१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ कार्तिक ९ शनिबार ०८:०८:००
Read Time : < 1 मिनेट
प्रदेश

ओखलढुंगामा डेंगु संक्रमणबाट एक महिलाको मृत्यु

Read Time : < 1 मिनेट
२०७६ कार्तिक ९ शनिबार ०८:०८:००

ओखलढुंगामा डेंगु संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । निमोनिया र डेंगुको संक्रमणपछि सिद्धिचरण नगरपालिका १० बेतनीकी २५ वर्षीया गीता धमलाको मृत्यु भएको हो ।

सुरुमा सामान्य ज्वरोको समस्या देखिएपछि स्थानीय स्वास्थ्य संस्थामा उपचार गराएर घरैमा बसेकी धमला सिकिस्त बिरामी भएपछि ओखलढुंगा सामुदायिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । केही दिन अस्पतालमा राख्दा पनि उपचार सम्भव नभएपछि हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको थियो । उपचारकै क्रममा बिहीबार उनको मृत्यु भएको सिद्धिचरण नगरपालिका १० का वडाध्यक्ष दामोदर धमलाले जानकारी दिए । 

‘सुरुमा ज्वरो आएको थियो । मिसन अस्पतालमा लैजाँदा निमोनिया भएको भनेर त्यसको उपचार थालियो,’ धमलाले भने, ‘त्यहाँ उपचार नभएपछि हेलिकोप्टर झिकाएर काठमाडौं पठायौँ । उता, चेक गर्दा डेंगु भएको भनिएको थियो, बचाउन सकिएन ।’ समयमै रोग पहिचान नहुँदा उनलाई बचाउन नसकिएको उनले बताए । 

केही दिनयता संक्रमण बढ्दो
ओखलढुंगामा केही दिनयता डेंगुको संक्रमण बढ्दो छ । गत महिना जिल्लामै पहिलोपटक मानेभञ्ज्याङ गाउँपालिकाको टोक्सेल हर्कपुर क्षेत्रमा १३ जनामा डेंगुको समस्या देखिएको थियो । नियमित औषधि सेवनपछि उनीहरूको अवस्था सामान्य बनेको स्वास्थ्य चौकी टोक्सेलकी अहेव शर्मिला राईले बताइन् । संक्रमण थप बढ्न नदिन सचेतना अपनाइएको उनको भनाइ छ । स्वास्थ्य कार्यालयका ल्याब टेक्सिसियन, मानेभञ्ज्याङ गाउँपालिका स्वास्थ्य शाखाका प्रमुखसहित प्रमुख जिल्ला अधिकारी गणेश आचार्य टोक्सेल पुगेर चेतनामूलक कार्यक्रम गरेका थिए । 

जिल्ला स्वास्थ्य कार्यालयले डेंगु प्रभावित भनिएका व्यक्तिहरूको रगत ल्याएर परीक्षण नगरी राखेको छ । १२ असोजमा प्रमुख जिल्ला अधिकारीसहितको टोलीमा गएर ल्याब टेक्सिसियन साविर मनसुरले संक्रमित भनिएका २३ जनाको रगत ल्याएका थिए । घुर्मीस्थित एक निजी मेडिकलमा किटमार्फत परीक्षण गर्दा डेंगुको संक्रमण देखिएकाहरूको अवस्था पत्ता लगाउन भन्दै रगत निकालिएको थियो । कीट नहुँदा काम गर्न नसकेको स्वास्थ्य कार्यालयका ल्याब टेक्सिसियन साविर मनसुरले बताए ।