मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
खगेन्द्र भट्टराई 
२०७५ पौष २६ बिहीबार १२:३८:००
Read Time : > 1 मिनेट
प्रदेश

राउटे बस्तीका अधिकांश बालबालिकामा कुपोषण र सुकेनास 

Read Time : > 1 मिनेट
खगेन्द्र भट्टराई 
२०७५ पौष २६ बिहीबार १२:३८:००

राउटे समुदायका बालबालिकामा कुपोषण र सुकेनासबाट पीडित भएका छन् । सुर्खेतको लेकबेँसी–१ रातेखोलास्थित राउटे बस्तीका अधिकांश बालबालिका कुपोषित भेटिएका हुन् । 

कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले राउटे बस्तीमा स्वास्थ्य शिविर संचालन गरेको थियो । शिविरमा स्वास्थ्य परीक्षण गराएका अधिकांश बालबालिका विभिन्न रोगको संक्रमणमा रहेको पाइएको डा. लोकेन्द्र थापाले बताए ।

सबै बालबालिका अस्वस्थ
एक सय ४५ जनसंख्या रहेको राउटे बस्तीमा ७४ बालबालिका छन् । उनीहरूमध्ये ५० बालबालिकाको स्वास्थ्य परीक्षण गर्दा पूर्ण रूपमा स्वस्थ बच्चा एउटा पनि नभेटिएको डा.थापाले बताए । ‘राउटे समुदायका बालबालिकाले स्वास्थ्य परीक्षण गर्न मान्दैेनन् । स्वास्थ्य परीक्षण गराउनेमध्ये पनि कोही पूर्ण स्वस्थ भेटिएनन्,’ डा. थापाले भने । 

बालबालिकामा पौष्टिक आहारको कमीले हुने समस्याहरू देखा परेको उनले बताए । ‘बालबालिकामा कुपोषण, सुकेनास, कान पाक्ने र छाला पाक्ने (लुतो)जस्ता रोगहरू देखिएको छ,’ उनले भने । 

महिलामा रगतको कमी
राउटे समुदायका महिलाहरूमा रगतको कमी देखिएको छ । सानो उमेरमा विवाह गर्ने, बच्चा जन्माउने तथा आइरनको मात्रा बढाउन ध्यान नदिँदा महिलाहरूमा रगतको कमी देखिएको डा. थापाले बताए । 

त्यस्तै, बयस्क र वृद्धवृद्धामा पनि चोटपटक, दम र खोकीजस्ता समस्या देखिएका छन् । बस्तीनजिकै शौचालय, खाना पकाउने ठाउँ र खाना खाने विषयमा पनि जानकारी नभएकाले उनीहरूमा विभिन्न रोग देखिएको डा. थापाको भनाइ छ । राउटे समुदायका लागि महिनामा कम्तीमा दुईपटक स्वास्थ्य परीक्षण गर्नुपर्ने उनको सुझाव छ । 

पोषणयुक्त खाना नखाँदा समस्या
राउटे समुदायले बालबालिकालाई पोषणजन्य खाना खान नदिने भएकाले समस्या देखिएको राउटे समुदायको उत्थानका लागि काम गरिरहेको सामाजिक विकास केन्द्र (सोसेक)का अध्यक्ष हीरासिंह थापाले बताए । ‘हामीले बालबालिकाका लागि पोषणयुक्त खानेकुराको व्यवस्था गरेका थियौँ,’ उनले भने, ‘तर, बस्तीमा बालबालिकालाई बाहिरबाट लगेको खानेकुरा खान दिइँदैन ।’  

प्रदेश सरकारद्वारा सामाजिक सुरक्षा भत्ता वितरण
राउटे समुदायका एक सय ४५ जनालाई  सामाजिक सुरक्षा भत्ताबापतको रकम वितरण गरिएको छ । उनीहरूलाई सामाजिक विकास मन्त्रालयले कोट, जुत्ता, खाद्यान्न, प्रिम्याट र बालबालिकाका लागि खेलौनासमेत वितरण गरेको छ । परिचयपत्रका आधारमा राउटे समुदायले सामाजिक सुरक्षा भत्ता पाउँदै आएका छन् । 

प्रतिव्यक्ति दुई हजारका दरले भत्ता पाउँदै आएका उनीहरूका लागि दुई लाख ९० हजार मासिक भत्ता उपलब्ध गराइएको सामाजिक विकास मन्त्रालयका सचिव मानबहादुर नेपालीले बताए ।  

राउटे बस्तीमा अहेव र शिक्षिका 
लेकबेँसी नगरपालिका–१ रातेखोलामा रहेको राउटे बस्तीमा स्वास्थ्यकर्मी र शिक्षिका खटाइएको छ । पढ्न, लेख्न नरुचाउने र औषधिमुलोका लागि जंगली जडीबुटीको भर पर्ने राउटे बस्तीमा एकजना अहेव तथा शिक्षिका खटाइएको हो । 

सामाजिक विकास केन्द्रले राउटे बस्तीका दुईजना कर्मचारीको व्यवस्था गरेको जनाएको छ । राउटे बस्तीमा स्वास्थ्य उपचारका लागि अहेव र बालबालिकालाई पढाउन शिक्षिका पठाइएको केन्द्रका अध्यक्ष हिरासिंह थापाले बताए । ‘शिक्षिकाले राउटे महिला तथा बालबालिकासँग नजिक भएर पढ्न र सरसफाइ गर्न सिकाउने गरेका छन्,’ उनले भने ।