मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ कार्तिक १७ आइतबार ०७:४७:००
Read Time : > 4 मिनेट
अन्तर्वार्ता

खुला जेलजस्तो जीवन बाँचिरहेको छु : परमानन्द झा

Read Time : > 4 मिनेट
२०७६ कार्तिक १७ आइतबार ०७:४७:००

पदमा रहुन्जेल चर्चामा रहेका पूर्वउपराष्ट्रपति परमानन्द झा अहिले झन्डै गुमनाम अवस्थामा छन् । गणतन्त्र नेपालको प्रथम उपराष्ट्रपति निर्वाचित भएका झाले हिन्दीमा शपथ लिएको विषय विवादित पनि बनेको थियो । आफ्नो कार्यकाल सकिएपछि उनी अहिले घरमै निवृत्त जीवन बिताइरहेका छन् । आफूले सक्रिय जीवन बाँच्न नपाएको गुनासो गर्ने झाले पदमै हुँदा पनि सरकारसँग भूमिका दिन आग्रह गरेको बताउँछन् । भन्छन्, ‘काम गर्ने वातावरण मिलाइदिनुपर्‍यो भनेर मैले सरकारसँग भनेको थिएँ, तर भएन । थुप्रैपटक भूमिका दिनुपर्‍यो भनेर सरकारलाई भनेँ, तर दिएनन् ।’ प्रस्तुत छ झासँगको कुराकानी :

 परमानन्द झा, पूर्वउपराष्ट्रपति

हिजोआज दैनिकी कसरी बितिरहेको छ ? घुमफिर/भेटघाटमा समय व्यतित भइरहेको छ कि ?

बिहानै उठ्यो । कहिलेकाहीँ मर्निङवाक गयो, तर धुलोधुवाँले गर्दा पटक्कै हिँड्न मन लाग्दैन । कहिलेकाहीँ योग गर्छु । रेडियोबाट समाचार दैनिक नै सुनिरहेको हुन्छु । कहिलेकाहीँ पुरानो गाउँतिर घुम्न गएको हुन्छु, तराईतिर । यताउता कसैलाई भेट्न निस्कन्नँ । बरु दिउँसो सुत्छु । भेटघाटमा कुनै जाँगर पनि छैन । अरू पनि भेट्न आउँदैनन् ।

तराईका गाउँमा किन जानुहुन्छ, भेटघाटका लागि ?

यहाँ केही ‘इन्ट्रेस्ट’ भयो भने मात्रै मान्छे भेट्न आउँछन् । त्यहाँ त गाउँघर इष्टमित्र हुन्छन् । भेटघाट हुन्छ । त्यहाँ निःशुल्क मान्छेहरू आउँछन् । बसेर घन्टौँ समय सजिलै काट्न सकिन्छ ।

गणतन्त्र नेपालको प्रथम उपराष्ट्रपति हुँदा त भ्याइनभ्याई हुन्थ्यो होला ! हिजोआजको फुर्सदीले पनि तपाईंलाई तनाब दिन थाल्यो कि क्या हो ?

हिजो पनि के को व्यस्त हुनु ! बरु दुवै वेलाको जीवन कैदी–जीवनजस्तै लागिरहेको छ । अहिले ‘ओपन जेल’ (खुला कारागार) को मान्यता आइरहेको छ, जसमा बन्दीलाई एउटा कोठाभित्र नथुनी अलि ठूलो स्पेसमा घुम्नडुल्न पनि दिइन्छ । मेरो जिन्दगी पनि त्यही ‘ओपन जेल’जस्तै बनेको छ । अहिले बहालवाला उपराष्ट्रपतिलाई भेट्न त मान्छेहरू आउलान् । किनकि उहाँ दलबाट आएको मान्छे हुनुहुन्छ । तर, म त कानुनी क्षेत्रबाट आएको थिएँ । मेरोमा त खासै मान्छे आउँदैनथे । कुनै खास दलगत मान्छेसँग मेरो सोझो संलग्नता थिएन । वेलावेला कोहीकोही आउँथे । विशेष गरी तराईका मान्छेहरू भेट्न आउँथे । राष्ट्रपतिसँग पनि खासै भेटघाट हुँदैनथ्यो । भेटघाट पनि नहुने, काम पनि नहुने भएपछि काम गर्ने वातावरण मिलाइदिनुपर्‍यो भनेर मैले सरकारसँग भनेको थिएँ, तर भएन । थुप्रैपटक भूमिका दिनुपर्‍यो भनेर सरकारलाई भनेँ, तर दिएनन् ।

उपराष्ट्रपति पद वा संस्था नै काम रहेनछ भन्ने त लागेन ?

