१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ कार्तिक १५ शुक्रबार ०६:२९:००
Read Time : > 1 मिनेट
समाचार

भरतपुर अस्पतालको आइसियू एक महिनादेखि बन्द

Read Time : > 1 मिनेट
२०७६ कार्तिक १५ शुक्रबार ०६:२९:००

जनशक्ति अभावका कारण भरतपुर अस्पतालमा एक महिनादेखि आइसियू सेवा प्रभावित बनेको छ । २० बेडको आइसियू रहे पनि हाल १० बेड मात्र सञ्चालनमा रहेका अस्पताल प्रशासनले जनाएको छ । 

सरसफाइको बहाना बनाएर दसैँअघि नै अस्पतालले १० बेड आइसियू सञ्चालन बन्द गरेको थियो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले हाल १० बेड मात्रै आइसियू सञ्चालन भइरहेको बताए  । आवश्यक डाक्टर तथा नर्स नहुँदा सबै आइसियू सेवा सुचारु गर्न नसकिएको उनले बताए । 

रिफर गर्न अस्पताल बाध्य
जनशक्ति अभावले उपचार सेवा दिन नसकेपछि अस्पतालले गम्भीर अवस्थाका कतिपय बिरामीलाई पनि साधारण बेडमै राखेर उपचार गराइरहेको छ । कतिपयलाई भने रिफर गरेर अन्य अस्पताल पठाउने गरेको छ । ‘मुख्य समस्या जनशक्ति अभाव नै हो,’ मेसु डा. तिवारीले भने, ‘आवश्यक डाक्टर र नर्स नहुँदा संवेदनशील कक्षका रूपमा रहेको आइसियू बन्द भइरहेको छ ।’ 

बन्द गर्नुको अर्को कारण आइसियू कक्षको नियमित सरसफाइसमेत रहेको बताए । तर, पूर्ण सरसफाइका लागि ३ दिन बन्द गरे पुग्छ । भरतपुर अस्पतालको आइसियूका आधा शøया महिना दिनदेखि बन्द छन् । भएको जनशक्ति कोही पढ्न जाने, कोही व्यावहारिक कारणले छाड्ने गर्दा समस्या भएको उनले बताए । 

अस्पतालका आइसियू इन्चार्ज डा. प्रकाश खतिवडाले भने बिरामीको चाप कम भएकाले बन्द हुँदा खासै प्रभाव नपरेको बताए । ‘आइसियू निकै संक्रमणयुक्त क्षेत्र हो, त्यसको नियमित सरसफाइ आवश्यक छ,’ उनले भने, ‘डेंगु संक्रमणमा कमी भएकाले आइसियू कक्षको प्रयोग पनि कम भएको छ । त्यसैले बन्द हुँदा पनि ठूलो प्रभाव परेको छैन । ’ 

दुईजना नर्सको भरमा आइसियू कक्ष
अति संवेदनशील मानिने आइसियू कक्षमा हरेक बेडका बिरामीको नियमित निगरानी राख्नुपर्ने हुन्छ । तर, यस्तो कामका लागि जम्मा दुईजना नर्स परिचालित छन् । उनीहरूले नै सबै बिरामीको हेरचाह गरिरहेका छन् । ६ जना मेडिकल अफिसर नियमित काममा हुनुपर्नेमा चारजनाले सेवा दिइरहेका छन् । अस्पतालले आइसियूमा काम गर्ने केहीलाई हटाएर अन्य स्थानमा पठाएको छ । 

‘अप्ठ्यारो अवस्थामा ड्युटीमा रहेकाले हामीलाई खबर गर्छन्, हामी तत्काल पुग्छौँ,’ इन्चार्ज डा. खतिवडाले भने, ‘सामान्य अवस्थामा नर्स र भएका मेडिकल अफिसरहरूले धानिरहेका छन् ।’ भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले कर्मचारी व्यवस्थापन र सरसफाइ दुवै कारणले आइसियू बन्द भएको बताए । पुनः सञ्चालनका लागि छलफल भइरहेको समेत उनले बताए ।