Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
तेजराज भट्ट
२०७५ पौष २६ बिहीबार ११:०३:००
Read Time : > 1 मिनेट
खेलकुद

रानाको ह्याट्रिकसँगै पुलिस क्वार्टरफाइनलमा

Read Time : > 1 मिनेट
तेजराज भट्ट
२०७५ पौष २६ बिहीबार ११:०३:००

विभागीय क्लब नेपाल पुलिस बुधबार खप्तड गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा सञ्चालित प्रतियोगितामा पुलिसले मोरङ फुटबल क्लबमाथि ३–० को जित निकाली अन्तिम आठको स्थान पक्का गरेको हो । पुलिसको जितमा तीर्थ राना नायक बने । उनले मोरङविरुद्ध ह्याट्रिक लगाए । 

पहिलो हाफमा दुई गोल
सहिद स्मारक ए डिभिजन लिगमा छैटौँ स्थान पक्का गरेको पुलिसले मोरङविरुद्ध खेलको सातौँ मिनेटमा १–० को अग्रता लियो । रानाले नै पुलिसलाई अग्रता दिलाएका थिए । उनले पेनाल्टी क्षेत्रबाट गरेको प्रहार मोरङका गोलरक्षक सन्तोष योञ्जनले रोक्न सकेनन् । ३५औँ मिनेटमा रानाले व्यक्तिगत दोस्रो गोल थप्दा पुलिस २–० ले अघि बढ्यो । अभिषेक रिजालको उत्कृष्ट मुभमा रानाले हेडिङ गोल गरेका हुन् । अभिषेकले एकल प्रयासमा पेनाल्टी क्षेत्रभित्र गोलरक्षकलाई विट गरी रानालाई पास उपलब्ध गराएका थिए । खेलको ४३औँ मिनेटमा पुलिसका तेज तामाङले पेनाल्टी क्षेत्रबाहिरबाट गरेको प्रहार पोस्टभन्दा थोरै माथिबाट बाहिरियो ।

दोस्रो हाफमा ह्याट्रिक
अधिकांश खेल आफ्नो नियन्त्रणमा राख्न सफल भएको पुलिसले दोस्रो हाफमा पनि आक्रमण खेल्यो । ५७औँ मिनेटमा पुलिसकै सन्तोष हेमरुनको क्रसमा निरकुमार राईको भली प्रहारले पोस्टको दिशा लिन सकेन । दोस्रो हाफको इन्जुरी समयमा रानाले प्रतियोगितामै पहिलो ह्याट्रिक पूरा गरे । अभिषेकको पासमा रानाले ह्याट्रिक गोल गरे । खेलको म्यान अफ द म्याद भएका उनले १० हजार रुपैयाँ प्राप्त गरे ।

राम्रो खेल्न सकेनौँ
मोरङ फुटबलका प्रशिक्षक सञ्जीव बुढाथोकीले आफ्नो टोलीले उत्कृष्ट प्रदर्शन गर्न नसकेको बताए । ‘हामीले पुलिसविरुद्ध राम्रो खेल्न सकेनौँ,’ बुढाथोकीले भने, ‘पुलिसजस्तो बलिया प्रतिस्पर्धीसँग डटेर खेल्न नसक्दा हार व्यहोर्नुपरेको हो ।’ बुढाथोकीले पुलिसलाई टाइब्रेकरसम्म लाने योजनाका साथ प्रतिस्पर्धा गरेको बताए । ‘टाइब्रेकरसम्म खेल पुर्‍याउने योजना सफल भएन,’ उनले भने यता पुलिसका प्रशिक्षक अनन्त थापाले राम्रो खेल्दा जित सम्भव भएको बताए । पुलिसले अब २९ पुसमा हुने क्वार्टरफाइनलमा मनाङ मस्र्याङ्दीविरुद्ध सामना गर्नेछ । बिहीबार च्यासल युवा क्लबले दिल्ली युनाइटेडसँग खेल्नेछ ।