१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नरेन्द्रजंग पिटर 
२०७६ कार्तिक १९ मंगलबार ०८:१५:००
Read Time : > 3 मिनेट
दृष्टिकोण

योद्धा र आन्दोलनको अवसान

Read Time : > 3 मिनेट
नरेन्द्रजंग पिटर 
२०७६ कार्तिक १९ मंगलबार ०८:१५:००

हिजो मात्रै पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दामा जिल्ला अदालत काठमाडौंले उनलाई पुपक्र्षका लागि थुनामा पठाउने आदेश दिएको छ । हरेक मानिससँग केही न केही कमजोरी हुन्छन् । जो व्यक्ति जति उचाइमा हुन्छ, उसका सामाजिक मर्यादा र दायित्व पनि सोहीअनुसार हुन्छन् । दुस्मन र विरोधी पनि त्यही स्तरका हुन्छन् । शक्तिशाली चतुरे त्यसलाई छिपाउन कोसिस गर्छन् । छिपेका कुरा सधैँ लुकाइरहन भने सकिँदैन । नायक बनाउन युगले मूल्य भुक्तानी गरेको हुन्छ । जब नायकले व्यक्तित्व बनाउँछ, व्यक्तित्व रक्षा गर्न सकेन भने उसले गरेका त्याग, खेलेका भूमिका व्यर्थ हुन्छन् । आन्दोलन, विद्रोह र क्रान्तिमाथि त्यही बहानामा नै प्रश्न उठ्छ । महरा प्रकरणले पनि यही सन्देश दिन्छ ।

वैदिक आख्यान रामायणको एउटा प्रसंग उद्धरण गरौँ । रावणको काल कहाँ लुकेको छ भन्ने रहस्य मन्दोदरीलाई मात्र थाहा छ भन्नेमा सत्तामोही विभीषण जानकार थिए । त्यो रहस्य बहुरूपिया हनुमानले मन्दोदरीबाट फुत्काए । नाभीमा काल थाहा पाएर रावणमाथि प्रहार भयो । दुस्मनको कमजोरी र छिद्र पत्ता लगाउनु युद्ध जित्ने ठूलो अस्त्र हो । शक्तिले मैमत्त अथवा आशक्ति बढेपछि हरेक कुल, वंश, पार्टीमा यदुवंशी निक्लिनु स्वाभाविक हुन्छ । वैदिक साहित्य, आधुनिक राजनीति र युद्धमा विषकन्या प्रयोग पनि सामान्य कुरा हो । 

महरासँगको सम्बन्ध
महरासँग पंक्तिकारको पहिलो भेट चितवन नेकपा (मशाल)को एउटा भूमिगत कार्यक्रममा २०४४मा भएको थियो । लामो संगतमा न त रसिक कुरा हुन्थे, न त रसपान सँगै भयो । त्यसपछिका दिनमा प्रत्यक्ष्य र परोक्ष सम्बन्ध रहँदै गए । जनयुद्ध र शान्तिवार्तामा झाँगियो । पहिलो गणतान्त्रिक सरकारमा उनी सञ्चारमन्त्री भएपछि अझ नजिकियो । नेपालमा सल्लाहकार नामक अति सुविधाजनक एउटा पद हुन्छ । न कुनै सल्लाह दिनुपर्ने, न लिइने । हरेक कार्यकारीलाई जस्तै उनलाई पनि सल्लाहको आवश्यकता पर्दैनथ्यो ।

बाह्य कारण कम र आफ्नै पार्टीका भित्रका यदुवंशीका कारणले प्रधानसेनापति रुक्मांगत कटुवाल प्रकरणमा प्रचण्ड सरकार गिर्‍यो । शान्तियुद्धको भीषण टकराहटमा पार्टीभित्रका वैचारिकी र संगठात्मक समस्या व्यवस्थापन हुन सकेनन् । हरेक क्षेत्रमा महत्वाकांक्षी रहेका थिए । पार्टीभित्र अन्तरविरोध भुसको आगो दन्किरहेको समय सबैले महरालाई आफ्नो पक्षमा तान्ने कोसिस गर्थे । उनको मध्यमार्गी भूमिका कूटनीतिक चाल थियो कि उनी मौका कुरिरहेका थिए ?  सञ्चार मन्त्रालय पार्टीभित्र प्रतिपक्षकै एउटा केन्द्र थियो । यस्तो किन भएको थियो खुट्याउन सक्दिनथेँ ।  

