मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ कार्तिक १९ मंगलबार ०७:१६:००
Read Time : > 3 मिनेट
सेयर बजार

सेयर बजारमा झिनो सुधार

Read Time : > 3 मिनेट
२०७६ कार्तिक १९ मंगलबार ०७:१६:००

साताको पहिलो कारोबार दिन ओरालो लागेर बन्द भएको नेप्से दोस्रो कारोबार दिन भने झिनो अंकले बढेर बन्द भएको छ । नेप्सेसँगै यस दिन कारोबार रकम पनि सामान्य बढेको छ । कारोबारको अधिकांश समय नकारात्मक रहेको नेप्से परिसूचक अन्तिम १ घन्टामा बढेपछि समग्रममा शून्य दशमलव शून्य ९ प्रतिशत बढेर बन्द भएको हो । सूचीकृत कम्पनीहरूले घोषणा गरेको लाभांशले यस दिन लगानीकर्तालाई आकर्षित गरेको छ । गत आवको मुनाफाबाट राम्रो प्रतिफल घोषणा गरेका कम्पनी, लगानीकर्ता यस दिन झुम्मिएका छन् । यस दिन नेप्से र कारोबार रकम सामान्य बढ्दा आगामी कारोबार दिनमा बजारले सकारात्मक दिशा लिने लगानीकर्ताले अपेक्षा गरेका छन् ।
 
बजार सारांश

सोमबार नेप्से परिसूचक शून्य दशमलव ९७ अंक बढेर १ हजार १ सय ४० दशमलव २६ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स यस दिन शून्य दशमलव शून्य ४ अंक बढेर २ सय ५० दशमलव ५१ बिन्दुमा पुगेको छ । फ्लोट इन्डेक्स यस दिन शून्य दशमलव १ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव शून्य ६ अंक बढेको छ । यस दिन १ सय ६३ कम्पनीको ४ हजार ९८ पटकको कारोबारमा १९ करोड १८ लाख ५४ हजार ३ सय ३३ रुपैयाँबराबरको ७ लाख ५९ हजार ७ सय १२ कित्ता सेयर खरिद–बिक्री भएको छ । 

प्राविधिक विश्लेषण
आरएसआई : नेप्सेको आरएसआई यस दिन ४५ दशमलव १० स्केलमा पुगेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिद–बिक्री चाप सन्तुलनमा रहेको संकेत गर्छ । 

एडी रेसियो : नेप्सेको एडी रेसियो यस दिन शून्य दशमलव ९५ रहेको छ । यसले नेप्से बियरिस प्रवृत्तिमा रहेको संकेत गर्छ । यस दिन कारोबारमा आएका १ सय ६३ कम्पनीमध्ये ६६ कम्पनीको सेयर मूल्य बढेको छ भने ६९ कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी २८ कम्पनीको सेयर मूल्य यस दिन स्थिर रहेको छ । 

यस दिनको पिभट विश्लेषण गर्दा भोलि नेप्से ओरालो लागे पहिलो टेवा १ हजार १ सय ३७ दशमलव १४ बिन्दुमा पाउने देखिन्छ । सो टेवा बिन्दुबाट पनि तल ओर्लिए नेप्सेले १ हजार १ सय ३३ दशमलव ८८ बिन्दुमा दोस्रो टेवा पाउने देखिन्छ । त्यसैगरी, भोलि बजार उकालो लागे नेप्सेले १ हजार १ सय ४२ दशमलव ३३ बिन्दुमा पहिलो प्रतिरोधको सामना गर्नेछ । सो बिन्दुभन्दा माथि गए नेप्सेले १ हजार १ सय ४४ दशमलव ४० बिन्दुमा दोस्रो प्रतिरोधको सामना गर्नेछ । 

