१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
प्रवीण आचार्य
२०७६ कार्तिक ७ बिहीबार ०९:१०:००
Read Time : > 4 मिनेट
दृष्टिकोण

सुरक्षित आवास निर्माणका लागि भूपरीक्षण

संरचना निर्माण गर्दा भूकम्पीय जोखिमका अलावा भूसतहको पनि सूक्ष्म अध्ययन हुन जरुरी देखिन्छ

Read Time : > 4 मिनेट
प्रवीण आचार्य
२०७६ कार्तिक ७ बिहीबार ०९:१०:००

नेपालका सहरी क्षेत्रमा हरेक वर्ष ठूलो संख्यामा भवन निर्माणले तीव्रता पाइरहेको छ । राजधानी काठमाडौं र अन्य सहरी क्षेत्रमा हरेक वर्ष ठूलो मात्रामा संरचना निर्माण भइरहेका छन् । यसरी गरिने निर्माण प्राविधिक रूपले कमजोर र जोखिमपूर्ण रहेको विभिन्न समयमा आउने दुर्घटनाका समाचारले पुष्टि गर्ने गरेका छन् भने आगामी दिनमा यस्ता समस्या अझै बढ्दै जान सक्ने देखिन्छ ।

प्राविधिक अथवा विषयविज्ञको उचित परामर्श र सल्लाहविना गरिने यस्ता निर्माणले जोखिम बढाउँदै लगेका छन् । तसर्थ भवन निर्माण गर्दा प्राविधिकको उचित प्रयोग गरी संरचनालाई विपत्बाट जोगाउनुपर्ने आजको आवश्यकता देखिन्छ । सामान्यतया भवन निर्माण गर्दा साह्रै वास्ता नगरिएको भूबनोटको विशिष्ट महत्व हुन्छ । 

वैशाख १२, २०७२ को भूकम्पले नेपालमा ठूलो जनधनको क्षति गराएको थियो । काठमाडौंलगायत सहरी क्षेत्रमा बढी क्षति हुन सक्ने विभिन्न अध्ययनले देखाएता पनि सो भूकम्पबाट यी क्षेत्रमा अनुमान गरिएभन्दा कम क्षति हुन पुगेको थियो । यसका अन्य धेरै कारण भए पनि मुख्य भने अनुमान गरिएभन्दा कम क्षमताको भूकम्प आउनुलाई लिन सकिन्छ । यसका साथै नेपालका मध्यभागमा अवस्थित सहर, जस्तैः काठमाडौं, पोखरालगायत स्थानमा उच्च भूकम्पीय जोखिम रहेको र यी स्थानको भूबनोट कमजोर रहेको विभिन्न अध्ययनले देखाएका छन् ।

 तसर्थ यी स्थानमा संरचना निर्माण गर्दा भूकम्पीय जोखिमका अलावा कमजोर भूसतहको पनि सूक्ष्म अध्ययन हुन जरुरी देखिन्छ । २०७२ को भूकम्पको समयमा काठमाडौंका बालाजु, गोलढुंगा, सीतापाइला, डल्लु, लोकन्थलीलगायत स्थानमा ठूलो संख्यामा घर भासिएका वा ढल्किएका थिए । यसका साथै अरनिको राजमार्गअन्तर्गत लोकन्थली–कौशलटार खण्डमा सडक भासिएको थियो भने मूलपानी, बुङमती, बागडोल, सितापाइलालगायत स्थानको माटोमा तरलीकरणको असर देखिएको थियो । यसैगरी भक्तपुरको लोकन्थलीमा केही महिनाअघि जमिन भासिएर धेरै भवनलाई असर गर्न सक्ने स्थितिमा पुगेको थियो । 

आफूले निर्माण गर्ने संरचना कस्तो भूबनोटमा बन्दै छ र कसरी बलियो संरचना निर्माण गर्न सकिन्छ भन्ने सामान्य हेक्कासमेत नराखी घरको बाहिरी सुन्दरता वा बनावटमा मात्र ध्यान दिने प्रवृत्ति बढ्दो छ
 

