१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ कार्तिक १५ शुक्रबार १४:४७:००
Read Time : > 1 मिनेट
समाचार

गरिमा धानमा बाला नलागेका पीडित किसानलाई सरकारले क्षतिपूर्ति दिने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ कार्तिक १५ शुक्रबार १४:४७:००

सरकारले गरिमा धानमा बाला नलागेका पीडित किसानलाई क्षतिपूर्ति दिने भएको छ ।

कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री रामकुमारी चौंधरीले सो धानमा बाला नलागेपछि मारमा परेका किसानहरुलाई सरकारले क्षतिपूर्ति दिन लागेको जानकारी दिएका हुन् । शुक्रबार संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उनले सो बीउबीजन नेपालमा आयात गर्ने कम्पनीमार्फत किसानलाई क्षतिपूर्ति दिने गरी क्षतिको एकिन गर्न एक समिति पनि सरकारले गठन गरेको बताइन् ।

समितिले एक महिना भित्र दिएको प्रतिवेदनको आधारमा पीडित किसानलाई क्षतिपूर्तिको व्यवस्था गर्ने सरकारको तयारी छ । दाङस्थित सनराईज एग्रीकल्चर रिसर्च सेन्टरले भारतको हैदराबादस्थित रिनोभा सिड साईन्स इन्डिया नामक कम्पनीबाट सो जातको धानको बीउ नेपाल भित्र्याई विक्रीवितरण गरेको थियो । तर यो धानमा समयमै बाला नलागेपछि किसानहरु मारमा परेका छन् । राज्यमन्त्री चौंधरीले सो धानको बीउ आयात गर्ने कम्पनी र भारतीय कम्पनीलाई पनि कार्वाहीको दायरामा ल्याउन सरकारले वीउबीजनसम्बन्धि कानुन संशोधन प्रक्रिया पनि अघि बढाएको स्पष्ट पारिन् ।

बैठकमा बीउबीजन तथा गुण नियन्त्रण केन्द्रका अध्यक्ष मदन थापाले सो बीउ अर्कै जातको परेको अनुसन्धानले देखाएको उल्लेख गर्दै उनीहरुलाई कारबाही दायरामा ल्याउनुपर्ने बताइन् । उनले सो धानको वाला लाग्ने, नलाग्ने अझै अनुसन्धानकै क्रममा रहेको पनि समितिलाई जानकारी गराए ।

यता, समितिका सदस्यहरुले भने बीउबीजन जस्तो संवेदनशील विषयको आयात गर्ने काम व्यक्तिलाई नदिई सरकार आफैलाई गर्न सचेत गराएका थिए । पूर्व कृषिमन्त्री समेत रहेका समितिका सदस्य हरिबोल गजुरेलले किसानलाई मारमा पार्ने भएकाले बीउबीजन जस्तो संवेदनशील विषयको आयात आफैंले गरेर कृषकलाई विक्रीवितरणको व्यवस्था गर्न सरकारलाई सचेत गराए ।

समितिका सदस्यहरुले गरिमा धानको बीउ भनेर झुक्याउने कम्पनीमाथि कडा कारबाही गर्न पनि सरकारको ध्यानाकर्षण गराएका थिए । नेपालमा गरिमा जातको धान कैलाली, कन्चनपुर, बाँके, बर्दिया, कपिलबस्तु, तनहँ र चितवन जिल्लामा बढी लगाइएको छ ।