१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ कार्तिक १७ आइतबार ०६:५६:००
Read Time : > 1 मिनेट
समाचार

उदाउँदो सूर्यलाई अर्घ्य  दिएर विधिवत् रूपमा छठ पर्व सम्पन्न हुँदै

छठ पर्वको मुख्य दिन शनिबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो

Read Time : > 1 मिनेट
२०७६ कार्तिक १७ आइतबार ०६:५६:००

मिथिलाञ्चलमा हर्षोल्लासका साथ मनाइने छठ पर्व आज विधिवत् रूपमा सम्पन्न हुँदै छ । बिहान उदाउँदो सूर्यलाई अर्घ्य  दिएपछि छठ पर्व विधिवत् रूपमा सम्पन्न हुने गर्छ । चारदिवसीय छठ पर्वको मुख्य दिन शनिबार साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिइएको छ ।

परिवार एवं सन्तानको सुख–समृद्धिको कामना गर्दै श्रद्धापूर्वक मनाइने छठ पर्वको अवसरमा पोखरी, नदी तथा जलाशयमा व्रतालु जम्मा भई सामूहिक रूपमा पर्व मनाउने गर्छन् । आदिदेव सूर्य भगवान्लाई अर्घ्य दिन मिथिलाञ्चलका नदी, तलाउ, पोखरी, इनारलगायत जलाशयका किनारमा घाट बनाएर विशेष रूपले सिँगारिएको छ ।

जनकपुरका धार्मिक तथा ऐतिहासिक पोखरी, तलाउ, गंगासागर, धनुसागर, अंगराजसर, दशरथ तलाउ आदिलाई दुलहीझैँ सजाएर झकिझकाउ बनाइएको छ । घाटहरू झिलमिले बत्तीले रातिको समय झनै मनमोहक देखिएका छन् । त्यस्तै, गाउँ–घर र सहर–बजारका गल्ली–गल्लीमा जताततै गुन्जिएका सुमधुर गीत–संगीतले मिथिलाञ्चलको रौनक नै बदलिएको छ ।

छठ पर्वको पहिलो दिन व्रतालु नुहाएर अरबा अरबाइन भोजन गर्ने गर्छन् भने दोस्रोे दिनको साँझ प्रसादका रूपमा चामल, सक्खर र दूध मिलाएर बनाएको खीर ग्रहण गरी खरना गर्छन् । त्यस्तै, तेस्रोे दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिन तयार पारेको पूजा सामग्री घाटमा लगेर पूजा गर्ने गरिन्छ । चौथो दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ पर्वको विधिवत् समापन हुन्छ ।

छठ पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हातीलगायत सामग्री चढाइन्छन् । त्यसैगरी, प्रसादका रूपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, बेसार, अदुवा र विविध प्रकारका मिठाइ तथा फलफूल सूर्य देवता अर्थात् दिनानाथलाई चढाउने गरिन्छ । अघ्र्य दिने व्रतालु ४८ घन्टासम्म पानी पनि नखाई उपवास बस्ने गर्छन् । छठ पर्वमा सूर्य भगवान्लाई अर्घ्य दिने परिकार अत्यन्तै नियम र निष्ठापूर्वक तयार गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वका रूपमा मानिन्छ ।

 प्रदेश प्रमुखले भेटे भक्तजन 
यसैबीच, प्रदेश २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले जनकपुरधामस्थित गंगासागरको छठको घाटमा पुगी व्रतालुको हौसला बढाएका छन् । छठ पर्व तराईको महापर्व रहेकाले प्रत्येक वर्ष यो धुमधामसँग मनाइने गरेको उनले बताए । ‘तपाईंहरूको मनोकांक्षा छठी माताले पूरा गरून्, यसले हाम्रा कला–संस्कृतिको संरक्षण र प्रर्वद्धन हुन्छ,’ उनले भने ।