काम केही गर्नुपर्ने नभएपछि यो संस्था नै काम छैन भन्ने मेरो भनाइ थियो । राष्ट्रपति विदेश जाँदा ‘मेरो अनुपस्थितिमा तिमीले काम गर’ भनेर राष्ट्रपतिले लेखेर दिनुहुन्छ, तर काम हुँदैन । क्याबिनेटलगायत अरू निकायले राष्ट्रपतिले गर्नुपर्ने काम छ भने राष्ट्रपति नभएको वेलामा अगाडि नै बढाउँदैनन् । विभिन्न निकायहरूले पनि अहिले राष्ट्रपतिज्यू हुनुहुन्न भन्छन्, चुप लाग्छन् । राष्ट्रपति कार्यबाहक छ भन्ने कुरा कसैले पनि सोच्दै सोच्दैन । अहिले उपराष्ट्रपतिलाई सोध्दा पनि हुन्छ, राष्ट्रपतिज्यू बाहिर जाँदा केही काम पाउनुभयो कि भएन भनेर । अहँ केही हुँदैन । अनि दिउँसोभरि के गरेर बस्ने ? एक दिन होइन, दुई दिन होइन ।

सरकारको सेवा/सुविधा कस्तो पाइरहनुभएको छ ? 

छैन । केही आएको छैन । त्यही सेक्युरिटी दिएको छ । सेक्युरिटीमा पनि पहिला त थुप्रै थिए, अहिले घटेर ५ जना छन् । सेक्युरिटी त कहिले यो हट्ला, कहिले भागेर जालाजस्तो भइरहेको छ । सरकारले अरू सुविधाचाहिँ दिँदैन भने मलाई यो सेक्युरिटीचाहिँ किन चाहियो ? यो सेक्युरिटी मैले मागेको पनि छैन । सेक्युरिटी हुँदा घरमा मान्छे छन् भन्ने मात्रै हो अरू केही फाइदा छैन । बरु घाटैघाटा छ । पानी, बिजुली, कोठा सबै सित्तैमा दिनुपर्‍यो ।

सेवासुविधा त उपराष्ट्रपति हुँदा पनि खासै थिएन । म उपराष्ट्रपति हुँदा पनि सरकारले दिने सुविधाबाट केही पुगेको होइन । मेरो कस्तो अनुभव छ भने यदि कोही अत्याधिक माछामासु खाने उपराष्ट्रपति भयो भने त उसले आफ्नो घरबाटै मासुको पैसा हाल्नुपर्ने हुन्छ । सरकारले दिएको पैसाले मासु खान पनि पुग्दैन । मेरो किचेनमा त सरकारले मलाई दिएको सीमित पैसाले भान्सा तयार गर्नुपथ्र्याे । त्यो पैसा यति थोरै हुन्थ्यो कि मासु खान पनि पुग्दैनथ्यो । कोही कमिसन खोर भयो भने उसले पुर्‍याउला । अब, अहिले पदबाट निवृत्त भएपछि झन् कुनै सुविधा नै दिएको छैन । मलाई सुरुसुरुमा ४५ हजार तलब दिएको थियो । अनि त्यति नै बराबरको अर्काे सुविधा दिन्थ्यो । आयकर काटेर ६५/७० हजार जति आउँथ्यो । अनि त्यति पैसाले गेस्टलाई खुवाउने कि आफन्तलाई खुवाउने कि आफू खाने ?

सरकारसँग अहिले पनि सेवासुविधा पनि माग्नुभएको छ ?

राज्यले ०७३ तिर पूर्वपदाधिकारीका लागि सेवासुविधाको व्यवस्था गर्ने भन्दै विधेयक तयार गरेको थियो । त्यो विधेयक कहाँ गयो, थाहा छैन । विधेयक आइसकेपछि छुट्टै सुविधा माग्ने कुरा भएन । त्यतिवेला राष्ट्रपतिले माग्नुभयो, उहाँलाई दिइयो । मचाहिँ ऐन बन्ला र सुविधा आउला भन्दाभन्दै विधेयक नै गायब भयो । सबैलाई दिने भएपछि मैले किन छुट्टै माग्ने भनेर वास्ता गरिनँ । दिने भएपछि सबैलाई दिनुपर्छ, छुट्याउन पाइँदैन ।

राष्ट्रपति–उपराष्ट्रपतिजस्तो पदमा प्रायः दलकै मान्छे आउने गरेको देखिन्छ । नेपालमा पनि अरू नेता दलबाटै आएका छन् । तपाईं कानुनी क्षेत्रको मान्छेले कसरी त्यो अवसर हात पार्नुभयो ?