काठमाडौंको मूलपानीमा यस्तै समस्याले एउटा घरमा ठूलो क्षति पुगेको समाचार आएको थियो । यसका साथै विगतका वर्षमा पनि काठमाडौंका विभिन्न स्थानमा पहिरोलगायत जमिनसँग सम्बन्धित समस्याले संरचनामा असर पु-याएको हामीले देखिआएकै छौँ । यसरी हेर्दा काठमाडौंको माटोमा भवन निर्माण गर्दा जोखिम न्यूनीकरणका लागि विशेष ध्यान दिनु आवश्यक रहेको देखिन्छ । 

हाल काठमाडौंमा नगरपालिका वा महानगरपालिकामार्फत नक्सा पास गराई भवन निर्माण गर्न सकिने व्यवस्था रहेको छ । तर, सहरी क्षेत्रमा जग्गाको उच्च मूल्यवृद्धि हुनु र सो अनुपातमा आममान्छेको आर्थिक हैसियतमा वृद्धि नहुनाले प्राविधिक पक्षमा लाग्ने खर्च कटौती गरी स्थानीय निकायमार्फत हुने नक्सा पासका लागि मात्र प्राविधिकको प्रयोग हुने गरेको देखिन्छ । यसका साथै आममान्छेले विषयविज्ञको खोजी गर्नेभन्दा काम चलाउका लागि मात्र परामर्श लिने गरेको तीतो यथार्थ जगजाहेर छ । 

आफूले निर्माण गर्ने संरचना कस्तो भूबनोटमा बन्दै छ र कसरी बलियो संरचना निर्माण गर्न सकिन्छ भन्ने सामान्य हेक्कासमेत नराखी घरको बाहिरी सुन्दरता वा बनावटमा मात्र ध्यान दिने प्रवृत्ति पनि बढ्दो छ । धेरै घरधनीले बलियो संरचना निर्माण गर्नेभन्दा सुन्दर संरचना निर्माणमा जोड दिने गरेको र यदि बलियो संरचना बनाउन खोजेमा पनि जमिनभन्दा माथिको संरचना मात्र बलियो हुनुपर्छ भन्ने खालको बुझाइ रहेको देखिन्छ । तर, घरको जग वा जमिनभन्दा मुनिको संरचना र जमिन बलियो भएन भने जमिनमाथिको संरचना जतिसुकै बलियो भए पनि कमजोर नै ठहरिन्छ ।

यस्ता संरचनामा भूकम्पका कम्पनका कारण ढल्किने, भासिने र चर्किने समस्या आउन सक्ने सम्भावना हुन्छ । यसका साथै भिरालो र कमजोर भूसतह र पुरुवा माटो भएको स्थानमा छोटो समयमा गरिने निर्माणमा आमरूपमा गरिने निर्माणको प्रविधिभन्दा केही फरक डिजाइन र विशेष विज्ञता आवश्यक हुँदा पनि अध्ययन र परामर्शविना नै भवन निर्माण गर्दा जोखिम बढ्ने गरेको देखिन्छ ।  

सामान्य रूपमा भन्दा एउटा भवनको बाहिरी बनावट र सुन्दरता आर्किटेक्टले, जमिनमाथिको संरचना स्ट्रकचरल इन्जिनियरले र जमिन मुनि वा जमिनसँग सम्बन्धित अन्य विषयको संरचना जियोटेक्निकल इन्जिनियरले डिजाइन गर्छन् । एउटा संरचना सुन्दर बनाउन आर्किटेक्टको आवश्यकता पर्छ भने संरचना बलियो बनाउन मुख्यतः स्ट्रकचरल र जियोटेक्निकल इन्जिनियरको आवश्यकता पर्छ । तर, आम रूपमा हेर्दा केबल नक्सा पासका लागि मात्र कुनै परामर्शदातामार्फत जग्गाको बनोटअनुरूपको नक्सा बनाउने प्रचलन रहेको छ । यसरी विज्ञको परामर्र्शविना कमजोर भूबनोट भएको स्थानमा कुनै संरचना निर्माण गरिएमा त्यसले जोखिम बढाउँछ । 

