मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ कार्तिक १८ सोमबार ०९:२३:००
Read Time : > 2 मिनेट
सेयर बजार

ब्याजदर बढेपछि सेयर बजार प्रभावित

Read Time : > 2 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ कार्तिक १८ सोमबार ०९:२३:००

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक शून्य दशमलव ६० प्रतिशत घटेर बन्द भएको छ । नेप्सेसँगै यस दिन कारोबार रकममा पनि कमी आएको छ । तिहारअघि उकालो लागेर उत्साहित भएका लगानीकर्ता तिहारपछि बजार पुनः ओरालो लाग्दा निराश भएका छन् । बैंकहरूको ब्याजदर बढ्न थालेपछि त्यसको प्रभाव सेयरबजारमा पर्न थालेको एक विलेषकले बताए ।

वाणिज्य बैंकहरूले प्रकाशित गरेको पछिल्लो ब्याजदरअनुसार बैंकहरूको ब्याजको आधारदर बढेको छ । आधारदर बढेपछि ऋणको ब्याज पनि महँगिने भएका कारण त्यसले सेयरबजारलाई नकारात्मक प्रभाव पारेको उनको भनाइ छ । वित्तीय क्षेत्रमा बारम्बार लगानीयोग्य पुँजीको समस्या दोहोरिरहे पनि नियामक निकायले दीर्घकालीन समाधान गर्ने नीति नबनाएका कारण वेलावेलामा सेयरबजार प्रभावित हुने गरेको उनले बताए । 

बजार सारांश : आइतबार नेप्से परिसूचक ६ दशमलव ८८ अंक घटेर १ हजार १ सय ३९ दशमलव २९ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स यस दिन १ दशमलव ६२ अंक घटेर २ सय ५० दशमलव ४६ बिन्दुमा पुगेको छ । 

फ्लोट इन्डेक्स यस दिन शून्य दशमलव ४६ अंक घटेर ८४ दशमलव ४५ बिन्दुमा पुगेको छ भने सेन्सेटिभ  फ्लोट इन्डेक्स शून्य दशमलव ५१ अंक घटेर ८० दशमलव ३८ बिन्दुमा पुगेको छ । यस दिन १ सय ६१ कम्पनीको ४ हजार ८० पटकको कारोबारमा १७ करोड ५५ लाख ४४ हजार ४ सय ७२ रुपैयाँबराबरका ७ लाख ८४ हजार ७ सय ४० कित्ता सेयर खरिद–बिक्री भएका छन् । 

प्राविधिक विश्लेषण
आरएसआई : नेप्सेको १४ दिने आरएसआई ४४ दशमलव ४६ स्केलमा पुगेको छ । आरएसआई न्युट्रल जोनमा रहनुले बजारमा सेयर खरिद चापको तुलनामा बिक्री बढेको संकेत गर्छ । 

एडी रेसियो : नेप्सेको एडी रेसियो यस दिन शून्य दशमलव ४९ रहेको छ । यसले बजार बियरिस प्रवृत्तिमा रहेको संकेत गर्छ । यस दिन कारोबारमा आएका १ सय ६१ कम्पनीमध्ये ४६ कम्पनीको मात्र सेयरमूल्य बढेको छ भने ९३ कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी २२ कम्पनीको सेयरमूल्य यस दिन स्थिर रहेको छ ।

यस दिनको पिभट विश्लेषण गर्दा भोलि नेप्से ओरालो लागे पहिलो टेवा १ हजार १ सय ३४ दशमलव ७२ बिन्दुमा पाउने देखिन्छ । सो टेवा बिन्दुबाट पनि तल ओर्लिए नेप्सेले १ हजार १ सय ३० दशमलव १५ बिन्दुमा दोस्रो टेवा पाउने देखिन्छ । त्यसैगरी, भोलि बजार उकालो लागे नेप्सेले १ हजार १ सय ४५ दशमलव ४३ बिन्दुमा पहिलो प्रतिरोधको सामना गर्नेछ । सो बिन्दुभन्दा माथि गए नेप्सेले १ हजार १ सय ५१ दशमलव ५७ बिन्दुमा दोस्रो प्रतिरोधको सामना गर्नेछ । यस दिन नेप्सेको पिभट बिन्दु १ हजार १ सय ४० दशमलव ८६ बिन्दु रहेको छ । 

सर्वाधिक गुमाउने मेगा
यस दिन मेगा बैंक, नेपाल लिमिटेडको सेयरमूल्य सर्वाधिक ५ दशमलव ४४ प्रतिशत घटेको छ । सो कम्पनीको सेयरमूल्य यस दिन ११ रुपैयाँ घटेर १ सय ९१ रुपैयाँमा अन्तिम कारोबार भएको छ । बैंकले गत आवको मुनाफाबाट ११ दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो । सो लाभांश वितरण प्रयोजनका लागि बैंकले कात्तिक १५ गते बुक क्लोज गरेको थियो ।

यस दिन आँखुखोला जलविद्युत् कम्पनी र नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ भने युनाइटेड मोदी हाइड्रोपावर र एनएमबि माइक्रोफाइनान्सको सेयरमूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ । एनआइसी एसिया ग्रोथ फन्ड र बरुण हाइड्रोपावर कम्पनीको सेयरमूल्य यस दिन ४ प्रतिशतभन्दा बढी बढेको छ । त्यसैगरी, चिलिमे हाइड्रोपावर कम्पनी, पाँचथर पावर कम्पनी र रैराङ हाइड्रोपावरको सेयरमूल्य यस दिन २ प्रतिशतभन्दा बढी बढेको छ । अन्य कम्पनीको सेयरमूल्य वृद्धिदर २ प्रतिशतभन्दा कम रहेको छ ।

प्रभुको सर्वाधिक कारोबार
यस दिन कारोबार रकमका आधारमा प्रभु बैंक लिमिटेड अगाडि रहेको छ । वाणिज्य बैंकको यस दिन १ सय ९१ पटकको कारोबारमा १ करोड ५२ लाख ४५ हजार रुपैयाँबराबरको ५६ हजार ९ सय ६ कित्ता सेयर खरिद–बिक्री भएको छ । बैंकले गत आवको मुनाफाबाट १६ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको थियो । सो लाभांश पारित गर्न बैंकले मंसिर ६ गते साधारणसभा आयोजना गर्ने भएको छ ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले कात्तिक २५ गते बुक क्लोज गर्नेछ । सेयर संख्याका आधारमा यस दिन देवः विकास बैंक लिमिटेडको संस्थापक सेयर अगाडि रहेको छ । सो बैंकको यस दिन १ लाख ३९ हजार ६ सय कित्ता सेयर किनबेच भएको छ । कारोबार संख्याका आधारमा यस दिन रसुवागढी हाइड्रोपावर लिमिटेड अगाडि रहेको छ । सो जलविद्युत् कम्पनीको यस दिन ४ सय ५० पटकको सेयर कारोबार भएको छ । त्यसैगरी, साञ्जेन जलविद्युत् कम्पनीको ३ सय ५३ पटक सेयर किनबेच भएको छ ।