मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका दैलेख
२०७६ कार्तिक ६ बुधबार २०:५९:००
Read Time : < 1 मिनेट
समाचार

‘गाउँ आएको सिंहदरबार अध्यक्षकै घर पुग्यो’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका दैलेख
२०७६ कार्तिक ६ बुधबार २०:५९:००

दैलेखको नौमुले गाउँपालिका अध्यक्ष भदे बुढा मगरले नौमुले बजारमा रहेको आफ्नो घर गाउँपालिकालाई नै भाडामा लगाएका छन् । कुनै प्रतिस्पर्धा नगराई उनले गाउँपालिकाको केन्द्रमा रहेको आफ्नो घर भाडामा लगाएका हुन् । बुढा मगरले गाउँपालिकाबाट मासिक २० हजारका दरले भाडा बुझ्दै आएका छन् । 

स्थानीयवासीले ‘सिंहदरबार सीधै अध्यक्षको घरमा मात्रै आइपुगेको’ टिप्पणी गर्न थालेका छन् । ‘गाउँ–गाउँमा आएको सिंहदरबार अहिले अध्यक्षको घरसम्म आइपुग्यो,’ स्थानीयले शशी विश्वकर्मा भन्छन्, ‘स्थानीय घर र गाउँमा कहिले पुग्ने हो, त्यसको पत्तो छैन ।’

गाउँपालिकाको आफ्नै भवन नभएका कारणले अहिले अध्यक्षको घरमा भाडामा घर लिएर काम चलाइएको नौमुले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश कोइरालाले बताए । ‘अहिले अध्यक्षको घर भाडामा लिएर गाउँपालिकाको कार्यालय सञ्चालन, जनप्रतिनिधिको बैठक कक्ष, न्यायिक समितिका कामकारबाही हुने गरेको छ,’ उनले भने । 

गाउँपालिकाले कुनै सूचना जारी नगरी अध्यक्षको घर भाडामा लिइएको स्थानीयको आरोप छ । तर, गाउँपालिकाले घर भाडाका लागि सूचनाको आह्वान गरेको दाबी अध्यक्ष बुढामगरले गरे ‘आठजनाले घर भाडाको आशयपत्र पनि बुझाएका थिए,’ उनले भने, ‘तर मेरो घर सस्तो भएकाले गाउँकार्यपालिकाले भाडामा लिएको हो ।’
गाउँपालिकालाई प्रतिकोठा २५ सय रुपैयाँका दरले भाडामा दिएको अध्यक्ष बुढामगरले बताए । ‘आठवटा कोठा भएको घर छ । मैले १३ प्रतिशत कर कटाएर भाडा लिने गरेको छु,’ उनले भने ।