हिजोआज नेपालका सहरी क्षेत्रमा हुने निर्माणमा जमिनमाथिको संरचनालाई केही मात्रामा भए पनि बलियो बनाउने प्रयास गरिएको पाइन्छ । तर, घरको जग, घर बस्ने स्थानको बनोट, माटोको किसिम र भारवहन क्षमता, जमिनमुनिको पानीको अवस्थालगायत महत्वपूर्ण विषयलाई मध्यनजर नगरी संरचना निर्माण गर्ने गरेको पाइन्छ । यसले गर्दा उत्तम भूबनोट र माटोको भारवहन क्षमता बढी भएको स्थानमा गरिने निर्माणले खासै ठूलो असर नगरे पनि कमजोर स्थानमा जोखिम निम्तिने र निम्त्याइरहेको देखिन्छ ।  

सामान्यतः नेपालमा ठूला संरचना, जस्तैः पुल, अपार्टमेन्ट, अस्पताल, आदि निर्माण गर्दा माटो परीक्षण गरी माटोको भारवहन क्षमतालगायत अन्य मानक पत्ता लगाई जमिनमुनिको भाग वा जमिनसँग सम्बन्धित विषयको डिजाइन गर्ने प्रचलन रहेको छ । तर, कमजोर धरातलमा गरिने सामान्य आवास निर्माणका लागि पनि माटो परीक्षण वा अध्ययन आवश्यक हुने गर्छ ।

यदि सामान्य प्रचलनमा रहेको निर्माण प्रक्रिया मात्र अपनाएर यस्ता स्थानमा संरचना निर्माण गरिएमा भूकम्पका समयमा घर भासिने, ढल्किने र चर्किने समस्या आउनुका साथै अन्य समयमा पनि माटोले भार थाम्न नसकी संरचना विफल हुने परिस्थिति आउन सक्छ । यसका साथै भिरालो र कमलो माटो भरिएको स्थानमा गरिने निर्माणमा जमिनमुनिको पानीको सतह र माटोको किसिम हेरी पानीको उचित निकासको व्यवस्था गर्न र उचित डिजाइन अवलम्बन गर्न जरुरी हुन्छ । यसरी गरिने निर्माण र अपनाइने प्रक्रिया फरक स्थितिका लागि फरक हुने हुनाले विस्तृत जियोटेक्निकल अध्ययन आवश्यक हुन्छ ।

संरचना बन्ने स्थानको अध्ययन वा माटो परीक्षणपश्चात् माटोको किसिम, भारवहन क्षमता, जमिनमुनि पानीको सतहलगायत संरचनाको डिजाइनका लागि आवश्यक मानकका विषयमा जानकारी प्राप्त गर्न सकिन्छ

 जमिनमाथिको संरचनाको जति भार माटोले कुनै प्रकारको समस्याविना थाम्न सक्छ, त्यसलाई माटोको भारवहन क्षमता भनिन्छ । माटोको प्रकारअनुसार भारवहन क्षमता फरक हुन्छ । माटोमा हुने ओसिलोपनाले माटोको क्षमतामा ह्रास ल्याउँछ । हाल नेपालमा सहरी क्षेत्रमाबाहेक नक्सा पास नगरी संरचना निर्माण गर्ने प्रवृत्ति 
बढ्दो छ भने सहरी क्षेत्रमा नक्सा पासपश्चात् हुने लगभग सबै आवासीय निर्माणमा पनि माटोको क्षमताको कुनै मूल्यांकन नगरी माटोलाई कुनै निश्चित क्षमताको मानी डिजाइन गर्ने प्रचलन बढ्दो छ ।

