मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक ४ सोमबार ०८:३९:००
Read Time : > 1 मिनेट
सम्पादकीय

आलम प्रकरण घुम्ती बन्ला त ?

आलम प्रकरणले राज्यमा दण्डहीनताको लामो परम्पराले विश्राम लिन खोजेको हो कि भन्ने सन्देश दिएको छ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक ४ सोमबार ०८:३९:००

रौतहटका मोहमद आफ्ताव आलमलाई घटनाको १२ वर्षपछि प्रहरीले बम विस्फोटमा घाइते भएका आफ्नै कार्यकर्ता र समर्थक सहयोगीलाई जीवितै इँटाभट्टामा पोलेर डढाएको आरोपमा गिरफ्तार गरेको छ । घटनाका वेला स्थानीय नेता रहेका आलम त्यसयता विभिन्न समयमा सांसद र मन्त्रीसमेत भएका छन् । गिरफ्तारीको समयमा पनि उनी रौतहटबाट निर्वाचित प्रतिनिधिसभा सदस्य छन् ।

यस घटनामा दोषी ठहरिए भने तीनवटा महत्वपूर्ण घटना र प्रवृत्तिका एउटा बिम्ब आलम पनि बन्ने निश्चित हुनेछ । पहिलो हो, नेपाली राजनीतिमा आफ्नो दल या कुनै उम्मेदवारका पक्षमा निर्वाचन परिणाम ल्याउन हत्या र हिंसाको सहारा लिइन्छ र त्यस क्रममा हुने अपराधमा संलग्नलाई सम्बन्धित दल सत्तामा छ भने मजाले प्रशासनिक र कानुनी प्रक्रियामा हस्तक्षेप गरेर उसलाई निर्दोष बनाइन्छ ।

घटनामा आलमले निर्वाचन पक्षमा प्रतिपक्षलाई कमजोर बनाउन र बुथ कब्जा गर्न बम विस्फोटको योजना बनाएको, त्यसरी विस्फोट गराउने तयारी गर्दागर्दै बम पड्कन पुगेकाले तत्क्षण वरपरका मानिस घाइते भएको र घटनाको जिम्मेवारी लिनुपर्ला भनेर घाइतेलाई इँटाभट्टामा लगेर डढाई खरानी पारेको तथा त्यस घटनाको अनुसन्धान र कार्बाहीको जिम्मा पाएको प्रहरी प्रशासन र न्यायाधिवक्ताको कार्यालयले घटना ढाकछोप गरेर अपराधी बचाएकाले उनले पछिसम्म राज्य र समाजमा महत्वपूर्ण जिम्मा लिएर हाइहुकुम चलाएको देखिन्छ ।

नेपाली राजनीतिक इतिहासमा अरू पनि यस्ता घटना हुन सक्छन्, तर यो घटना अहिलेसम्मकै सबैभन्दा क्रूर प्रकृतिको देखिन्छ । र, यस्तो घटना घटाउनेलाई राज्यले सम्पूर्ण रूपमा सुरक्षा दिएर राखेको पाइन्छ । कतिसम्म भने आलमले एकजना पीडितकी आमाले न्यायका लागि गरेको प्रयास निस्तेज पार्न उनको हत्या गराएको आरोप छ । तर, हत्याको अहिलेसम्म उचित छानबिनसमेत भएको छैन । यसले राजनीतिक आवरणमा देशैभरि र खासगरी मधेसमा यस्ता अपराधीको मनोबल बढाएर राजनीतिमा पैसा र मसलको भूमिका स्थापित गरी मूल्यमान्यता नै ध्वस्त पारेको बुझ्न सकिन्छ ।

आलम प्रकरणको तेस्रो पाटो भने राज्यमा दण्डहीनताको लामो परम्पराले विश्राम लिन खोजेको हो कि भन्ने सन्देश हो । आलम संसद्मा थिए, प्रतिपक्षी राजनीतिक दलको केन्द्रीय हैसियतका नेता पनि थिए । यसअघि सर्वोच्च अदालतले सात वर्षपहिल्यै आवश्यक अनुसन्धान र कारबाही गर्न ताकेता गरेको भए पनि अदालतको आदेशलाई समेत प्रहरीले बेवास्ता गर्दै आएको थियो ।

यसैपालि आएर उनी गिरफ्तार भएका छन् । र, उनको गिरफ्तारीलाई समग्र सञ्चार र नागरिक समाजले सकारात्मक रूपमा लिएको छ । अरू केही सांसदलाई समेत विभिन्न आरोपमा गिरफ्तार र कार्बाही गर्ने अभ्यास थालिएको छ । यसले राजनीतिक शक्तिका आडमा अपराध गर्ने अराजक र दण्डहीनताको अवस्था नेपालमा जुन देखिएको थियो, त्यो अब रहनेछैन भन्ने सन्देश पनि दिएको छ । यो राज्य बिस्तारै बलियो बन्दै गएको संकेत हो ।

आर्थिक समृद्धिका लागि अनुकूल लगानीको वातावरण बनाउन लागेको राज्यले दण्डहीनतालाई निरन्तरता दिएर लक्ष्य हासिल गर्ने सम्भावना हुन्न । आलमसमेतको गिरफ्तारीले अब पद र प्रतिष्ठाका आधारमा अपराध ढाकछोप गर्न सम्भव छैन भन्ने सन्देश दिन्छ । यसो भयो भने योे समकालीन नेपालको राजनीति स्थिरतातिर जाने घुम्ती बन्न सक्छ । यसको प्रतीक्षा हामी लामो समयदेखि गरिरहेका छौँ ।