१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ कार्तिक १३ बुधबार ०८:२५:००
Read Time : > 1 मिनेट
अर्थ

निजगढ विमानस्थल बनाउन सवा लाख रूख काट्दा पुग्ने

Read Time : > 1 मिनेट
२०७६ कार्तिक १३ बुधबार ०८:२५:००

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सवा लाख मात्र रूख काटे पुग्ने भएको छ । बारामा बन्न लागेको उक्त विमानस्थलका लागि काटिने रूखको विषयलाई लिएर विभिन्न बहस भइरहेका वेला आयोजना प्रमुख ओम शर्माले भने न्यून संख्यामा रूखको क्षति गरी विमानस्थल निर्माण गर्न सकिने तथ्यांक सार्वजनिक गरेका छन् । सिमरामा एक कार्यक्रमको आयोजना गरी शर्माले वातावरणलाई प्रभाव नपर्ने गरी न्यून संख्यामै रूख काटेर विमानस्थल निर्माण गर्न सकिने बताएका हुन् । 

सवा लाख रूख काट्दा दुई धावनमार्ग
दुई धावनमार्गसहितको विमानस्थल निर्माणका लागि सवा लाख मात्र रूख काट्दा पुग्ने तथ्यांक शर्माले प्रस्तुत गरे । उनले भने, ‘अन्तर्राष्ट्रिय मापदण्डबमोजिमका दुई धावनमार्ग र अन्य आवश्यक पूर्वाधार निर्माणका लागि बढीमा सवा लाख रूख काटे पुग्छ ।’  

विमानस्थल निर्माण गर्न आवश्यक २ हजार ३ सय ५० हेक्टर क्षेत्रफलमध्ये १ हजार ६ सय ५० हेक्टर क्षेत्रफल मात्र वन क्षेत्र भएको भन्दै उनले बताए । शर्माले भने, ‘यो क्षेत्रफलमा पनि साललगायतका ठूला रूखको संख्या ज्यादै न्यून छ ।’

पसाह खोलादेखि पूर्व बकैयासम्मको वन क्षेत्रलाई १२ क्लस्टरमा विभाजन गरी त्यहाँ रहेका रूख र त्यसका प्रजातिहरूको समेत अध्ययन गरिएको आयोजनाले जनाएको छ । विमानस्थल निर्माण हुने क्षेत्रमध्ये करिब ६ सय हेक्टरमा हाल टाँगिया बस्ती रहेको छ भने १ सय हेक्टर क्षेत्रफलमा बुट्यान क्षेत्र मात्र रहेको छ । 

एक रूख काट्दा दश रूख रोप्ने
हाल संशोधित नियमावलीअनुसार एक रूखबराबर १० रूख रोप्नुपर्ने आयोजनाले जनाएको छ । यसरी वृक्षारोपण गर्दा प्रतिहेक्टर सात सय रूख रोप्ने र जसका लागि कुल १ हजार ८ सय ५० हेक्टर क्षेत्रफल खाली जमिन आवश्यक पर्ने आयोजनाले जनाएको छ । 

यसरी वृक्षारोपणका लागि प्रदेश दुईका बारा, पर्सा, रौतहट, सर्लाही र प्रदेश तिनको मकवानपुरका केही खाली स्थानहरूको पहिचानसमेत भइसकेको आयोजना प्रमुख शर्माले बताए । ‘सम्भवतः वृक्षारोपणका लागि  हामी प्रदेश दुईभन्दा बाहिर जानुनपर्ने पनि हुन सक्छ, आवश्यक परेका खण्डमा मकवानपुरका केही भूभागहरूको समेत पहिचान गरी राखिएको छ,’ प्रमुख शर्माले भने ।