जमिनमाथिको संरचनामध्ये बिम, पिल्लर र ढलान, सम्बन्धित संरचनामा आउन सक्ने सम्पूर्ण भार थाम्नका लागि कस्तो र कति क्षमताको आवश्यक हुने भन्ने कुरा ‘स्ट्रकचरल एनलाइसिस’मार्फत पत्ता लगाउन सकिन्छ । यसरी गरिने अध्ययनमार्फत जमिनमाथिको संरचना के–कस्तो हाल्ने वा हुनुपर्ने भन्ने कुरा मात्र पत्ता लाग्छ । जमिनमुनिको भाग के–कस्तो हुने भन्ने जमिनको बनोट र माटोको किसिममा भर पर्छ । 

यसका लागि संरचना बन्ने स्थानको अध्ययन जरुरी हुन्छ । तर, नक्सा पासका लागि नेपालका स्थानीय तहमा यससम्बन्धी अध्ययनलाई अनिवार्य गरिएको छैन । तसर्थ कमजोर भूबनोट र कमजोर माटो भएको स्थानमा पनि सबल जमिनमा प्रयोग हुने प्रविधि र त्यही आकार प्रकारका संरचना निर्माण गर्नाले जोखिम निम्तिन्छ । यसका साथै जमिनको बनोट, माटोको किसिम, माटोले थाम्नुपर्ने भार र पानीको सतहअनुसार भिरालो जमिनलाई पहिरो वा भासिनबाट जोगाउने प्रविधि फरक हुन्छ । तर, सहरी क्षेत्रमा भिरालो जमिनमा पनि पानीको उचित निकासको व्यवस्था नगरी सामान्य निर्माण विधि अपनाई संरचना निर्माण गर्ने प्रवृत्ति हावी हुँदै गएको देख्न सकिन्छ ।  

संरचना बन्ने स्थानको अध्ययन वा माटो परीक्षणपश्चात् त्यस स्थानको यथार्थ स्थितिका बारेमा थाहा पाउन सकिन्छ । यस्ता अध्ययनबाट त्यस स्थानको माटोको किसिम, भारवहन क्षमता, जमिनमुनि पानीको सतहलगायत जमिनसँग सम्बन्धित अन्य संरचनाको डिजाइनका लागि आवश्यक मानकका विषयमा जानकारी प्राप्त गर्न सकिन्छ । यसैगरी, अध्ययनपश्चात् माटोलाई संरचना थाम्ने बनाउनका लागि अपनाउनुपर्ने उपाय, पानीको निकासको व्यवस्था गर्नुपर्ने वा नपर्ने विषयमा विज्ञको राय लिनुपर्छ । 

त्यस्तै, घरको जग के–कस्तो आवश्यक पर्ने, भिरालो जमिनमा पहिरोलगायत जोखिम न्यूनीकरणका लागि कुन विधि अपनाउनुपर्ने भन्ने विषयमा जानकारी प्राप्त गर्न सकिन्छ । आममान्छेले आफ्नो जीवनकालमा गर्ने सबैभन्दा महत्वपूर्ण निर्माण भनेको आफ्नो वासस्थान नै होला । यस्तो निर्माण कमजोर र जोखिमयुक्त हुनु कदापि उचित होइन । तसर्थ सरकारले नै स्थानीय निकायमार्फत मुख्यतः सहरी क्षेत्रमा जोखिमयुक्त स्थानको पहिचान हुनुपर्छ ।  त्यस्ता स्थान नक्सांकन गर्ने र अनिवार्य रूपमा कम खर्चिलो माटो परीक्षण वा भूअध्ययन विधि प्रयोगमा ल्याई अध्ययनपश्चात् मात्र नयाँ भवन बनाउन अनुमति प्रदान गर्ने व्यवस्था गर्नुपर्ने आवश्यकता देखिन्छ ।