१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ कार्तिक ७ बिहीबार ०७:४९:००
Read Time : > 2 मिनेट
नयाँCity

बढ्दै छन् विदेश घुम्ने नेपाली

देशाटन संवाद

Read Time : > 2 मिनेट
२०७६ कार्तिक ७ बिहीबार ०७:४९:००

हुनेखाने वर्गका नेपाली विदेश घुम्न निस्किन्छन्, जसको आर्थिक अवस्था मजबुत छ । सम्भ्रान्त वर्ग त पहिल्यैदेखि विदेश घुमफिर गथ्र्यो, अहिले मध्यम वर्ग विदेश घुम्ने हैसियत राख्छ । पछिल्लो समय राम्रो व्यवसाय र राम्रो तलब सुविधाको जागिर गर्नेहरू विदेश चहारिरहेका छन् । उनीहरू नेपालका स्तरीय पर्यटकमा गनिन्छन् ।

यस्तो वर्गको वार्षिक कमाइ लाखौँ रुपैयाँ हुने गर्छ । र, दिल खोलेर खर्च गर्छन् । अझ पति–पत्नी दुवै जागिरे हुनेहरू घुम्न बढी निस्किन्छन् । नेपालको व्यापारिक वर्ग वर्षमा एक–दुईपटक फुर्सद निकालेरै परिवारसँग विदेश पुग्छन् । दसैँ र तिहारका बिदामा विदेश घुम्न जानेहरूको लर्को नै हुन्छ । अचेल धेरैका सन्तान विदेशमा छन् । दसैँ–तिहार मनाउन होस् वा नाति/नातिना हेर्न, विदेश पुग्ने नेपाली प्रशस्त छन् ।

अन्य मुलुकबाट नेपाल घुम्न आउनेभन्दा विदेश जाने नेपाली पर्यटक धेरै स्तरीय छन्, जो पढालेखा र राम्रो ओहोदाका हुन्छन् । नेपालमा विदेशबाट ब्याकप्याक पर्यटक बढी आउँछन्, जसले दिल खोलेर खर्च गर्दैनन् । नेपालीहरू खर्च गर्नमा दिलदार छन् । विदेशी पर्यटकबाट नेपाल भित्रिनेभन्दा नेपालीले विदेशमा गर्ने खर्च बढी देखिन थाल्नुको कारण पनि त्यही हो ।

नेपालीहरू बैंकक, मलेसिया, सिंगापुर, इन्डोनेसिया, दुबई, चीन, बाकु, जापान, कोरिया, युरोपेली मुलुक र अमेरिका हुँदै अफ्रिकासम्म पुगिरहेका छन्, देशाटनमा । पछिल्लो समय अफ्रिका जाने नेपाली बढेका छन् । नेपालका ट्राभल एन्ड टुर कम्पनीले पनि विभिन्न मुलुकका आकर्षक प्याकेज बिक्री गरिरहेका छन् । नामै नसुनिएका मुलुकको पनि भ्रमण प्याकेज बनाएको देखिन्छ ।

कुनै समय सगरमाथा आधारशिविर, मनाङ र अन्नपूर्ण सर्किटतिर विदेशी अनुहार मात्र देखिन्थ्यो, अहिले नेपाली नै बढी हुन्छन्

थाइल्यान्डको टुरिस्ट अथोरिटी बोर्डका कर्मचारीहरूका अनुसार त्यहाँ सबैभन्दा बढी घुम्न आउने पर्यटकमध्ये नेपाली ‘टप टेन’मा पर्छन्, अहिले । बैंकक घुम्दा नेपालीले जनही औसतमा डेढ–दुई लाख रुपैयाँ खर्च हुन्छ । मलेसिया, सिंगापुर, दुबई र बाली पुग्न पनि उत्तिकै खर्च हुन्छ । युरोप, अफ्रिका र अमेरिका जानेको खर्च त झनै ठूलो हुन्छ । राम्रो कमाइ हुने व्यक्तिले छोराछोरीको स्कुल बिदाको समयलाई घुमफिरमा लगाउँछ । विवाह गर्न विदेश पुग्नेहरू पनि बढ्न थालेका छन् ।