न्याय क्षेत्रको मान्छे नेपालकै हैनन्, उनीहरू पदमा आउनै हुँदैन भन्ने कहीँ लेखेको छ र ? छैन नि । त्यसवेला देश आन्दोलनमा थियो । मधेसी दल पनि आन्दोलित थिए । मधेस आन्दोलन हुँदा फोरम, सद्भावना र तमलोपा थिए । यी पार्टीमध्ये फोरमसँग नजिक थिएँ म । उनको पार्टीको काम पनि हेरिदिन्थेँ । त्यसपछि उपेन्द्रजीले मलाई सिफारिस गर्नुभयो । मसँग सल्लाह गर्नुभयो । मैले पनि उपराष्ट्रपति बन्ने भएपछि ‘हुन्छ’ भनिदिएँ ।

हिजो तपाईंलाई उपराष्ट्रपति बनाउने पार्टी र त्यसका नेता उपेन्द्र यादवसँग कत्तिको नजिक हुनुहुन्छ ? भेटघाट भइरहन्छ ? 

हिजोआज कुनै भेटघाट छैन, यादवजीसँग । हिजो मलाई जुन पार्टीले उपराष्ट्रपति बनाएको थियो, त्यो पार्टी नै छैन अहिले । त्यसो भएपछि म उपेन्द्र यादवको पछि लागेर किन हिडौँ ? म सुरुदेखि उनको पार्टीमा लागेको पनि हैन । उपराष्ट्रपति हुन मैले दबाब दिएको पनि हैन । म व्यक्ति विशेषको पछि लाग्दिनँ ।

उपराष्ट्रपति चुनिएपछि तपाईंले हिन्दी भाषामा पदको शपथ लिँदा असाध्यै विवाद भयो । मान्छे आन्दोलित पनि भए । अहिले त्यो घटनालाई पछि फर्केर कसरी हेर्नुहुन्छ ?

मैले जे गरेँ, ठीक गरेँ । अहिले त १२३ भाषामा जोसुकैले शपथ लिन सक्छन् । यसको सुरुवात मैले नै गरेको हुँ । संविधानको सातौँ संशोधन गरेर जसले पनि आफ्नो मातृभाषामा शपथ लिन पाउने व्यवस्था गरियो । त्यसपछि प्रचलन नै सुरु भयो । म त्यस घटनाप्रति व्यक्तिगत हिसाबले गर्व गर्छु ।

हिन्दी भाषामा शपथ गर्नुअघि कुनै नेतासँग सल्लाह पनि गर्नुभएको थियो ? 

मैले कुन भाषामा शपथ गर्छु भनेर केपी ओली, प्रचण्ड वा राजेन्द्र महतोसँग सोध्न जाने कुरा भएन । कुन भाषामा गर्ने भन्ने त मेरो कुरा हो, अरूलाई किन सोधी हिँड्नू ? उपराष्ट्रपति हुनलाई उम्मेदवारचाहिँ फोरमले बनाएको हुनाले फोरमका अध्यक्ष उपेन्द्र यादवजीसँग सल्लाह गरेको थिएँ । अरू त किन सोध्दै हिँड्नू ?

हिन्दी भाषामा शपथ लिएपछि तपाईंले केही नेताहरूसँग त भेट्नुभयो होला । उनीहरूसँग चाहिँ एक्लाएक्लै हुँदा कस्ता कुराकानी भए ? 

मधेसी दलका नेताहरूसँग भेटघाट भएको थियो । उनीहरूले मलाई नेपाली भाषामा शपथ लिइहाल्नुस् भनेर अनुरोध गरेका थिए । सरकारमा भएका दलको दबाबबाट उनीहरूले मलाई अनुरोध गरेका हुन सक्छन् ।

को–को नेतासँग भेट भएको थियो त्यतिवेला ?

विजय गच्छदार, राजेन्द्र महतो, महन्थ ठाकुरलगायतका नेताहरू नै नेपालीमा शपथ लिनुप¥यो भनेर आउनुभएको थियो । नेपालीमा लिनुपर्छ भन्नेहरू एमालेका नेताहरू पनि थिए ।

देशको पछिल्लो राजनीतिक घटनाक्रमलाई कसरी हेरिरहनुभएको छ ?

राजनीति पहिले जस्तो थियो, अहिले पनि उस्तै छ । दुईतिहाइको सरकार छ, स्थिर छ । यो मुलुकका लागि राम्रै विषय हो, तर बाँकी विषय उस्तै हो । देश देख्दा त विरक्त लाग्ने छ, तर सडकमा गएर टेबुल ठटाएर भएन । अहिले पनि लुट्नेले लुटिरहेकै छन्, मुलुकलाई । सरकार नामर्द जस्तो छ । नेताहरू यो गर्छु र उ गर्छु भनेर भाषण गर्छन्, तर वास्तविक धरातल हेर्दा लथालिंग छ । यहाँका पार्टीहरू सबै मनमौजी भए ।