Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ कार्तिक १८ सोमबार ०८:५६:००
Read Time : > 2 मिनेट
खेलकुद

अफगानिस्तान सागमा फर्कन इच्छुक

Read Time : > 2 मिनेट
२०७६ कार्तिक १८ सोमबार ०८:५६:००

अफगानिस्तान पुनः एकपटक दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा सहभागिता जनाउन इच्छुक भएको छ । सन् २०१६ को भारतमा सम्पन्न १२औँ सागपछि अफगानिस्तानले सर्क क्षेत्र परित्याग गर्दै मध्यपूर्वी एसिया जोनमा जाने निर्णय गरेको थियो । तीन वर्षपछि अफगानिस्तान दक्षिण एसियन जोनमै फर्कन तयार भएको छ ।

मूलतः मध्यपूर्वी एसियामा खेलकुदका गतिविधि खासै नभएकाले अफगानिस्तान साग क्षेत्रमै आउन लागेको मानिन्छ । अफगानिस्तानले नेपालमा हुने १३औँ सागमा सहभागी हुने चाहना मात्र राखेको नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठले नयाँ पत्रिकालाई जानकारी दिएका छन् । १३औँ सागमा अफगानिस्तानलाई समावेश गर्दा आठ राष्ट्रबीच प्रतिस्पर्धा हुनेछ । यसअघि १५ मंसिरदेखि हुने सागमा सात राष्ट्र मात्र सहभागी हुने निर्णय भएको थियो । 

छलफल मात्र, निर्णय होइन
अफगानिस्तानको ओलम्पिक कमिटीले ओलम्पिक काउन्सिल एसिया (ओसिए) र नेपाल ओलम्पिक कमिटीसँग सागमा सहभागिता जनाउने सन्दर्भमा छलफल मात्र गरेको छ । उनीहरूले आधिकारिक रूपमा आफूहरूलाई कुनै पत्र नपठाएको एनओसीका अध्यक्ष श्रेष्ठले बताए । ‘हामीसँग केवल छलफल मात्र भएको हो,’ दक्षिण एसियाली ओलम्पिक खेलकुद कमिटीका समेत अध्यक्ष रहेका श्रेष्ठले भने, ‘यो केवल मौखिक कुराकानी मात्र हो ।’ अफगानिस्तानले अहिलेसम्म सागका सम्बन्धमा पत्र पठाएर निर्णय नगरेको उनको भनाइ छ । 

बैठकमा छलफल हुने
१३औँ सागअघि दक्षिण एसियाली ओलम्पिक कमिटीका पदाधिकारीबीच काठमाडौंमै बैठक बस्दै छ । सो बैठकमा आयोजक नेपालले १३औँ सागको वर्तमान तयारी अवस्थाबारे सहभागी एनओसीका पदाधिकारीलाई जानकारी गराउनेछ । आयोजकबाट स्वयं एनओसीका अध्यक्ष श्रेष्ठले नै नेपालको तयारीबारे जानकारी दिनेछन् । बैठकमै अफगानिस्तानलाई १३औँ सागमा समावेश गर्ने वा नगर्ने विषयमा बृहत् छलफल हुने उनले बताए । ‘अर्को साता सात राष्ट्रका एनओसी पदाधिकारीबीच बैठक हुँदैे छ, सो बैठकमा अफगानिस्तानको विषय पनि समावेश हुनेछ,’ श्रेष्ठले भने, ‘बैठकले कस्तो किसिमको निर्णय गर्छ, त्यसैवेला थाहा पाउनुहुनेछ ।’

सीमित खेलमा मात्र सहभागिता
अन्तिम समयमा सहभागी हुने इच्छा देखाएको अफगानिस्तान सबै खेलमा सहभागी नहुने एनओसीका अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन् । अफगानी टोली निश्चित खेलमा मात्र सहभागी हुने उनको भनाइ छ । ‘यदि अफगानिस्तान फेरि साग क्षेत्रमै फर्कियो भने १३औँ सागमा केही खेलमा मात्र सहभागी हुनेछ,’ श्रेष्ठ भन्छन्, ‘त्यसबारे पनि बैठकमै छलफल हुनेछ ।’ मूलतः अफगानिस्तान पावर गेममा बलियो भएकाले मार्सल आर्टस् खेलमा सहभागी हुने सम्भावना धेरै छ । 

  •  अफगानिस्तानले आधिकारिक रूपमा नेपाल ओलम्पिक कमिटीलाई १३औँ सागमा सहभागी हुने पत्र पठाएको छैन, तर सागमा प्रतिस्पर्धा गर्न ओसिए र एनओसीसँग कुराकानी ग-यो
  •  सन् २०१६ मा भारतको गुवाहाटी र सिलोङमा भएको १२औँ सागमा चौथो स्थान हात पारेपछि अफगानिस्तान सार्क क्षेत्र परित्याग गरी मध्यपूर्वी एसियन जोनमा समावेश

यता राष्ट्रिय खेलकुद परिषद् भने अफगानिस्तानलाई पावर गेममा सहभागी नगराउने उद्देश्यका साथ अगाडि बढेको छ । ‘अफगानिस्तानले तेक्वान्दो, कराते, उसु, बक्सिङ, जुडोजस्ता खेलमा भाग लिने मनसाय बनाएको छ,’ परिषद् स्रोतले भन्यो, ‘यी खेलमा अफगानिस्तान आउँदा अन्य सहभागी राष्ट्रका खेलाडीले स्वर्ण जित्ने सम्भावना कमै रहनेछ, किनभने पावर गेममा अफगानी हामीलगायत अन्य राष्ट्रका खेलाडीभन्दा बलिया छन् ।’

नवौँ साफमा पहिलोपटक 
सन् २००४ मा सार्क खेललाई साफ भनिन्थ्यो । पाकिस्तानको इस्लामावादमा भएको नवौँ साफमा अफगानिस्तान पनि सहभागी थियो । पहिलोपटकको सहभागितामै अफगानिस्तानले छैटौँ स्थान हात पा-यो । त्यसवेला अफगानिस्तान एक स्वर्ण, तीन रजत र २८ कांस्य गरी कुल ३२ पदक हात पार्न सफल भयो । सन् २००६ को १०औँ सागमा अफगानिस्तानले आफूलाई बलियो राष्ट्रका रूपमा प्रस्तुत ग-यो ।

यसपटक अफगानिस्तानले आफ्नो स्थान मात्र सुधार गरेन, पदक तालिकामा समेत निकै सुधार ग-यो । कोलम्बोमा आफगानिस्तानले ६ स्वर्ण, सात रजत र १८ कांस्य गरी कुल ३१ पदकका साथ पाँचौँ स्थान रक्षा ग-यो । सन् २०१० को ढाकामा भएको ११औँ सागमा आफगानिस्तानले सात स्वर्ण, नौ रजत र १६ कांस्य जित्दै छैटौँ स्थान हात पारेको थियो ।

अफगानिस्तानले १२औँ सागमा उत्कृष्ट प्रदर्शन गरेको थियो । यसपटक अफगानिस्तानले ऐतिहासिक रूपमा चौथो स्थान हात पारेको थियो । अफगानी टोलीले सात स्वर्ण, नौ रजत र १९ कांस्य जितेको थियो । आफूभन्दा माथिल्लोस्तरका खेलाडीसँग प्रतिस्पर्धा गर्ने उद्देश्यका साथ अफगानिस्तान १२औँ सागपछि नै सार्क क्षेत्र छाड्दै मध्यपूर्वी एसियामा फर्किएको हो ।