मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ कार्तिक ७ बिहीबार ०९:१९:००
Read Time : > 1 मिनेट
खेलकुद

गौतम बुद्ध क्रिकेट रंगशालाको डिपिआर तयार

Read Time : > 1 मिनेट
२०७६ कार्तिक ७ बिहीबार ०९:१९:००

चितवनमा धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण थालेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) तयार भएको छ । फाउन्डेसनले तोकेको समयभन्दा तीन महिनापछि डिपिआर तयार पारेको हो । फाउन्डेसनले बुधबार भरतपुर महानगरपालिकामा कार्यक्रम आयोजना गरी डिपिआर सार्वजनिक ग¥यो । रंगशाला निर्माणमा विभिन्न अवरोध आएपछि डिपिआर बन्न ढिलो भएको फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसले जानकारी दिएका छन् । 

कामले तीव्रता लिने
डिपिआर तयार भइसकेकाले कामले गति लिने कट्टेलले बताए । ‘यसअघि पनि सामान्य काम भएका थिए, अब डिपिआर नै आइसकेपछि सबै काम व्यवस्थित र दु्रत गतिमा हुनेछन्,’ उनले भने, ‘गत १५ जेठमा भरतपुर–१६ का केही स्थानीयले रंगशालाको बारमा डोजर लगाई भत्काएका थिए, जसले गर्दा रंगशाला निर्माणमा अवरोध भई डिपिआरको काम पनि रोकिएको थियो । यस घटनाको ५३ दिनपछि मात्र रंगशाला निर्माणको काम पुनः भएको थियो ।’ 

कमलको फूल आकारको रंगशाला 
अमेरिका, भारत र नेपालका इन्जिनियरको परामर्शमा नेपालको क्रियटिभ डिजाइन आर्किटेक्ट्स प्रालि र भारतको हफिस नामको कन्सल्टेन्सीले संयुक्त रूपमा रंगशालाको  डिपिआर तयार गरेका हुन् । डिपिआरअनुसार रंगशाला एक लाख ५४ हजार पाँच सय ६ वर्गमिटरमा कमलको फूल आकारको संरचनामा बन्नेछ । रंगशालाको प्रवेशमै पानीमाथि गौतम बुद्धको ठूलो आकारको मूर्ति देखिनेछ । वरिपरि नेपालको पहिचान झल्कने जनावरसमेत रहनेछन् । झ्याल–ढोकामा मल्लकालीन कला झल्कनेछ । क्रिकेट खेललाई प्राथमिकतामा राखी पाँच पिच हुनेछन् । रंगशालामा ३० हजार दर्शकले खेल हेर्न सक्ने फाउन्डेसनका अध्यक्ष कट्टेलले बताए । 

डिपिआरले नयाँ ऊर्जा मिल्यो : मेयर 
रंगशाला निर्माण हुँदैन कि भन्ने शंका नगर्न भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले आग्रह गरेकी छिन् । रंगशाला निर्माणका लागि तयार भएको डिपिआरले नयाँ ऊर्जा मिलेको बताउँदै उनले सबैको सहयोगबाट परियोजना सम्पन्न हुने बताइन् । उनले भनिन्, ‘रंगशाला बन्छ, तर यो गौरवको आयोजना भएकाले यसमा जनता, सरकार सबैको साथ र सहयोग अति आवश्यक छ ।’  भरतपुरमा धुर्मुस–सुन्तली फाउन्डेसनले तीन अर्ब लागतमा दुई वर्षभित्र गौतम बुद्ध रंगशाला बनाउने घोषणा १६ माघ ०७५ मा काठमाडौंमा गरेको थियो ।