जब–जब उनी विवादित हुन्थे, तब मात्र उनको निजी निवासमा पाँचपटकसम्म पुगेको रहेछु । विषय थिए– चाइनिज टेप प्रकरण, क्रिस्चियन बनेका हल्ला, पार्टीभित्रका विवाद र प्रकाशोन्मुख आफ्नै पुस्तकबारे छलफलमा । संवेदनशील राजनीतिक भूगोल र जनयुद्धमा प्रचण्डनजिक, तर शान्तियुद्धको पोस्टर लिडर भएकाले विरोधी र दुस्मनको सञ्चार निगरानीमा उनी थिए । सावधानी अपनाउन सल्लाह दिइन्थ्यो । उनी व्यक्तिबाट व्यक्तित्वमा उठिसकेकाले मनोयुद्धको टार्गेटमा पर्ने नै भए । उनको चीनप्रतिको झुकाउका कारण पनि उनी कतिपयका तारो थिए । आन्दोलन सक्न पहिले नेतृत्वलाई सक्नुपथ्र्यो । बिलासितामा फसाउनु, भ्रष्टाचारमा जकड्याउनु, विगतका आदर्शका मलामी बनाउनु, परिवारवादमा फसाउनु, वासनामा होम्नु मनोयुद्धका औजार हुन् । आफैँ दरबिलो भए कसको के लाग्थ्यो र ? 

सरकारी नेकपा बन्नु धेरैअघि अर्थात् माओवादी केन्द्रमा फिट हुन नसकेपछि ४ वर्षदेखि पार्टी र उनीसँग सम्बन्ध रहेन ।  अहिले भने आफैँलाई आक्रमणको अंश उनले दिए । उनी आफ्नो र जनयुद्धको गरिमा रक्षासमेत गर्न चुके । अदालती प्रक्रियाबाट निर्दोष नै साबित भए भने पनि जनयुद्वका एक शिखर पुरुषको राजनीतिक र सामाजिक प्रतिष्ठाको भर्ताल हुन भने गाह्रो हुनेछ । उनका विरुद्धमा खनिने पनि नारी अस्मिता, पदीय नैतिकता पक्षधर मात्रै छन् त ? महरा निउँको सक्रियता र बहसभित्र जनयुद्ध र संविधानमाथि नै धावा त बोलिँदै छैन ? 

मनोयुद्धको माओवादी
कमजोर थलोमै दुस्मनको आक्रमण हुन्छ । छद्मयुद्धमा विपक्षका नाडी छाम्ने अनेकौँ तरिका हुन्छन् । मानिस पनि जीववैज्ञानिक रूपमा यौनमा एकनिष्ठ (मोनोगामी) नभई बहुनिष्ठ (पोलीगामी) प्राणी हो । यसलाई चेतना, आदर्श र अरूले के भन्ला भन्ने सामाजिक मर्यादाले मात्र संयमता र व्यवस्थापन गर्छ । जो व्यक्तिको उचाइ जति ठूलो हुँदै जान्छ त्यति नै उसका प्रतिस्प्रधी, विरोधी र दुस्मनको औकात पनि सोही स्तरको हुन्छ । कुनै पनि घटना परिणाममा नदेखियून्जेल सबै कमजोरी पर्दाभित्र हुन्छन् । अक्करमा ठक्कर दिने दुस्मनले त्यही मौका कुरिरहेको हुन्छ । जय र पराजयबीचमा एक नीमेषको फरक मात्र हुन्छ । ख्याउटे चन्द्रशमशेर पूरै शरीर पटुका बेरेर ओभरकोट लगाउँदै आफूलाई बलियो हट्टाकट्टा देखाउँथे । चतुरहरूले विरोधी र प्रतिस्पर्धीलाई कहिल्यै छिद्र दिँदैनन् । तर, महरा चुके ।

