१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७६ कार्तिक ७ बिहीबार १०:४९:००
Read Time : > 1 मिनेट
प्रदेश

दुर्व्यवहार भोग्नेलाई नै प्रशासनको जरिवाना !

Read Time : > 1 मिनेट
२०७६ कार्तिक ७ बिहीबार १०:४९:००

मोरङको पथरी शनिश्चरेमा जातीय छुवाछुतको दुव्र्यवहार भोगेका पीडित नै एक हजार रुपैयाँ धरौटी बुझाएर थुनामुक्त भएका छन् । मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलको आदेशमा पीडित डिमोने कामी एक हजार धरौटी बुझाएर थुनामुक्त भएका हुन् । 

पथरी शनिश्चरेमा चियापसल सञ्चालन गर्दै आएका टलकबहादुर पाण्डेकी पत्नी कृष्णकुमारी पाण्डेले २० असोजमा कामीलाई अछुत बन्दै दुव्र्यवहार गरेकी थिइन् । तर, उल्टै कृष्णकुमारी पाण्डेलाई अभद्र व्यहार गरेको आरोपमा इलाका प्रहरी कार्यालय पथरीले ३० असोजमा कामीलाई पक्राउ गरेको थियो । प्रहरीले कामीविरुद्ध अभद्र व्यवहारमा मुद्दा दर्ता गरेको थियो ।

दलित संघ–संस्थाको विरोध 
छुवाछुतको दुर्व्यवहार भोग्ने पीडितलाई नै पक्राउ गरेर झुटो मुद्दा लगाएको भन्दै दलित संघ, संस्थाले विरोध जनाएका छन् । दलित संघ, संस्थाले डिमोनेलाई विनासर्त रिहा गर्न र घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै आएका थिए । 

यो घटनाको  राष्ट्रिय मानवअधिकार आयोगलेसमेत अनुगमन गरेको छ । जातीय विभेद र छुवाछुत घटनामा आयोगले चासो नदिएको गुनासो विभिन्न संघ, संस्थाले गरेपछि मंगलबार राष्ट्रिय मानवअधिकार आयोगको प्रदेश १ कार्यालयले स्थलगत अनुगमन गरेको हो । 

आयोगकी निमित्त प्रमुख तथा अनुसन्धान अधिकृत गीता दहालको नेतृत्वमा गएको टोलीले छुवाछुत भएको घटना स्थल, प्रत्यक्षदर्शी, स्थानीवासी र प्रहरीसँग भेटघाट गरी आवश्यक सोधपुछ गरेको छ ।

घटनाको अनुसन्धान के–कसरी भइरहेको छ भनेर आयोगले जिल्ला प्रहरी कार्यालय मोरङसँग जानकारी मागेको दहालले बताइन् । ‘घटनाको सबै अनुसन्धान सकेर आयोगले प्रतिवेदन तयार गर्नेछ,’ दाहालले भनिन् ।

यस्तो थियो घटना
२० असोजमा डिमोने कामीलाई शनिश्चरे बजारस्थित टलकबहादुर पाण्डेको होटेलमा चियाखाने वेलामा छुवाछुत गरिएको थियो । पीडित कामीले दलित अधिकारकर्मीको सल्लाहमा छुवाछुत गर्ने पाण्डे र रुद्रबहादुर कटुबालविरुद्ध २८ असोजमा इप्रका पथरीमा जातीय विभेद तथा छुवाछुत कसुर ऐन २०६८ अनुसार किटानी जाहेरी दर्ता गराएका थिए । 

किटानी जाहेरी परेपछि प्रहरीले छुवाछुतको व्यवहार गर्ने पाण्डे र कटुवाललाई पक्राउ गरेर अदालतमा म्याद थप गरेको थियो । यता छुवाछुत आरोपी होटेल सञ्चालकका आफन्तले आफूहरूले छुवाछुत नगरेको बरु उल्टै डिमोनेले होटेलमा जबरजस्ती पसेर गालीगलौज गरेको भन्दै उजुरी दिएपछि प्रहरीले डिमोनेलाई पनि पक्राउ गरेर ३० असोजमा अभद्र व्यवहारमा जिप्रका मोरङमा मुद्दा दर्ता गराएको थियो ।