मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ कार्तिक ४ सोमबार ११:५९:००
Read Time : > 1 मिनेट
प्रदेश

जेफालेको सुन्दरतामा साहित्यिक कार्यक्रम

Read Time : > 1 मिनेट
२०७६ कार्तिक ४ सोमबार ११:५९:००

मोरङको रमणीय पर्यटकीय गन्तव्य जेफालेमा एकपछि अर्को साहित्यिक कार्यक्रम हुन थालेका छन् । सुगम मोरङको दुर्गम पहाडी क्षेत्रमा पर्ने केराबारी गाउँपालिका–२ स्थित जेफालेमा पुगेर प्राकृतिक सौन्दर्यसँग रमाउँदै साहित्यिक कार्यक्रम गर्ने क्रम बढ्दो छ ।

स्थानीय साहित्य चौतारी समूह बिहीबारेका अध्यक्ष युवराज ठकुरीका अनुसार एक वर्षभित्र विभिन्न जिल्लाका चर्चित साहित्यकारहरूले जेफालेमा आएर पाँचवटा साहित्यिक कार्यक्रम आयोजना गरिसकेका छन् । खुला आकाश र बादलको घुम्टोमुनि चौरमा बसेर रमाइलो वतावरणमा रमाउँदै साहित्यिक चर्चा गर्दा साहित्यकारहरू पुलकित हुने गरेको जेफाले सामुदायिक होमस्टे समितिका सचिव भीम ठकुरीले बताए ।

जेफालेस्थित बिहीबारे बजारको हावे चौरमा २ कात्तिकमा दर्जन साहित्यकारले आ–आफ्ना सिर्जना प्रस्तुत गरेको साहित्यिक चौतारी समूह बिहीबारेका अध्यक्ष युवराज ठकुरी ‘अज्ञानी’ले बताए । उनका अनुसार शनिबार चर्चित साहित्यकारहरू देवान किराती, राज माङ्लाक, प्रकाश दियालीलगायत एक दर्जन कविले आ–आफ्ना रचना प्रस्तुत गरेका थिए । तिहारको शुभकामना आदान–प्रदानसहित आयोजना गरिएको कार्यक्रममा उपन्यासकार श्यामसुन्दरको उपन्यास ‘रेमिट ल्यान्ड’माथि अन्तरंग चर्चा पनि गरिएको थियो ।

रमणीय पर्यटकीय गन्तव्यका लागि चर्चित हुँदै गएको जेफालेमा साहित्यिक कार्यक्रम हुँदा पर्यटन विकासमा पनि सहयोग पुगेको होमस्टे सचिव भीम बताउँछन् । धनकुटा र मोरङको सिमानामा पारेर जेफाले डाँडाको चुचोमा बनाइएको भ्यु–टावरबाट सूर्योदय हेर्ने र हिमाल तथा पहाडी प्राकृतिक सौन्दर्य अवलोकन गर्नेको सधैँ घुइँचो लाग्ने गरेको छ । पर्यटकको सुविधाका लागि स्थानीयले होमस्टे पनि सुरु गरेका छन् ।

विराटनगरबाट ६७ किलोमिटर उत्तर केराबारी गाउँपालिका–२ मा जेफाले पर्छ । एक हजार नौ सय ८० मिटरको उचाइमा रहेको हाबे चौर गाउँमा करिब ३० घरघुरी छन् । बस्तीदेखि करिब पाँच सय मिटर उचाइमा पर्ने जेफाले डाँडाबाट पूर्वाञ्चलका १६ जिल्लाको दृश्यसहित सूर्योदय अनि सूर्यास्तको दृश्य देख्न सकिन्छ । जेफालेबाट कञ्चनजंघा, मकालु र सगरमाथा हिमालको दृश्य पनि देखिन्छ ।