माओवादीभित्र शान्तियुद्धमा टुटेका सम्बन्ध, आकांक्षा र चरित्र जोडिन पुगे । युद्धको राप र तापका कारण शक्तिले मैमत्त भएको समूह उपभोक्तावादको भूमरीमा फस्दै गयो । आदर्श भने गहना बन्दै थिए । जे र जसको विरुद्ध जीवन होमिएको थियो, त्यसले नै समग्रमा गाँज्दै थियो । अंशमा टेकेर समग्रमा आक्रमण मनोयुद्धको भीषण संर्घष हो । शान्तिकालमा अझ वैचारिक टकराहट घनीभूत भए । मूलपात्र परिवारवाद र अर्थोपार्जनमा फसेपछि दुस्मन र आग्रहीलाई शीर्षक बन्ने नै भयो ।  राजनीतिलाई सामाजिकीकरण र संस्कृतिकरण गर्न नसक्दा वैचारिक स्खलनसँगै नारा पनि अपहरणमा परे । पराजित शक्तिले अंशमा खेलेर समग्रतालाई नै बीभत्सीकरण गर्नु स्वाभाविकै हुन्थ्यो । 

महरा आफ्नो र जनयुद्धको गरिमा रक्षासमेत गर्न चुके । अदालती प्रक्रियाबाट निर्दोष नै साबित भए भने पनि जनयुद्वका एक शिखर पुरुषको राजनीतिक र सामाजिक प्रतिष्ठाको भर्पाइ हुन भने गाह्रो हुनेछ ।

मोर्चा फेरिएपछि युद्धको अग्रमोर्चा पनि फेरिन आवश्यक थियो । त्यसमा योजनाहीन शान्तिप्रक्रियामा आएको पार्टीले ध्यान दिएन  । जैविक बुद्धिजीवीवर्ग रूपान्तरणले गर्दा मनोयुद्धका सिपाही बन्न सकेनन् । आन्दोलन र पार्टीको आफ्नै आदर्श र संस्कृति  रहेसम्म सिद्धान्तको राजनीति र स्वअनुशासन हुन्छ । सुविधाको राजनीतिमा फेरिएपछि शक्ति र पदको दम्भले आलोचना काउसो बन्छन् ।

क्रान्ति र विद्रोहपछि कुण्ठाग्रस्त बुद्धिजीवी तप्का बजारमा सबैभन्दा बिकाउ हुन्छ । त्यसले कचरा पैदा गर्छ ।  विभिन्न रूपमा वर्गसंर्घषको भीषण टकराहट हुन्छ नै । आग्रह, भ्रम, आवेग र अन्धविश्वासले हरेक घटनापछिका कार्य, कारणसँग जोडेर परिणाम भने खोतल्दैन । धारणा विश्वास, आग्रह र सोच्ने तरिकामा भर । विश्वासमाथिको संकट पैदा गर्न पहिला भ्रमको पर्दा लगाउनुपर्छ । गम्भीर विषयलाई मोड्न अर्को ठूलो विषय हालिदिनुपर्छ । 

गम्भीर विषय र मुद्दाले सत्ता र सरकारको काँध थाम्न नसक्ने अवस्थामा पुगिसकेका वेला  त्यताबाट बहस मोड्न सामान्य कुरा अघि सारिन्छन् । महरामाथि लामो दिनदेखि धराप थापिएको थियो । राष्ट्रिय बहसमा उत्तेजनात्मक, भावनात्मक व्यक्तिगत विषय अघि सार्न पाइने महराको केस अहिले सत्ताका लागि सेफ्टी भल्भ बन्न पुग्यो । महरा बहसलाई विशुद्ध यौन कमजोरीको रूपमा मात्र लिन मिल्दैन, उनको सत्ता अहंकारको अव्यवस्थित जीवन भने पक्कै हो । 

यस प्रकरणमा महरामाथि मात्र तरबार चलाइएन, उनलाइ ढाल बनाएर जनयुद्धमाथि नै प्रहार भएको छ । उनको नैतिकतालाई देखाउँदै जनयुद्धकै औचित्यमाथि प्रश्न उठाइँदै छ । संसारको सबैभन्दा ठूलो दुर्घटना विश्वासको दुर्घटना हो । शीर्षक त महरा बने, तर समग्र लक्ष्य भनेको जनयुद्धलाई राजनीतिक रूपमा ध्वस्त बनाउने र आन्दोलनलाई बीभत्सीकरण गर्नु हो । पूर्वमाओवादी वा माओवादीको नाममा राजनीतिक स्थान बनाएकाले बुझ्नुपर्छ, भविष्यमा भिन्न–भिन्न रूपले महराभन्दा पनि अझ भयानक परिस्थिति अरूको पनि 
हुन सक्छ ।