मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एन्ड्रयु सेङ/सियाओ गेङ
२०७६ कार्तिक १७ आइतबार ०८:५३:००
Read Time : > 2 मिनेट
दृष्टिकोण

व्यापार युद्धले नदबेको चिनियाँ अर्थतन्त्र

Read Time : > 2 मिनेट
एन्ड्रयु सेङ/सियाओ गेङ
२०७६ कार्तिक १७ आइतबार ०८:५३:००

व्यापार युद्धका क्रममा चिनियाँ अर्थतन्त्र पहिले सोचिएभन्दा सबल रहेको पाइएको छ

अक्टोबर १ मा जनवादी गणतन्त्र चीनले स्थापनाको ७०औँ वर्षगाँठ मनायो । त्यस दिन चिनियाँ सरकारले अद्भुत सैन्य र नागरिक परेडको आयोजना गरेर चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा चीनले हासिल गरेको असाधारण प्रगति देखाउने प्रयास गर्‍यो । आगामी दिनमा चीनका सामु ठूला चुनौती नभएका होइनन्, तर चीनको हालसम्मको उपलब्धि असाधारण रह्यो । विगत ४० वर्षमा चीनले कुनै प्रमुख अर्थतन्त्रमध्ये सबैभन्दा तीव्र गतिको दिगो आर्थिक विस्तार हासिल गर्‍यो । यो प्रगतिको बलमा चीनले देशभित्र ८५ करोड मानिसलाई गरिबीबाहिर निकल्न सफल भयो । पूर्वाधार, विज्ञान र प्रविधि, शिक्षा र स्वास्थमा लगानी बढ्दै गएको आजको दिनमा त्यहाँको नागरिकको जीवनस्तर चुलिएको छ । 

तर, सन् २०१९ को तेस्रो त्रैमासिकमा चिनियाँ अर्थतन्त्र जम्मा ६ प्रतिशतले मात्र वृद्धि भयो । यो वृद्धिदर सन् १९९२ मार्चयताकै थोरै हो । विश्वव्यापी आर्थिक वृद्धिदरमा ह्रास आउनु त्यसको एउटा कारण रह्यो भने पछिल्लो समय विश्व अर्थतन्त्रमा कैयौँ देशले अँगालिरहेको आर्थिक एकांकीपनको त्यसमा ठूलो भूमिका छ । विश्वको सबैभन्दा ठूलो आर्थिक शक्ति अमेरिका स्वयंले यसको नेतृत्व गरिरहेको छ । 

व्यापार युद्धपछि अमेरिकाले चीनलाई सहयात्रीभन्दा पनि रणनीतिक प्रतिस्पर्धीको रूपमा हेर्छ भन्ने प्रस्ट भएको छ । अमेरिकाका केही नीति–निर्माता त चीनले आफ्ना आर्थिक प्रणाली, अर्थतन्त्र र पराराष्ट्र नीतिमा आधारभूत सुधार गरेन भने अमेरिका र चीनको अर्थतन्त्रलाई पूर्ण रूपमा विच्छेद गराउनुपर्ने तर्क गर्न थालेका छन् । अहिले विश्वका शीर्ष दुई अर्थतन्त्र धेरै हिसाबमा एक–अर्कासँग गाँसिएका छन् ।  

अमेरिकाको संरक्षणवादको सिकार बन्ने देश चीन मात्र होइन । भारत, युरोपेली संघ र अन्य देश पनि त्यसको निशानामा परिरहेका छन् । त्यसैले अमेरिकासँग सीधा भिड्नेभन्दा पनि चीनले ठूलो भूराजनीतिक परिवर्तनसँग साक्षात्कार गर्ने मार्ग लिनुपर्छ । त्यस्तै, संसारभरि विश्वव्यापीकरणविरुद्ध देखिएको विरोधबारे पनि चीनले उपयुक्त कदम चाल्नुपर्छ । आखिर यही प्रक्रियाले चीनको उदय सम्भव बनाएको हो । 

