरूमा सञ्चालन हुने लामो दूरीका बसले थपिरहेका सुविधा हुन्, यी ।

कम्पनीका सदस्य केशवप्रसाद अधिकारीका अनुसार जगदम्बाका बसमा फ्री वाइफाई, टिभी, बाथरुमलगायत सुविधा छन् । कम्पनीकै वेबसाइट, ई–सेवा र हाम्रो यात्रा डटकमलगायत माध्यमबाट टिकट काट्न सकिने सुविधा पनि छ । पर्यटकीय मौसममा विदेशी र अन्य वेलामा आन्तरिक पर्यटकबाट भरिभराउ रहन्छन्, यस कम्पनीका बसहरू । कम्पनीका ४८ मध्ये १८ वटा बसमा लक्जरी सुविधा छ । 

काठमाडौंबाट झापा, मोरङ र सुनसरीका सहरहरूका यात्रीमा मकालु यातायातप्रति विश्वास देखिन्छ । काठमाडौंबाट धरान, विराटनगर, काँकडभिट्टालगायत सहरसम्म यस कम्पनीका ६ वटा वातानुकूलित बस चल्छन् ।

करिब ६० वटा बसमध्ये बाँकी सबै डिलक्स सुविधाका छन् । कम्पनीले वातानुकूलित बसमा फ्री वाइफाईको सुविधा भने भरपर्दो हुन नसकेका कारण हटाएको छ । अनलाइन र काउन्टर दुवै प्रकारबाट टिकट बिक्री गर्ने गरेको छ, मकालुले । ‘सार्वजनिक यातायातमा बढीभन्दा बढी सुविधा अनिवार्यझैँ हुँदै गएको छ,’ मकालु यातायातका निर्देशक तुलसीमान सिंह भन्छन् ।