अधिकांश स्वदेशी गन्तव्यमा यसअघिको अवधारणा नै परिवर्तन भएको छ । यस्तो समय पनि थियो, जतिवेला खुम्बु क्षेत्र र अन्नपूर्ण सर्किटका होटेल व्यवसायीले नेपालीलाई कोठा दिन आनाकानी गर्थे । अहिले ठीक उल्टो छ, विदेशीलाई भन्दा नेपालीलाई कोठा दिन खोज्छन् । स्वदेशी गन्तव्य स्वदेशी पर्यटकबाटै गुल्जार छन् । पोखरा, चितवन र इलामको पर्यटनलाई स्वदेशी पर्यटकले धानिरहेका छन् ।

विनायक शाह,प्रथम उपाध्यक्ष, होटेल संघ नेपाल

होटेल पनि स्वदेशी पर्यटकबाटै भरिभराउ हुन्छन् । तराई, पहाड र हिमालसम्म स्वदेशी अनुहार नै बढी भेटिन्छन् । साहसिक पर्यटनका पारखी नेपालीहरू बढ्दै छन्, जो साइकल र बाइक हुइँक्याउँदै पहाड र हिमाल चहार्छन् ।कुनै समय सगरमाथा आधारशिविर, मनाङ र अन्नपूर्ण सर्किटतिर विदेशी अनुहार मात्र देखिन्थ्यो । अहिले नेपाली नै बढी हुन्छन् । बिदाको समयमा ती गन्तव्यमा आन्तरिक पर्यटकको लर्को लाग्छ ।

 राम्रो व्यवसाय र राम्रो तलब सुविधाको जागिर गर्नेहरू विदेश चहारिरहेका छन् । उनीहरू नेपालका स्तरीय पर्यटकमा गनिन्छन् । यस्तो वर्गको वार्षिक कमाइ लाखौँ रुपैयाँ हुने गर्छ । र, दिल खोलेर खर्च गर्छन् ।
 

बाइक चढेर नयाँ–नयाँ गन्तव्य पुग्ने नेपालीले ती ठाउँलाई गुल्जार बनाइरहेका छन् । रारा, जुम्ला, मुस्ताङ र मनाङ अहिले नेपाली पर्यटकबाटै भरिभराउ रहन्छन् । दोलखा, भेडेटार, इलाम, सौराहा, लुम्बिनी, पोखरा, पुनहिल त यसअघिदेखि नै आन्तरिक पर्यटकका रोजाइका गन्तव्य हुन् । तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारी कर्मचारीका लागि सातदिने घुमफिर प्याकेज नै ल्याउनुभएको थियो । उहाँ प्रधानमन्त्रीबाट हटेपछि त्यो कार्यान्वयनमा आएन । होटेल व्यवसायीले पनि आन्तरिक पर्यटकलाई ध्यान दिएर प्याकेज बनाउनुपर्छ । मौलिक खाना पस्किनुपर्छ । अब सातै प्रदेशमा आन्तरिक पर्यटक बढाउन प्रयास गर्नुपर्छ ।

पुग्नै कठिन पोखरानजिकको रमणीय मर्दी हिमालमा आन्तरिक पर्यटकको भीड रहन्छ । मर्दी घुमाउने एजेन्सीहरू पनि सधैँ व्यस्त रहन्छन् । रारामा पनि खाने–बस्ने पूर्वाधार छैन । तर, त्यहाँ पनि उत्तिकै मान्छे पुग्छन् । मुस्ताङ त अब सौराहा र ठमेलजस्तै सजिलो गन्तव्य बनिसक्यो । आन्तरिक पर्यटक बढ्दै गर्दा देशभरका सहरमा होटेल खुल्ने लहर चलेको छ । महेन्द्रनगर, नेपालगन्ज, बर्दिया, भैरहवा, पोखरा, मुस्ताङ, दोलखा, भेडेटार, इलाम, सौराहा, सिमरा, वीरगन्ज, विराटनगर, जनकपुर, बर्दिबासलगायत सहरका खोला किनार र डाँडाहरूमा होटेलैहोटेल देखिन थालेका छन् ।