२०७६ कार्तिक ११ सोमबार १६:०५:००
 प्रबिता श्रेष्ठ

बेवारिसे गाईका संरक्षक

गाईतिहार विशेष

०७१ सालमा आरबी न्यौपानेले ‘मठ–मन्दिर, गाई–बाच्छा बचाऊ तथा समाज विकास अभियान’ नामक संस्था खोले । संस्थाको नारा छ, ‘पृथ्वी सबको साझा हो, सबले बाँच्न पाउनुपर्छ ।’ सोही संस्थामार्फत सडकमा अलपत्र गाईको उद्धार गरेर पशुपतिनाथ मन्दिर परिसरमा उनले संरक्षण गर्दै आएका छन्, जहाँ करिब डेढ सय गाई छन् । त्यसअघि उनले करिब सात वर्ष सडकमा छाडा चौपायाको सेवा गरेका थिए । शुभेच्छुकहरूबाट अहिले न्यौपानेले उपनाम नै पाएका छन्, ‘गोपाल’ ।

आरबी न्यौपाने
अभियन्ता

छाडा चौपायाको सेवा गर्ने क्रममा बाटोमा एकपटक तीनवटा बाच्छा गाडीले ठक्कर दिएको अवस्थामा भेटिए । तिनलाई बचाउन नपाएकामा उनलाई पीडाबोध भयो । त्यही पीडा कम गर्न उनले छाडा गाई–बाच्छा संरक्षणका लागि संस्थागत रूपमै लाग्ने अठोट गरे । पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्यसचिव डा. गोविन्द टण्डनले ०७१ सालमा पशुपतिनाथ मन्दिरनजिक ती चौपायाको संरक्षणका लागि जग्गा उपलब्ध गराइदिए । गृहजिल्ला काभ्रेको नमोबुद्ध नगरपालिका–६ चरंगेफेदीमा पनि उनले ‘गाई कुञ्ज’ खोलेका छन् । त्यहाँ पनि करिब एक सय गाई छन् । 

हरेक वर्ष दीपावली नजिकिँदा न्यौपानेमा अलग्गै भाव पैदा हुन्छ । दुवै ठाउँमा गाईतिहार र गोबर्द्धन पूजाको दिन मानिसको घुइँचो लाग्छ । ‘हिन्दू सनातन धर्मावलम्बीको बाहुल्य रहेको नेपालमा गाईलाई देवीको अंशका रूपमा पूजा गरिन्छ,’ उनी भन्छन्, ‘तर, यहीँ गाईलाई बेवास्ता भइरहेको छ ।’

संस्था स्थापना भएपछि उनीहरूले राति सडकआसपास छाडिएका चौपाया पत्ता लगाउँथे, बिहान सबै मिलेर ती गाईको उद्धार गर्थे । बिस्तारै संस्थाबाहिरका मानिसको पनि साथ पाउन थाले । दुवै गौशालाको व्यवस्थापनमा दैनिक करिब ५० हजार रुपैयाँ खर्च हुन्छ । ‘सहरी इलाकामा गाईका लागि घाँस, पराल, दाना, पानी जोहो गर्न गाह्रो छ,’ उनी भन्छन् । सडकमा छाडा चौपाया देखिएको बताउँदै फोन गर्ने धेरै छन् । तर, न्यौपानेले उद्धार गरिएका गाईको आहाराका लागि सहयोग गर्नेहरू भेटेका छैनन् । पशुपति दर्शनका लागि आउने भक्तजनबाट सानो परिमाणमा दान प्राप्त भए पनि ठूलै राहत पाइने उनको भनाइ छ । गौशालामा ल्याइएको परालको भुक्तानी दिन उनलाई धौ–धौ पर्दै आएको छ । 

स्वदेशमा सहयोग नपाए पनि न्यौपानेको प्रयासलाई बिबिसीले भिडियो रिपोर्ट नै बनाइसकेको छ । क्यानडा, अस्ट्रेलिया, फ्रान्स र स्विट्जरल्यान्डका सञ्चारमाध्यमले पनि उनको प्रयासको सराहना गर्दै समाचार स्टोरी छापिसकेका छन् । विदेशी सञ्चारमाध्यमले उनलाई ‘एक्लो गोठालो’को संज्ञा नै दिएका छन् । विदेशबाटै उनलाई छाडा चौपायाको उद्धारका लागि बुलेट बाइक र क्यारिअर उपहारमा प्राप्त भएका छन् । 

सडकमा अलपत्र गाईलाई उद्धार गरेर पशुपतिनाथ मन्दिर परिसरमा आरबी न्यौपानेले संरक्षण गर्दै आएका छन्, जहाँ करिब डेढ सय गाई छन्, शुभेच्छुकहरूबाट उनले उपनाम नै पाएका छन्, ‘गोपाल’ 

‘अहिले रुस, अमेरिका, जर्मनीलगायत मुलुकमा गाई संरक्षण अभियान नै चलाइएको छ,’ न्यौपाने भन्छन् । नेपालमा गाई संरक्षणमा लागिपरेबापत न्यौपाने २० नोभेम्बर २०१८ मा ‘दी सुप्रिम मास्टर चिङहाई इन्टरनेसनल एसोसिएसन’बाट ‘साइनिङ वल्र्ड कम्प्यासन अवार्ड’बाट सम्मानित भए । हालसम्म सरकारबाट पाएको सहयोग हो– मत्स्य विकास केन्द्र, मकवानपुरले गाईको आहारा खरिदका लागि गत आर्थिक वर्ष ०७५/७६ मा दिएको चार लाख ९३ हजार रुपैयाँ । यस्तै, गत असोजमा संघीय सरकारको पशुसेवा विभागले पशु कल्याणमा काम गरेबापत प्रदेश–३ को उत्कृष्ट पुरस्कार पनि प्रदान गरेको छ ।

पशु कल्याणमा लाग्दा न्यौपानेले सुरुमा परिवारको सहयोग पाएनन् । परिवारलाई सहमत गराउन उनले आफ्नो कर्म धर्म भएकाले त्यसलाई अस्वीकार गरिरहे गृहस्थ जीवन त्याग्ने निर्णयसम्म सुनाउनुपर्‍यो । अहिले भने परिवार र साथीभाइ सबैबाट उनले प्रशंसा पाइरहेका छन् ।

उनका अनुसार जापानले गाईको अर्गानिक मल आयात गर्दै आएको छ । नेपालमा भने त्यही मल ढलमा बगिरहेको छ । त्यसको सदुपयोग गर्न सके स्वदेशी खपत मात्र होइन, विदेश निर्यातको सम्भावना पनि रहेको उनी बताउँछन् । यस्तै, करिब एक सय ४८ प्रकारका रोगको निदानमा गहुँत उपयोगी मानिएको छ । यसलाई व्यावसायिक रूप दिन गाह्रो नभएको उनको बुझाइ छ । देशभर छाडा छाडिएका सयौँ गाईको संरक्षणका लागि राज्यले गौकुञ्ज निर्माण गरिदिनुपर्ने उनी बताउँछन् ।