विश्वव्यापीकरणलाई जोगाउनका लागि चिनियाँ नेताले अन्तर्राष्ट्रिय व्यापार र सहकार्यलाई जोड दिने गरेका छन् । यसका लागि तिनले संरचनात्मक सुधार र खुलापनमा अघि बढिरहने आफ्नो प्रतिबद्धता दोहोर्‍याइरहन्छन् । भर्खरै सार्वजनिक म्याक्किन्से ग्लोबल इन्स्टिच्युट(एमजिआई)को एक रिपोर्टका अनुसार चीनमा प्रगतिको प्रशस्त सम्भावना छ । एमजिआईका अनुसार चीनले सेवाको व्यापार क्षेत्रमा प्रशस्त सुधार गर्न सक्छ । त्यस अतिरिक्त चीनको बाँकी, सुरक्षा र सेयर बजारमा विदेशी स्वामित्व ६ प्रतिशतभन्दा कम छ । यसमा पनि सुधारको ठाउँ छ । 

अमेरिकाको संरक्षणवादको सिकार बन्ने देश चीन मात्र होइन । भारत, युरोपेली संघ र अन्य देश पनि त्यसको निसानामा परिरहेका छन् । त्यसैले अमेरिकासँग सीधा भिड्नेभन्दा पनि चीनले ठूलो भूराजनीतिक परिवर्तनसँग साक्षात्कार गर्ने मार्ग लिनुपर्छ ।

बाँकी संसारसँग चिनियाँ अन्तरक्रिया वृद्धि हुँदा सन् २०४० सम्म विश्व अर्थतन्त्रमा दुई सय २० खर्बदेखि तीन सय ७० खर्ब डलर पुँजी सिर्जना हुने एमजिआईकै अध्ययनले देखाएको छ । तथापि, यसको अर्थ ट्रम्प र उनका सल्लाहकारले विश्वास गरेजस्तो चीनलाई विश्वको एकदमै आवश्यकता छ भन्ने पनि होइन । निश्चित रूपमा खुलापनले चीनलाई फाइदा गर्छ, तर हालैको व्यापार युद्धले चिनियाँ अर्थतन्त्रको सबलतामाथि प्रकाश पारेको छ । विशाल आकारका कारण चीनले बाह्य अर्थतन्त्रसँग त्यति धेरै अन्तर्क्रिया नगरी उसको घरेलु बजारकै बलमा प्रगतिपथमा अघि बढ्न सक्छ । विश्वका थोरै मात्र अर्थतन्त्र संरचनागत आघात सामना नगरी विभिन्न विकास मोडललाई समानान्तर रूपमा अघि बढाउने गरी ठूला छन् । चीनले ठ्याक्कै त्यही गरिरहेको छ । 

चीनमा सहरबीचमा आर्थिक प्रतिस्पर्धाको लामो परम्परा छ । यसैलाई मध्यनजर गरेर अहिले केन्द्रीय सरकारले निकै ठूला आकारका सहरी क्लस्टर विकास गरिरहेको छ । यसमा हङकङ र मकाउसमेत रहेको पर्ल नदी डेल्टावरपरका नौवटा सहर समेट्ने ‘द ग्रेटर बे एरिया’, सांघाईकेन्द्रित याङ्त्सी नदी डेल्टा र बेइजिङ–तियान्जिन–हेबे क्लस्टर छन् । यिनले थप परीक्षण र प्रतिस्पर्धाको प्ल्याटफर्मको रूपमा काम गर्नेछन् । अझ विशाल घरेलु बचतको बलका कारण चीनसँग वित्तीय र मौद्रिक प्रोत्साहन औजार प्रयोगमा ल्याउने विकल्प छ । यसको प्रयोगमार्फत विदेशबाट चीनको नीतिलाई प्रभावित पार्न खोजिने प्रयासलाई निस्तेज पार्न सकिन्छ । 

अमेरिका नेतृत्वको एकध्र्रुवीय विश्व व्यवस्था तीव्र रूपमा धराशयी हुँदै गएको छ । यस्तो परिस्थितिमा चीन अथवा अन्य कुनै देशले गर्न सक्ने भनेको नयाँ परिस्थितिमा आफूलाई अनुकूलित गर्नु हो । अहिले अवस्थामा अनुकूल हुनु भनेको आन्तरिक स्थिरता कायम राख्दै विकासलाई अघि बढाउनु र आफ्ना स्वार्थविपरीत काम गर्न दबाब दिने बाह्य हस्तक्षेपको प्रतिरोध गर्नु हो । 

Project Syndicate 2019
नयाँ पत्रिका र प्रोजेक्ट सिन्डिकेटको सहकार्य 
एन्ड्र्यु सेङ सिङहुवा विश्वविद्यालयका उपप्राध्यापक हुन् भने सियाओ गेङ पेकिङ विश्वविद्यालयका प्राध्यापक हुन् ।