ग्लोबल आइएमई लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट
यस दिन कारोबारमा आएको ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीले गत आवको मुनाफाबाट ३५ प्रतिशत बोनस सेयर वितरण गर्ने र शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्तावसहित मंसिर ९ गते साधारणसभा आयोजना गर्नेछ । साधारणसभा प्रयोजनका लागि कम्पनीले कात्तिक २५ गते बुक क्लोज गर्नेछ । सोही कारण कम्पनीको सेयरमूल्य बढेको हो । चिलिमे हाइड्रोपावर कम्पनीको सेयरमूल्य यस दिन ६ दशमलव २४ प्रतिशत बढेको छ । कम्पनीले गत आवको मुनाफाबाट २० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेपछि त्यसको प्रभावले सेयरमूल्य बढेको हो । नेरुडे लघुवित्त विकास बैंकको सेयरमूल्य र एनआइसी एसिया ग्रोथ फन्डको इकाइमूल्य यस दिन ५ प्रतिशतभन्दा बढी बढेको छ । यस दिन जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र गोर्खाज फाइनान्सको सेयरमूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ । त्यसैगरी, माउन्टेन हाइड्रो नेपाल र अरुण भ्याली हाइड्रोपावरको सेयरमूल्य यस दिन ३ प्रतिशतभन्दा बढी घटेको छ । 

सर्वाधिक कारोबार हुनेमा नबिल बैंक
यस दिन कारोबार रकमका आधारमा नबिल बैंक लिमिटेड अगाडि रहेको छ । बैंकले गत आवको मुनाफाबाट १२ प्रतिशत बोनस र २२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेसँगै लगानीकर्ता सो बैंकतर्फ आकर्षित भएका हुन् । सो बैंकको यस दिन १ करोड ९८ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ । १६ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको प्रभु बैंकको यस दिन १ करोड ६१ लाखबराबरको सेयर खरिद–बिक्री भएको छ । चिलिमे हाइड्रोपावरको कारोबार रकम पनि यस दिन १ करोड नाघेको छ । सेयर संख्याका आधारमा यस दिन प्रभु बैंक लिमिटेड अगाडि रहेको छ । सो बैंकको यस दिन ६० हजार ३ सय ५३ कित्ता सेयर खरिद–बिक्री भएको छ । कारोबार संख्याका आधारमा यस दिन रसुवागढी हाइड्रोपावर कम्पनी अगाडि रहेको छ ।

७ समूहको परिसूचक बढ्यो
यस दिन कारोबारमा आएका ११ समूहमध्ये ७ समूहको परिसूचक बढेको छ भने बाँकी ४ समूहको घटेको छ । यस दिन जलविद्युत् कम्पनीको परिसूचक सर्वाधिक १ दशमलव ८४ प्रतिशत बढेको छ । म्युचुअल फन्ड समूहको परिसूचक यस दिन शून्य दशमलव ६४ प्रतिशत, लघुवित्त समूहको शून्य दशमलव ३८ प्रतिशत, निर्जीवन बिमा समूहको शून्य दशमलव ३५ प्रतिशत र होटेल समूहको शून्य दशमलव ३१ प्रतिशत बढेको छ । त्यसैगरी, जीवन बिमा समूहको परिसूचक यस दिन शून्य दशमलव शून्य ६ प्रतिशत र उत्पादनमूलक समूहको शून्य दशमलव शून्य ४ प्रतिशत बढेको छ । कारोबारमा आएको अन्य समूहको परिसूचक यस दिन शून्य दशमलव ३८ प्रतिशत, वित्त समूहको शून्य दशमलव १८ प्रतिशत, वाणिज्य बैंक समूहको शून्य दशमलव शून्य ९ प्रतिशत र विकास बैंक समूहको शून्य दशमलव शून्य ५ प्रतिशत घटेको छ । 


नेपाल इन्भेस्टमेन्टको संस्थापक सेयर लिलाम बिक्री
नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले २९ हजार ३ सय ८० कित्ता संस्थापक सेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ । सो सेयर खरिदका लागि कात्तिक २१ गतेदेखि २८ गतेसम्म सिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ । सेयरको न्यूनतम मूल्य २ सय ७५ तोकिएको छ । लगानीकर्ताले सो वा सोभन्दा बढी सेयरमूल्य अंकित गरी बोलपत्र पेस गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम ३ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम सेयर संख्याका लागि कुनै हक तोकिएको छैन । बैंकको सेयर रजिस्ट्रार एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 

चिलिमेको साधारणसभा
चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले मंसिर ११ गते साधारणसभा आयोजना गर्ने भएको छ । सभामा गत आवको मुनाफाबाट २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले कात्तिक २७ गतेदेखि मंसिर ११ गतेसम्म बुक क्लोज गर्ने भएको छ । 

नबिलको लाभांश
नबिल बैंक लिमिटेडले गत आवको मुनाफाबाट ३४ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कात्तिक १७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट १२ प्रतिशत बोनस सेयर तथा २२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात् सो लाभांश वितरण गरिनेछ ।